सात वर्षमा पनि बनेन कञ्चनपुरको दोदामा पुल

 पुस १९, २०७९ मंगलबार ९:३२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

कञ्चनपुर - कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल निर्माण अलपत्र छ । पुल निमार्णको ठेक्का सम्झौता भएको सात वर्ष बितिसक्दा समेत पुल निर्माण हुन सकेको छैन । पुल निर्माणका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग ठेक्का सम्झौता भएको थियो ।

२०७५ साल पुस २६ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि अहिलेसम्म पुल निर्माण नहुँदा नागरिकले सास्ती खेप्दै आएका छन् । सात वर्षदेखि खोलामा तीनवटा पिल्लर मात्रै छन् । एउटा पिल्लरको काम अधुरै छ । त्योबाहेक अरू कुनै काम हुन सकेको छैन ।  

सडक डिभिजन कार्यालय कञ्चनपुरले भने पुलको फाउन्डेसनमा समस्या देखिएपछि पुल निर्माण समयमा सम्पन्न हुन नसकेको जनाएको छ । डिभिजन सडक कार्यालय कञ्चनपुरका सूचना अधिकृत पियूष चटौतले पुलको जगमा समस्या आएकाले पुनः डिजाइन परिवर्तन गरेर अर्को ठाउँमा पुल बन्न लागेको बताउनुभयो ।

सडक डिभिजन कार्यालयका अनुसार २०७७ माघ २५ मा पुलको काम सम्पन्न गरिसक्नुपर्ने समयसीमा भए पनि पछि २०८० साल असार मसान्तसम्म म्याद थप भएको छ । म्याद थप भए पनि निर्माण कम्पनीले अहिलेसम्म पुल निर्माणको काम भने सुरु गरेको छैन ।

स्थानीयवासी शाहदेव रानाले पुल नहुँदा वर्षौँदेखि समस्या भोग्दै आएको बताउनुभयो । हिउँदमा काठे पुलको सहाराले नदी वारपार गर्ने गरिएको छ । पुल निर्माणका लागि २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएकोमा निर्माण कम्पनीले १४ करोड ८८ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ ।    

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया