एनभीए राष्ट्रिय भलिबल : गण्डकीलाई हराउँदै आर्मी सेमिफाइनलमा

 पुस २७, २०७९ बुधबार २०:२९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब काठमाण्डौमा चलिरहेको साताैँ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । 

त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा आर्मीले लगातार दुई खेलमा जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीले गण्डकीमाथि २५–११, २५–१० र २५–१५ को सेटमा जित निकाल्न सफल भएको थियो । यससँगै आर्मीले दुई खेलबाट छ अङ्क जोड्यो । गण्डकीले लगातार दोस्रो हार बेहोरेको छ । लगातार दोस्रो हारसँगै गण्डकीको सेमिफाइनल पुग्ने सम्भावना कमजोर भएको छ । 

समूह 'बी' बाट एक खेल खेलेको सशस्त्र प्रहरी क्लब एपीएफको तीन अङ्क छ । लगातार दोस्रो खेलमा पनि अङ्क सुम्पिएको गण्डकीले खाता खोल्न सकेका छैन । कृष्ण सेकेन्डरी एकेडेमीले पनि अङ्क जोड्न सकेको छैन । यो समूहमा अब आर्मीले एपीएफसँग खेल्न बाँकी छ भने पहिलो खेलमा सुखद नतिजा निकालेको एपीएफले आर्मी र कृष्ण सेकेन्डरी स्कुलसँग प्रतिस्पर्धा गर्न बाँकी छ ।

प्रतियोगिताअन्तर्गत बुधवार नै भएको समूह 'ए' को अर्को खेलमा एभरेस्ट भलिबल क्लबले नयाँ बजारलाई तीन–शून्यको सोझो सेटमा हराएर सान्त्वना जित निकाल्यो । एभरेस्टले नयाँ बजारलाई २५–१२, २५–१२ र २५–१४ को सेटमा हराएको हो । यस जितसँगै एभरेस्टले तीन खेलमा तीन अङ्क जोडेर समूहमा तेस्रो भएको छ । नयाँ बजार भने अङ्कविहीन बनेको छ । यद्यपि दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन् । 

यो समूहबाट साविक विजेता न्यु डायमन्ड युथ स्पोट्र्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुन बाँकी छ । यी दुई टोलीको प्रतिस्पर्धा बिहीवार हुनेछ र विजेता टोली समूह विजेता र पराजित टोली उपविजेताको रूपमा अन्तिम चारमा प्रवेश गर्नेछन् ।

यस्तै बुधवार सम्पन्न पुरुषतर्फ समूह 'सी' को प्रतिस्पर्धामा ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले न्युटन भलिबल एकेडेमीमाथि तीन–दुईको रोमाञ्चक जित  निकाल्यो । सुरुवाती दुई सेटमा जित निकाले पनि त्यसपछिको दुवै सेट गुमाउँदा ढोरपाटनले पाँचौँ सेटमा सङ्घर्ष गर्नुपरेको थियो । पहिलो र दोस्रो सेटमा क्रमशः २५–२३ र २५–२० को जित निकालेको ढोरपाटनले त्यसपछि दुई सेट क्रमशः १८–२५ र २२–२५ ले गुमाएपछि खेल पाँचौँ सेटमा पुगेको थियो । तर पाँचौँ सेटमा ढोरपाटनले १५–९ ले पक्षमा पार्दा रोमाञ्चक जित निकाल्न सफल भएको हो । यससँगै समूह सी मा रहेको ढोरपाटनले दुई खेलबाट दुई अङ्क जोडेको छ । पराजित न्युटनले दुई खेलबाट एक अङ्कको खाता खोलेको छ ।

यस्तै अर्को खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले केशवलाल भलिबल केन्द्रलाई सोझो सेटमा पराजित गर्‍याे । सुरुवातबाट नै दबाब राख्दै खेलेको हेल्प नेपालले केशवलाललाई २५–१८, २५–१८ र २५–१३ को सेटमा स्तब्ध बनाएको हो । 

यसअघि भएको खेलमा विभागीय टोली नेपाल पुलिसले गण्डकी प्रदेशलाई तीन–एकको सेटमा हराउँदै समूह विजेताको रूपमा अन्तिम आठमा प्रवेश गरेको छ । पुलिसले गण्डकीलाई २५–२३, २५–२१, २४–२८ र २५–१५ ले हराएको हो । यस जितसँगै पुलिस समूह 'सी' को समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पुलिसले तीन खेलमा नौ अङ्क जोड्यो । पुलिसले अब क्वाटरफाइनलमा दावाली मिलन क्लबसँग खेल्नेछ । दावाली समूह ए को उपविजेता बन्दै यसअघि नै क्वाटरफाइनलमा पुगेको छ ।

प्रतियोगितामा पुरुषतर्फ १५ र महिलामा आठ टोलीको सहभागिता रहेको छ । पुरुष र महिला दुवैतर्फको विजेताले समान चार लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले दुई लाख र तेस्रो हुने टोलीले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् । यस्तै उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया