नेपाल टी–२० क्रिकेट लिगमा जनकपुरले पोखरालाई ६ विकेटले हरायो

 पुस २१, २०७९ बिहिबार ११:३४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा जनकपुर रोयल्सले पोखरा एभेन्जर्सलाई हराएको छ । कीर्तिपुर मैदानमा आज भएको पहिलो खेलमा जनकपुरले पोखरालाई ६ विकेटले पराजित गरेको हो ।

पोखराले दिएको ६९ रनको लक्ष्य जनकपुरले ९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । जनकपुरका सरफुदिन असरफ ३७ तथा कप्तान ट्राभोन ग्रिफिथले १७ रन बनाए । पोखराका कुशल मल्लले ३ तथा असिथा फर्नान्डोले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पोखरा १२ ओभरमा ६८ रनमा समेटियो ।

पोखराका सिद्धान्त लोहनीले १७ तथा आसिफ शेख र कुशल मल्लले समान १६ रन बनाए । पोखराका अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । जनकपुरका सोमपाल कामीले ३ तथा सरफुदिन असरफ र ललित नारायण राजवंशीले समान २ विकेट लिए । ९ खेलमा १२ अङ्कसहित जनकपुर तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा ६ अङ्कसहित पोखरा पाँचौँ स्थानमा छ ।

आज नै हुने दोस्रो खेलमा काठमाण्डौ नाइट्स र फार वेस्ट युनाइटेड दिउँसो १ बजे खेल्दैछन् । आठ खेलमा ८ अङ्कका साथ काठमाण्डौ तालिकाको तेस्रो स्थानमा र सात खेलमा २ अङ्कका साथ फार वेस्ट तालिकाको पुछारमा छ । नेपाल टी–२० लिगमा ६ टोली सहभागी छन् । यी खेल कीर्तिपुर मैदानमा हुँदै आएका छन् ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया