चिसाे छल्न बझाङका भेडी गाेठ बेसी झारिँदै

 मंसिर २८, २०७९ बुधबार १३:५९:४५ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – चिसो बढ्न थालेसँगै बझाङको हिमाली क्षेत्रका भेडापालक किसान भेडासहित बेसी झर्न थालेका छन् । साइपाल गाउँपालिका, तल्कोट गाउँपालिका, मष्टा गाउँपालिका लगायतका ठाउँका भेडापालक किसान चिसो छल्न बेसी झर्न थालेका हुन् । भेडापालक किसान वर्षायाममा लेकतिर जाने र हिउँदमा बेसी झर्ने गर्दछन् । 

हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि र भेडा चरन क्षेत्रमा हिमपात सुरु हुन थालेपछि भेडी गोठ बेसी झार्नुपरेको साइपाल १ का किसान जयबहादुर बोहराले बताउनुभयो । ‘हिउँदको समयमा चरन क्षेत्रमा हिमपात हुने हुँदा भेडाबाख्रालाई आहारको समस्या हुने गर्छ  । वर्षायाममा लेक पुग्ने भेडी गोठ हिउँदमा बेसीमा सार्ने गर्छौँ ।’

कात्तिकदेखि फागुनसम्म उच्च क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले भेडी गोठ बेसी झार्ने गरिएको साइपाल १ का स्थानीयवासी मिलन धामीले बताउनुभयो । अहिले भेडी गोठ हिमाली क्षेत्र पाटनबाट बेसी झार्न थालिएको हो । 

जिल्लाका हिमाली क्षेत्रका धेरैजसो किसानको प्रमुख पेसा भेडापालन हो । तर सामुदायिक वनको नाममा स्थानीयले अनावश्यक दुःख दिन थालेपछि पुस्तौँदेखि गर्दै आएको व्यवसाय नै समस्यामा परेको भेडापालक किसानको गुनासो छ । उनीहरू भेडा चराउन बझाङसहित बैतडी, डोटीसम्म पुग्ने गरेका छन् । पहिलेदेखि नै भेडा चर्ने, हिँड्ने र बास बस्ने ठाँउमा स्थानीयले अवरोध गर्न थालेपछि जिल्लाको काँडा, मेलबिसौना, रिलु, मष्टा, गडराय, दहबगरलगायतका झन्डै तीन सय परिवारको पेसा सङ्कटमा परेको छ । 

साइपाल हिमालदेखि डोटीसम्मको यात्राका क्रममा आफूहरू धेरै ठाउँमा लुटिने, कुटिने र ठगिने गरेको भेडा व्यवसायी साइपाल १ का कालु धामीले बताउनुभयो । वनमा भेडा चराएबापत विभिन्न बहानामा शुल्क तिर्नुपरेको उहाँको गुनासो गर्नुभयो । ‘केही व्यक्तिलाई पैसा दिएर पठायो फेरि अर्काे गाउँका मान्छे यो वन त हाम्रोमा पर्छ भन्दै फेरि पैसा असुल्छन् । एउटै वनमा आठ दश दिन भेडा चराएबापत पटक–पटक गरि १५/२० हजार रुपैयाँसम्म तिर्नुपर्छ । पैसा नदिए भेडा नै खोसेर लैजान्छन् । अर्काको ठाउँमा खुरुखरु जे भन्यो त्यही मान्नुपर्ने हुन्छ’, उहाँले भन्नुभयो ।

कतिपय ठाउँमा त जङ्गलमा चराउन छोडेका भेडा चोर्ने गरेका उहाँले बताउनुभयो । 

यातायातको सुविधा नपुगेका यहाँका धेरै ठाउँमा अहिले पनि भेडा च्याङग्रामार्फत दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने गरिन्छ । चरन क्षेत्रमा देखिएको समस्याका कारण व्यवसाय नै सङ्कटमा पर्न थालेकाले सरकारले नै पहल गर्नुपर्ने भेडापालक किसानको माग छ । पालिकाले पनि यसप्रति ध्यान नदिएको उनीहरूको आरोप छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया