बझाङ : विद्यालयकाे भवन नयाँ बनाउन पुरानाे भत्काइयाे, अहिलेसम्म बनेन

 मंसिर १८, २०७९ आइतबार १८:२१:४९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङको थलारा गाउँपालिका वडा नम्बर ९ मा रहेको तेडी आधारभूत विद्यालयको भवन पूर्णरूपमा नबन्दा विद्यालयलाई पढाउन समस्या भएको छ । सङ्घीय सरकारले आर्थिक वर्ष २०७८–०७९ मा यस विद्यालयको भवन निर्माणका लागि ९७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । नयाँ भवन बनाउनका लागि न्यु कालिका निर्माण सेवाले ४७ लाख रुपैयाँमा सम्पन्न गर्ने भन्दै ठेक्का पाएको थियो । 

ठेकेदार कम्पनीले काम ढिला सुरु गर्दा समयमा नै नसकिएपछि बजेट फ्रिज भयो । भएको कामको बिल उठाएर ठेकेदार कम्पनी नफर्केको स्थानीयवासीले बताए । 

यसअघि सानो कच्ची भवनमा पढाइ हुँदै आएको थियो । पुरानो भवन भत्काएर नयाँ भवन बन्ने भएपछि सबै खुसी भएका थिए । विद्यालयका प्रधानाध्यापक नवराज खड्काले भन्नुभयो, ‘नयाँ पक्की भवन बन्ने भनेपछि हामी निकै खुसी भएका थियौँ । तर ठेकेदार कम्पनीले विद्यालयको भवन पूर्णरूपमा बनाउन सकेन । भवन अभावका कारण अहिले शिशु कक्षादेखि कक्षा तीनसम्मका विद्यार्थीलाई दुई कोठे भवनमा सँगै राखेर पढाउनुपर्ने बाध्यता छ ।’ विद्यालको छुट्टै कार्यालय कक्ष पनि नभएको उहाँको गुनासो छ । 

ससाना बालबालिकालाई अर्को विद्यालय पठाउनका लागि जङ्गलको बाटो रहेका कारण समस्या भएको स्थानीय वर्कबहादुर खड्काले बताउनुभयो । विद्यालयको भवन नभएका कारण खुला चौरमा पढाइ हुने गरेको उहाँको गुनासो छ । 

विद्यालयको यस्तो अवस्था हुँदा पनि कसैले नहेरेको अर्का स्थानीय राजेन्द्रबहादुर खड्का बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘यस विषयमा सरोकारवाला निकायको ध्यान गएको छैन । समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई सरकार तथा सरोकारवाला निकायले केही गर्न सकेनन् ।’ 

विद्यालयमा रहेको शौचालय र प्रगतिशील युवा समाजले निर्माण गरिदिएको बालमैत्री धारासमेत विद्यालयको भवन निर्माण गर्ने क्रममा ठेकेदार कम्पनीले भत्काइदिएको स्थानीयको आरोप छ । 

मजदुरले पैसा पाएनन् 

विद्यालयको भवन निर्माणमा काम गरेबापतको पैसा ठेकेदार कम्पनीले नदिएको धनबहादुर खड्काले गुनासो गर्नुभयो । नुन, तेल र छोराछोरीका लागि पढाइ खर्चको जोहो गर्ने आशाले मजदुरी गरेको रकम नपाएको उहाँले बताउनुभयो । गाउँका सबैको हिसाबकिताब गर्दा झन्डै सात लाख रुपैयाँ लिन बाँकी रहेको उहाँको भनाइ छ । 

यसबारेमा बुझ्न खोज्दा ठेकेदार कम्पनीका सञ्चालक ललित बोहराको मोबाइल फोन अफ रहेको छ । उहाँका दाइ प्रेमबहादुर बोहराले भने मजदुरले काम गरेबापतको रकम दिन तयार रहेको बताउनुभयो । काम गरेकोमा पनि बिल कम उठेर घाटा भएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया