झलनाथ खनालको २५ वर्षे विरासत ढाल्ने महेश बस्नेत : राजनीति, खेल र विकासको क्षेत्रमा उत्तिकै सफल

 मंसिर १२, २०७९ सोमबार १०:२०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम – पूर्व प्रधानमन्त्री तथा पाँच पटकसम्म निरन्तर निर्वाचित हुँदै आएका झलनाथ खनालसँग चुनावी प्रतिस्पर्धामा गरिरहेका इलामका महेश बस्नेत जिल्लामा परिचित भए पनि धेरै ठाउँमा अपरिचित हुनुहुन्छ । खनाल र बस्नेतको चुनावी समाचार बनाउँदा काठमाण्डौका केही सञ्चारमाध्यमहरुले भक्तपुरे महेश बस्नेतको तस्बिरसमेत राखेको पाइयो । 

राष्ट्रिय रुपमा अपरिचित इलामे महेश बस्नेत झलनाथ खनालको २५ वर्षे विरासत पल्टाउँदै गठबन्धनको चुनौतीलाई समेत सामना गरेर इलाम १ प्रतिनिधि सभामा निर्वाचित भएपछि भने चासो र चर्चाको विषय बन्नुभएको छ । राष्ट्रपति बन्ने अभिष्टका साथ पाँच दलीय गठबन्धनको सहारामा सातौँ पटक उम्मेदवार बनेका खनाललाई बस्नेतले फराकिलो मतान्तरले पराजित गर्नुभएको छ ।

बस्नेत २६ सय ८८ मतको फराकिलो मतअन्तरले विजयी हुनुभएको छ । बस्नेतले २५ हजार ७५० र खनालले २३ हजार ८८ मत प्राप्त गरेका छन् ।

को हुन् महेश बस्नेत ?

राजनीतिक रुपमा चतुर र चुनावी रणनीतिमा माहिर मानिने महेश बस्नेत दूरदर्शी नेताको रुपमा पनि जिल्लामा परिचत हुनुहुन्छ । दृढ इच्छाशक्ति भए एकै कार्यकालमा पनि धेरै गर्न सकिन्छ भनेर पुष्टि गर्ने नेताको रुपमा उहाँ चिनिनुहुन्छ । इलाम नगरपालिकाको दुई पटकको नेतृत्व गर्दा महेश बस्नेतले गरेको यस्ता थुप्रै उदाहरण छन् । इलाम नगरपालिकाकोे पछिल्लो पाँच वर्षे कार्यकालमा बस्नेतले पालिकालाई सरकारको हैसियतमा स्थापना गर्नको लागि विधि निर्माण, भौतिक पूर्वाधार, सामाजिक सुरक्षाका कार्यक्रम, खेलकुद, पर्यटनको क्षेत्रमा सयौँ दीर्घकालीन काम गरेर आफूलाई सफल साबित गरिसक्नुभएको छ ।

बस्नेतको नेतृत्वमा इलाम नगरपालिकाको सर्वाधिक २१९ वटा ऐन, कानुनहरु बनेका छन् । इलाम नगरपालिका कानुन निर्माणमा अन्य पालिकाको तुलनामा निकै अघि छ । कानुन निर्माणमा अन्य समकक्षीहरुले बस्नेतकै सिको गरेका छन् । बस्नेतकै नेतृत्वमा बनेका कानुनहरुको आधारमा इलाम नगरपालिका चलिरहेको छ ।

पहाडी क्षेत्रमा रहेको प्राविधिक विषय पठनपाठन हुने क्याम्पसको अभावलाई टार्न बस्नेतले पूर्वी पहाडी क्षेत्रमानै पहिलो पटक स्नातक तह पढाइ हुने कृषि क्याम्पस स्थापना गर्नुभएको छ । अहिले क्याम्पसमा कृषि प्राविधिक अथवा बीएसी एजीको पठनपाठन भइरहेको छ । उहाँकै नेतृत्वमा इलाम सामुदायिक आँखा अस्पताल स्थापना भएको छ । उहाँकै कार्यकालमा निर्माण सुरु भएको चलचित्र हलसहितको बहुतले पार्किङ्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।

पालिकाले सार्वजनिक निजी साझेदारी ऐन बनाएर नेपालमानै पहिलो पटक सिटी मार्ट बनाउन सफल भए, त्यो पनि सार्वजनिक निजी साझेदारीमा । उहाँकै कार्यकालमा बालबालिकाको लागि फन पार्क निर्माण भएको छ । जनक देव, पारिजात, शंखधर साख्वा, राष्ट्रिय विभूति फाल्गुनन्द, गजराजसिङ थापा लगायतको शालिक स्थापना भएको छ भने मजदुरहरुको सम्मानको लागि चोक बजारमा चिया मजदुरको प्रतिमा पनि उहाँकै कार्यकालमा स्थापना भएका हुन् ।

बस्नेतले गरेको सार्वजनिक जग्गाको व्यवस्थापन पनि अनुकरणीय छ । बजार भित्रको खोल्सीको व्यवस्थापन गरेर बस्नेतले आँखा अस्पताल, श्रष्टा पार्क, तरकारी बजार, पशुपक्षी बजार, कभर्ड हल, मोटरसाइकल पार्किङ्ग र व्यवस्थित मासु पसलको निर्माण गर्नुभएको छ ।

उहाँकै कार्यकालयमा इलाम नगरपालिकाको भव्य कार्यालय भवन, तीन वटा कभर्ड हल, बास्केटबल कोर्ड निर्माण भएका छन् । एक वडा एक खेलमैदानको अभियान चलाएका बस्नेतको कार्यकालमा माइखोलामा महत्वाकाङ्क्षी माई भगवती रंगशाला निर्माण भइरहेको छ । हरेक वडामा खेलमैदान तयार भएका छन् ।

बस्नेतले विभिन्न क्षेत्रगत समिति बनाएर उनीहरुलाई परिचालित गराउनुभयो । साहित्य कलाको क्षेत्रमा काम गर्न साहित्य कला संगीत प्रतिष्ठान, पर्यटन समिति, आदिवासी जनजाति समन्वय समिति, दलित समन्वय समिति, महिला समिति, युवा परिषद् गठन, नगर खेलकुद विकास समिति गरेर क्रियाशील गराउनुभएको छ । यसबाट सबै विधाको समानुपातिक विकासमा निकै योगदान गरेको छ ।

इलाम नगरपालिकाको अघिल्लो पटक २०५४–०५९ मा मेयर हुँदा तत्कालीन उपमेयर कृष्णप्रसाद श्रेष्ठ र २ नम्बरका वडाध्यक्ष गणेश राई समेतको पाँच वर्षे कार्यकालमा आफूले पाउने तलब भत्ता बापत रकमबाट तिल्केनीमा १६ रोपनी जमिन खरिद गरेर ३२ परिवार सुकम्बासीलाई लालपुर्जासहित बसोबास गराउनुभएको थियो ।

२०१७ साल असार ६ गते इलामको शान्तिपुरमा पूर्व हवल्दार पदम बहादुर बस्नेत र विष्णुमाया राई बस्नेतको माइला सन्तानको रुपमा महेश बस्नेतको जन्म भएको हो । उहाँ विद्यार्थी रहँदा २०३०–३१ सालदेखि कम्युनिष्ट पार्टीको सम्पर्कमा पुग्नुभएको हो । २०३६ सालमा अनेरास्ववियुबाट मरब क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित हुनुभएको थियो । बस्नेतले २०४७ सालमा पार्टीको सङ्गठित सदस्यता प्राप्त गर्नुभएको थियो । त्यसैबेला प्ररायुसङ्घको इलाम नगर सचिव हुँदै उहाँ नगरको पार्टी सचिवको जिम्मेवारी पूरा गर्नुभएको छ । 

बस्नेत २०५४ को चुनावमा इलाम नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो । २०५९ देखि नेकपा एमालेको जिल्ला कमिटी सदस्य भएका उहाँ २०६३ देखि जिल्ला सचिवालय सदस्यको रुपमा क्रियाशील रहनुभयो । २०७३ मा नेकपा एमालेको जिल्ला सचिवमा निर्वाचित भएका बस्नेत अहिले एमालेको जिल्ला कमिटी अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।

अर्थशास्त्रमा बीए र इतिहास विषयमामा स्नाकोत्तर गरेका बस्नेतले २०५१ देखि २०५४ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पसमा प्राध्यापन गर्नुभएको थियो । त्यसअघि पनि उहाँ त्यही क्याम्पसमा आंशिक प्राध्यापकको रुपमा काम गर्नुभएको  थियो ।

कुनै बेला कुशल फुटबलर रुपमा चिनिएका बस्नेतले २०३५/०३६ तिर मेची अञ्चलबाट राष्ट्रिय फुटबल प्रतियोगिता खेल्नुभएको थियो । उबेलाको चर्चित राष्ट्रिय प्रतियोगिताहरु अन्तर नगर फुटबल प्रतियोगिता, इन्टर युनिभर्सिटी कम्पिटिसन प्रतिस्पर्धामा सहभागी भएका उहाँको खेल जीवनको सुखद अनुभव छ । माईभ्याली स्पोर्टिङ्ग क्लबका संस्थापक अध्यक्ष रहेका बस्नेतको नेतृत्वमा इलाममा भूकम्प पीडित स्मृति कप फुटबल हुने गरेको थियो । भूकम्प पीडितको उद्धारमा योगदान गरेबापत उहाँले भूकम्प पीडित उद्धार पदक ग्रहण गर्नुभएको छ ।

लेखकको रुपमा बस्नेतको ‘कविता’ नामको कविता संग्रह र सुनुवार जातको परिचय नामको किताब प्रकाशित छन् । उहाँ इलामको पहिलो सामुदायिक रेडियो इलाम एफमको संस्थापक मध्येका एक हुनुहुन्छ भने नेपाल पत्रकार महासङ्घ इलाम–पाँचथर संयुक्त शाखाका समेत संस्थापक सदस्य हुनुहुन्छ । उहाँले क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी लगायतका दर्जनौँ सामाजिक संस्थामा पनि काम गर्नुभएको छ ।

इलामको सबै भूगोल, बसोबास, नागरिकको सामाजिक र आर्थिक अवस्थाको बारेमा गहिरो जानकारी राख्ने बस्नेतकै प्रस्तावित खाकाका आधारमा इलामको पुनर्संरचना भएको प्रतिपक्षीहरु स्वयम् स्वीकार्छन् । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया