सुकुम्वासी बस्तीमा बल प्रयाेग गरेर समस्या समाधान हुँदैन : ओली

 मंसिर १३, २०७९ मंगलबार १७:३२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती किनारामा रहेको सुकुम्वासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतङ्क फैलाउने काम गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । सुकुम्वासी बस्तीमा रहेका गरिब नागरिकलाई शत्रुको रूपमा व्यवहार गर्दै बल प्रयोग गरेर उनीहरूलाई पराजित गर्ने तमासा नदेखाउन पनि राज्य पक्षलाई उहाँले सचेत गराउनुभयो । 

ललितपुरमा रहेकाे पार्टीको केन्द्रीय कार्यालयमा आज मङ्गलवार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सुकुम्वासी समस्या समाधानका लागि गठन गरिएको आयोगले त्यो समस्या समाधान गर्नुपर्नेमा अन्यथा किन गरिएको भनि प्रश्नसमेत गर्नुभयो । उहाँले त्याे बस्तीको समस्या समाधानका लागि लोकतान्त्रिक संस्कारअनुसार अघि बढ्न पनि काठमाण्डाै महानगरपालिका र सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । 

उहाँले भन्नुभयो, ‘नकारात्मक ढङ्गले देश बन्दैन । सुकुम्वासी बस्तीमा तमासा तपाईंहरूले हेर्नु भयो होला । त्यहाँ कुन शत्रु बसेका छन् ? गरिब, गुरुवा बसेका छन् । ती कुनै शत्रु त होइनन् । चुप लागेर खोलाको किनारामा बसेका जनतालाई ठिक लगाएर कुन बहादुरी पाइन्छ ? समस्याको समाधान गर्ने तरिका के हो ? गरिब जनतालाई पराजित गरेर को विजयी हुने ? यो जित–हारको प्रश्न होइन । यो समस्या समाधानको प्रश्न हो । लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग होइन । उचित समाधान दिनु र कुनै पनि कुरालाई तर्कपूर्ण ढङ्गले समाधानमा पुर्‍याउनुपर्दछ । तर त्यहाँ त सुकुम्वासी र राज्यका बीचमा हार–जित जस्तो भयाे ।’ सुकुम्वासी समस्या समाधान गर्न आयोग बनाएर तयार भइसकेको बेलामा सरकार तत्काल फेर्नुपर्ने, आयोग भङ्ग गर्नुपर्ने अनि त्यो सुकुम्वासी समस्या समाधान आयोग चाहिँ कहाँ गयो ? डोजर लिएर जाने हो भने आयोग किन बनाएको, उनीहरूलाई तनखा खुवाएर किन राखेको ? डोजर किने भयो नि १०/२० वटा ।’

फरक प्रसङ्गमा अध्यक्ष ओलीले प्रतिनिधि सभा र प्रदेश सभा चुनाव चुनावजस्तो नभएको जिकिर गर्नुभयो । चुनावमा शान्तिपूर्ण वातावरणमा जनताले आफनो मत दिनुपर्नेमा सरकारले आतङ्कको वातावरण सिर्जना गरी जनताको अभिमतलाई आफ्नो पक्षमा पारेको उहाँको आरोप थियो । बाजुरामा आफ्ना पार्टीका एक कार्यकर्ता मारिएको भन्दै अध्यक्ष ओलीले त्यस्ता घटनामा संलग्न अपराधीहरूलाई कारबाहीको दायरामा ल्याउनुकाे साटो स्थानीय प्रशासनले संरक्षण दिने काम गरेको बताउनुभयो । उहाँले चुनावमा खटिएका कर्मचारीले सत्ता पक्षको आदेशको प्रवाह नगरि तटस्थ भूमिका निर्वाह गरेको भन्दै धन्यवादसमेत दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया