काठमाण्डौमा बढ्यो वायु प्रदूषण (फोटो फिचर)

 पुस २३, २०७९ शनिबार ९:४२:५८ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - हरेक वर्षजस्तै यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदूषण  दिन प्रतिदिन बढिरहेको छ । जाडो मौसममा हावा पनि चिसो हुन्छ ।

चिसो हावाको घनत्व बढी भएकाले तातो हावा जस्तो सहजै उडेर जान सक्दैन । चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ । जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ । यसरी चिसो मौसममा बढी प्रदूषण हुँदा धुम्रपान नगर्नेहरुमा पनि फोक्सोको क्यान्सर बढ्ने विज्ञ बताउँछन् ।

प्रदूषणले गर्दा मानिसमा एलर्जी मात्रै नभएर हृदयघात, मधुमेह नियन्त्रण नहुने जस्ता समस्या देखिने गर्छन् । यो बेलामा मानिसहरु आफैँले बुझेर पनि वातावरणको सरसफाइमा ध्यान दिनुपर्ने हो ।  काठमाण्डौ उपत्यकामा यतिबेला वायु प्रदूषण बढेको छ । नदी, सडक र गल्लीहरुमा सरसफाइ हुन सकेको छैन । जसकारण पनि यसको प्रत्यक्ष असर आम नागरिकमा परिरहेको छ ।

वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुँदा आकाश नै तुवाँलोले ढाकेको छ । अझै पनि आम नागरिकहरु चनाखो भएर वातावरण सरसफाइमा नलाग्ने हो भने वायु प्रदूषणले झनै खतराको तह पार गर्ने निश्चित छ । सबैभन्दा पहिला जथाभाबी  फोहर फाल्ने बानी हटाउनु पर्छ ।

नदीनाला, सार्वजनिक जग्गा, सडकहरुमा फोहर फाल्ने बानी हटाउनसके मात्रै पनि केही मात्रामा प्रदूषणलाई कम गर्न सकिन्छ । वायु प्रदूषणलाई रोक्न पुराना र थोत्रा गाडीहरुको प्रयोगमा पनि नियन्त्रण गर्न जरुरी छ । आजको फोटो फिचरमा यी तस्बिरहरु ।

तस्बिर : न्युज एजेन्सी नेपाल

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया