राष्ट्रिय भलिबल प्रतियोगिता : पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा

 पुस २८, २०७९ बिहिबार १३:४७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – सातौँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियाेगिताअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 

त्रिपुरेश्वरकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भड हलामा आज बिहीवार भएको खेलमा विभागीय टोली पुलिसले न्यु डायमन्डलाई तीन–दुईकाे सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । यस जितसँगै पुलिस समूह 'ए' को विजेता बन्यो । प्रतियोगितामा न्यु डायमन्ड पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । 

पहिलो सेट २५–२२ ले जितेको पुलिसले खेलको दोस्रो सेट २२–२५ ले गुमायो । त्यस्तै खेलको तेस्रो सेट पुलिसले २५–१४ ले जित्यो भने खेलको चौँथो सेट न्यु डामन्डले २५–२३ ले जित्यो । त्यसैगरी खेलको पाँचौँ तथा अन्तिम सेट पुलिसले १५–१० ले जित्यो । 

यसैगरी आजै भएको अर्को खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) कृष्ण एकेडेमी क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह 'बी' मा रहेको एपीएफ कृष्ण एकेडेमीलाई तीन–शून्यकाे सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफले पहिलो सेट २५–४, दोस्रो सेट २५–४ र तेस्रो सेट २५–३ ले जित्याे ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया