भारतले अस्ट्रेलियालाई दियाे ५ सय ३४ रनकाे लक्ष्य, टेस्ट क्रिकेट...
मंसिर ९, २०८१ आइतबार
धादिङ – अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवा । त्यसपछि दियो, कलश, शङ्ख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबीर जात्रा गर्दै थिए । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ४ सल्यानकोटबाट त्रिपुरा सुन्दरी भगवतीको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिकाकै वडा नं ६ हाँसेबजारमा पर्ने माइथानबेंसी सारिदाको यसरि तामझामसित सारिन्छ ।
भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइती र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ । यही परम्पराअनुसार आज बिहान भगवतीको घर सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रुपले चिनिने माइथानबेंसीको मन्दिरमा सारिएको हो । अझ रोचक त के छ भने बाकसभित्र राखिएको भगवतीको प्रतिमूर्तिलाई भक्तजनले हेर्न र छुन पनि नपाइने परम्परा छ । भगवती माइको दर्शनका लागि बाटो कुरेर बस्नुभएका स्थानीय कृष्णबहादुर थापाले भन्नुभयो, “पहिलेदेखिकै परम्परा यही हो । भगवानलाई छुन हेर्न पाइँदैन, बाहिरबाटै दर्शन गर्ने फूल अक्षेता चडाउने हो ।”
देवीको दर्शन गर्न सयौँको सङ्ख्यामा भक्तजनले मध्यरातिदेखि नै बाटो ढुकेर बसेका थिए । मुर्ति देख्न र छुन नपाएपनि गल्लीगल्लीमा जम्मा भएका भक्तजनले टाढैबाट दर्शन गरिरहेका थिए । वडा दसैँको चतुर्थीको दिनपूर्वतर्फ दसैँ घरबाट मूल मन्दिर सल्यानकोट सारिएको मूर्तिलाई आइतबार बिहानै न्वाँघी घर आगिञ्चोक हाँसे बजार मन्दिरमा सारिएको हो । रानामगर, तिमिल्सिना र सापकोटा थरका पुजारीले त्रिपुरा सुन्दरी भगवतीमाइको मूर्तिलाई पिँठ््युमा बोकेका थिए । वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ । रानामगर थरका स्थानीय पुजारी, सापकोटा र तिमल्सिनाबाहेक अरु कसैले हेर्न र छुन नपाउने परम्परा छ । यी तीन जातीबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मूल ढोकाबाटै भगवतीलाई पूजाआजा गर्नुपर्ने नियम छ । यहाँ आइपुग्ने भक्तजनले आफ्नो मनोकाङ्क्षा पूरा गर्न परबाट नै देवीलाई फूल अक्षेताले पूजा गर्ने स्थानीय अगुवा कृष्णकुमार श्रेष्ठले बताउनुभयो ।
विवाहित नेपाली नारीले धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दसैँतिहार जस्ता चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही बढी समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाईंलाई तुलना गरिएको छ । सोही परम्पराअनुसार सल्यानकोटमा रहेको दुई वटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ । जुन मामाघरका रुपमा प्रसिद्ध छ । स्थानीय पुजारी अर्जुन सापकोटाका अनुसार मङ्सिरदेखि चैतसम्म भगवतीलाई आगिञ्चोक गाविसस्थित बेंसीको मन्दिरमा राखिन्छ । जुन भगवतीको माइतीका रुपमा चिनिन्छ । सल्यानकोटकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा आठ महिनाभन्दा बढी समय भगवतीलाई त्यही पूजाआजा गरिने चलन छ ।
मङ्सिर महिनाको विशेष तिथि पारेर आइतबार गाउँको मन्दिरबाट बेंसीको मन्दिरमा भगवतीलाई ल्याइँदै गर्दा भक्तजनले बाटोमा नै भगवतीको दर्शन र पूजापाठ गरेका थिए । रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यस मूर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर आम सर्वसाधारणले अहिलेसम्म देख्न पाएका छैनन् । “प्रत्यक वर्ष मेला हेर्न आउँछौँ, तर छुन हेर्न पाइने भन्ने हुँदैन । परम्परादेखि नै चलिआएको चलन हो, हामी यो परम्परा बदल्न सक्दैनौँ”, मेला हेर्न आउनुभएकी अप्सरा खड्काले भन्नुभयो ।
नेपाल एकीकणका बेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेको र राति सपनामा एक बालिकाले आशीर्वाद दिएको प्रसङ्ग दिव्योपदेशमा उल्लेख छ । तर भगवतीको माइतीका रुपमा परिचित माइथानबेंसीको मन्दिर राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाले प्रभावित बन्ने भएको छ । सरकारले व्यवस्थित ढङ्गबाट स्थानान्तरण गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने स्थानीय बताउँछन् ।
जिल्ला सदरमुकाम धादिङबेंसीबाट ४० किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला गोरखा, नुवाकोट, चितवन, काठमाण्डाै लगायतका ठाउँबाट भक्तजन आउने गर्दछन् । मङ्सिर महिनामा त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोट डाँडाको मन्दिरबाट भगवतीको मूर्तिलाई बाकसभित्र राखी पिठ्युँमा बोकेर करिब तीन घण्टाको पैदल दूरीमा पुगिने त्रिपुरासुन्दरी गाउँपालिका–६ माइथानबेंसीको मन्दिरमा ल्याइन्छ । यसरी देवीलाई माइत झारेसँगै यो वर्षको जात्रा सकिने गर्दछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।