फेसबुकले बिग्रियो विदेश गएका श्रीमानसँगको सम्बन्ध

 जेठ २४, २०७५ बिहिबार १४:५३:३३ | दुर्गाप्रसाद भट्टराई
unn.prixa.net

दुर्गाप्रसाद भट्टराई । 

सर्लाही – फेसबुकमा नयाँ एकाउण्ट खोल्ने ठाउँमा लेखिएको छ ‘फेसबुकले तपाईंका जीवन व्यक्तिहरुसँग जोड्नलाई मद्दत गर्छ ।’ रमिता मगरका श्रीमानले पनि उहाँको जीवनका व्यक्तिसँग जोडिन आफैं फेसबुक खोलिदिएका थिए । तर त्यही फेसबुकका कारण अहिले रमिताको श्रीमानसँगको सम्बन्ध बिग्रिएको छ । 

सर्लाहीकी रमिता मगरका श्रीमान् दोस्रो पटक मलेसिया गए । बिदामा आएका रमिताका श्रीमान् मलेसिया फर्किएको छ महिना भयो । बिदामा आएका श्रीमान् तीन महिना घर बसेका थिए । 

घर आएका बेला श्रीमानले नै रमिताको फेसबुक खोलिदिए । फेसबुक खोल्न अनि त्यसमा फोटो राख्न पनि सिकाए । फुर्सद भएको बेला फोटो हाल्न पनि भने रमितालाई । घर बसेका बेला श्रीमानले नै रमिताको फोटो फेसबुकमा हालेर लाइक अनि कमेन्ट पनि गरे । तर बिदा सकेर मलेसिया पुगेपछि भने रमिताका श्रीमानको व्यवहार फेरियो । 

त्यसको छनक रमिताले कुरा गराईबाट थाहा पाइन् । फोन गर्दा श्रीमानले सधैं सञ्चो बिसञ्चो सोध्थे । तर त्यो दिन कुरा सञ्चो बिसञ्चोका भएनन् । श्रीमानले सुरुमै ‘तेरो फेसबुकमा हालेको फोटोमा निकै कमेण्ट छ नि,’ भनेपछि रमिता झस्किइन् । 

त्यतिबेला रमितालाई त्यो कुरा ठूलो लागेन । त्यसैले उनले पनि राम्रो मान्छेको फोटोमा कमेण्ट त भैहाल्छ नि भनिन् । त्यति भन्न नपाउँदै रमिताले सोच्दै नसोचेको कुरा गरे श्रीमानले । 

श्रीमानले तेरो फेसबुक एकाण्ट बन्द गर भनेपछि रमिता के भन्ने दोधारमा परिन् । उनले पनि फेसबुक खोलेर मैले के गल्ती गरेको छु र भनेर श्रीमानलाई बुझाउन त खोजिन् तर श्रीमानले बुझेनन् । उल्टै फेसबुक बन्द गरेपछि मात्रै कुरा गरौंला भन्दै फोन काटिदिए । 

अहिले त फोन गर्नै कम गरेका छन् । ‘कहिलेकाहीँ फोन गरिहाले भनेपनि फेसबुक बन्द गरिस् कि गरिनस् भनेर मात्रै सोध्नुहुन्छ,’ रमिताले भन्छिन् ‘मैले छैन भनेपछि ल ल मेरो काम परो एकछिनमा म कल गर्छु भनेर फोन राख्नुहुन्छ । त्यसपछि फोन आउँदैन अनि यताबाट फोन गर्दा पनि उठ्दैन ।’ छ महिनाअघि आफूसँग कुरा गर्न सजिलो हुन्छ भन्दै श्रीमानले खोलिदिएको फेसबुकले अहिले रमितालाई तनाव दिइरहेको छ ।

श्रीमानले निहुँ खोज्ने कुरा बेग्लै छ तर कारण चाहिँ फेसबुक नै बनेको छ फूलकुमारी थोकरको पनि । फूलकुमारीका श्रीमान् रोजगारीका लागि साउदी अरब गएको ४ वर्ष भयो ।  श्रीमानले पठाएको पैसाले उहाँले चार कोठाको पक्की घर बनाइन् । छोराछोरी दुवै जना १० वर्ष नाघिसकेका छन् ।

त्यसैले अब त आफूले पनि केही काम गर्न पाए श्रीमानले विदेशबाट पठाएको पैसा बच्ने थियो भन्ने लागेर फुलकुमारीले जागिर खोज्न थालिन् । उनले घर नजिकैको बोर्डिङ स्कूलमा सहयोगीको काम पाइन् । साउदीमा भएका श्रीमानसँग सल्लाह गरेर उनले काम गर्न पनि थालिन् । ‘मैले काम गर्न थालेपछि घर खचै मैले आफैं जुटाएँ अनि उहाँले पठाएको पैसा बच्न थाल्यो,’ फूलकुमारीले सुनाइन् । 

सबै राम्रैसँग चलिरहेको थियो । तर फूलकुमारीले फेसबुकमा राखेको एउटा फोटोले अहिले श्रीमानसँग बोलचाल नै बन्द भएको छ । एकदिन स्कूलले विद्यार्थीसहितको बनभोज राखेको थियो । फूलकुमारीले बनभोज जाँदाको फोटो आफ्नो फेसबुकमा हालिन् । 

फोटो हालेको केहीदिनमै श्रीमानले फोन गरेर उनलाई गाली गरे । उनले ‘म विदेशमा दुःख गर्ने तँ चाहिँ त्यहाँ मोज गर्ने,’ भनेपछि फुलकुमारी नाजवाफ भइन् । उनको त्यो फोटोमा उनीसँगै स्कूलका साथीहरु पनि थिए ।

तर श्रीमानले जोसँग फोटो खिचाएकी छेस त्यैसँग जा भनेपछि फूलकुमारीले केही भन्नै सकिनन् । ‘ग्रुपको फोटो त उहाँले किन त्यस्तो भन्नुभयो मैले सोच्नै सकेको छैन,’ फुलकुमारी भन्छिन् । 

रमिता र फूलकुमारी यही कारणले मनोसामाजिक समस्यामा परे । उनीहरुलाई मनोसामाजिक परामर्श दिन पुगेकी मनोसामाजिक परामर्शकर्ता सरिताकुमारी लामा आफू परामर्श दिन पुग्ने धेरै ठाउँमा यस्तो समस्या भएका महिला भेटेको बताउनुहुन्छ । परामर्शका क्रममा पीडितका विदेश गएकाहरुले शंका गर्ने र विश्वास नगर्ने कारणले समस्या भएको पाइएको उहाँको भनाई छ । 

(समाचारमा उल्लेख गरिएका नाम परिवर्तन गरिएको हो ।)

अन्तिम अपडेट: फागुन ३०, २०८०

दुर्गाप्रसाद भट्टराई

दुर्गाप्रसाद भट्टराई मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल, फिल्ड अफिस ढल्केवर अन्तर्गत मधेस प्रदेश मनोसामाजिक सुपरभाइजर हुनुहुन्छ ।  उहाँलाई फेसबुकमा भेट्न सकिन्छ।

2 Comments

  • neha

    June 8, 2018, 8:27 p.m.

    दुर्गा सर हजुरले लेख्नु भएका समाचार एकदमै पृथक लाग्यो तर पत्रकारिताको क्रममा हामी पत्रकारलाई सिकाईन्छ कुनै पनि व्यक्तिको नाम परिवर्तन गर्नुपर्दा थर चाही जोडनु हुँदैन भनेर । क्षमा चाहन्छु तर सरले नाम र थर प्रयोग गरेको देखेर म टिप्पणी गर्न बाध्य भए ।

  •  0 Reply
  • raju bhusal

    June 7, 2018, 3:10 p.m.

    अलि भारती समाचारलाई कम ध्यान दिनु पर्यो, मनोरञ्जन समाचार थप गर्नु पर्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया