अव्यवस्थित तार हटाउन प्राधिकरणको पुनः ताकेता, नटेर्ने सेवा प्रदायकका तार आफैँ काटिदिने चेतावनी

 मंसिर १८, २०७९ आइतबार १४:२८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले बिजुलीका खम्बामा राखिएका अव्यवस्थित तार र सामग्रीलाई व्यवस्थित गर्न पुनः ताकेता गरेको छ ।

गएको कात्तिक १५ गते प्राधिकरणले सूचना निकालेर ४५ दिनभित्र तार व्यवस्थापन गर्न दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको थियो । सहरको सुन्दरता बिग्रिएको र दुर्घटना बढेको भन्दै प्राधिकरणले बिजुलीका खम्बा प्रयोग गरि अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका अनावश्यक तारका गुजुल्टा तथा जथाभाबी झुन्ड्याइएका उपकरणहरू हटाउन भनेको हो । तर निर्देशनको प्रभावकारी कार्यान्वयन नभएको र तारहरू जस्ताको त्यस्तै रहेको भन्दै विद्युत् प्राधिकरणले आज आइतवार पुनः सूचना निकालेर ताकेता गरेको हो ।

तोकिएको समयमा अव्यवस्थित तार नहटाएमा प्राधिकरण आफैँले हटाइदिने र त्यसबाट सेवा बन्द हुन पुगेमा त्यसको जिम्मेवार सेवा प्रदायक नै हुने सूचनामा उल्लेख छ ।

गएको कात्तिक १५ गते विद्युत् प्राधिकरणले निर्देशन दिएपछि इन्टरनेट सेवा प्रदायकले सिंहदरबार र पुतलीसडक वरपरका अव्यवस्थित तार हटाउन थालेका थिए तर उनीहरूले यो कामलाई निरन्तरता दिएका छैनन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया