विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्न विद्यालयमा दालभात

 पुस २५, २०७९ सोमबार ९:१२:२४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङका सबै सरकारी विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थीहरुलाई दालभात खुवाइन्छ । विश्व खाद्य कार्यक्रम अन्तर्गत जिल्लाभरका ४ सय ३९ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिउँसो दाल, भात र तरकारी खुवाउन थालिएकाे हाे ।

विद्यालयमा दिउँसाे दालभात खुवाउन थालेपछि प्रारम्भिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुको सङ्ख्या बढेकाे छ । कालीका निमावि दाँतोलाका प्रधानाध्यापक लोकनाथ जोसी विशेषत गरिब विपन्न परिवारका बालबालिकाका लागि याे कार्यक्रम निक्कै प्रभावकारी भएकाे बताउनुहुन्छ । 

उहाँले भन्नुभयाे,'विद्यालय नजिक दलित बस्ती छ। प्राय: यहाँका अभिभावकलाई जीविका चलाउनै मुस्किल छ । अहिले विद्यालयमा खाजा दिन थालेपछि दलित बस्तीका बालबालिकाहरु विद्यालय आउन थालेका छन् ।उनीहरु विद्यालयमा खान पाउने आशाले नियमित आउने गर्छन् ।' विद्यालयमा दालभात कार्यक्रमले साना बालबालिकामा विद्यालय आउने बानी पारेकाे छ । 

विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा ३ वटा कार्यक्रमहरु लागू भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सुरेन्द्र कठायतले बताउनु भयाे । प्रारम्भिक तह पढाइ कार्यक्रम ४ सय ३९ वटा विद्यालयमा लागू गरिएकाे छ भने विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम ४ सय ५७ वटा विद्यालयमा लागू गरिएको छ। स्थानीय उत्पादनमा आधारित दिवाखाजा कार्यक्रम ४ सय  ६२ वटा विद्यालयमा लागू गरिएको छ । यी कार्यक्रमले विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार आएकाे पाइएकाे कठायतले बताउनु भयाे ।

प्रारम्भिक तह कार्यक्रम अन्तर्गत कक्षा १ देखि ३ सम्मका १५ हजार ६ सय ४८  विद्यार्थी दिवाखाजाबाट लाभान्वित छन् । यस कार्यक्रम अन्तर्गत शिक्षकलाई तालिम, शिक्षक घुम्ती बैठक, पढाइ मेलाहरु, शैक्षिक सामग्री सहयोग तथा बुक कर्नर स्थापना, पढाइ उत्प्रेरक नियमित प्राविधिक सहयोग, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको बैठक, शिक्षा संयोजकहरुको क्षमता अभिवृद्धि, अभिभावकहरुसँग कक्षा कोठामा अन्तरक्रिया जस्ता कृयाकलाप गरिँदै आएको छ । यस्तै विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत ५० हजार ८९ जना विद्यार्थी प्रत्यक्ष लाभान्वित बनेका कार्यक्रम संयोजक सुरेन्द्र जैरुले बताउनु भयाे ।

विद्यालयमा तरकारी आपूर्ति, पालिका स्तरमा उपसमिति गठन, सहकारी छनाेट, कृषि समूह गठन तथा पुर्जा गठन, स्थानीय सरकार, शिक्षा समिति वि.व्या.स.खाजा व्यवस्थापन समिति, सहकारी र कृषक क्षमता अभिवृद्धि, कृषकलाई प्राविधिक सहयोग आदि क्रियाकलाप गर्दै आएको विश्व खाद्य कार्यक्रमका फिल्ड संयोजक राजेन्द्र रसाइलीले बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया