छाउपडी प्रथा : भत्काइएका छाउगाेठ फेरि बन्दै, महिलाका दु:ख उस्तै

 पुस २९, २०७९ शुक्रबार १३:५८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत - दैलेखको ठाँटीकाँध गाउँपालिका–२ की सरुपा विक २१ वर्षको हुनुभयो । १६ वर्षको उमेरमा पहिलाे पटक महिनावारी हुँदा छाउगाेठ बस्नुभएकी विक अहिले पनि महिनावारी भएका बेला छाउगोठमै बस्नुहुन्छ। महिनावारी हुने समय नजिकिँदै जाँदा जिउ सिरिङ्ग हुने विक बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,'छाउगोठमा बसौँ त सर्पको डर घरमा बसौँ त देवताको डर केही गरे पनि सुख छैन।'

बिहान पाँच बजेकै हुँदैन, उहाँ कठ्याङ्ग्रिँदाे जाडोमा घाँस काट्न वनतिर हिँडिहाल्नुहुन्छ । घाँसको ठूलो डोको बोकेर घर फर्किनुहुन्छ । महिनावारी भएकाे समयमा उहाँको दैनिकी यसरी नै बित्छ । अघिपछिभन्दा महिनावारी भएका बेला निकै पीडा हुने गरेको उहाँ सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘महिनावारीकाे बेला निक्कै पीडा हुन्छ, सुक्खा सेतो नुनसँग खाना खानुपर्छ, एकसराे कपडा ओछ्याएर चिसो ठाउँमा सुत्नुपर्छ ।’ परम्परागत सोचमा परिवर्तन आउन नसक्दा अहिले पनि एकसरो लुगा ओछ्याएर सेतो नुनसँग खाना दिइने चलन कायमै छ । 

त्यस्तै आठबिस नगरपालिका-५ की अमला बडुवाल (नाम परिवर्तन) पहिलोपटक महिनावारी हुँदा लुक्न जङ्गल जानुभयाे । गाउँघरमा पहिलो पटक रजस्वला भए लुक्नजाने चलन अनुसार जङ्गल गएको अमलाको भनाइ छ  । 'सरकारले छाउलाई बार्न हुन्न, छाउ गोठमा बस्न हुन्न भनेर भत्कायो,’उहाँले भन्नुभयो,‘गोठ भत्काएर मात्र के गर्नु मनको डर भत्काउन कसैले नसक्ने त्यसैले पनि छाउ गोठमै बस्नुपर्ने बाध्यता छ ।’

पहिलो पाला रजस्वला हुँदा नलुकेमा दाइभाइको नजर परे राम्रो हुँदैन भनेर पाँच दिनसम्म लुक्ने चलन रहेको ठाँटीकाँधकी सरुपा विक बताउनुहुन्छ । ‘पहिलोपटक महिनावारी हुँदा घरमा बस्नुहुँदैन, लुक्न जानुपर्छ जङ्गलतिर, कसैको पनि नजरमा पर्न हुँदैन, पाँच दिन भएपछि घरमा आउने र घरमा मिठो मसिनो बनाएर दिने चलन छ' उहाँले भन्नुभयो  । उहाँले पहिलाे पटक महिवारीहुँदा आफू भने अरु कसैकाे घरमा एउटा काेठामा बस्न पाएकाे बताउनु भयाे ।

दैलेखको आठबिस नगरपालिका-२ की भावना उपाध्यायको पनि उस्तै अनुभव छ । उहाँले पनि घरमा भएका पुरुषलाई अनुहार देखाउन नहुने भन्दै ७ दिनसम्म आफन्तको घरमा लुक्न जानुपरेकाे सम्झनुभयाे ।  सरुपा र भावना त एक  प्रतिनिधि पात्र मात्रै हुन् । परम्परागत सोचमा परिवर्तन आउन नसक्दा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा छाउप्रथाले निरन्तरता पाइरहेको छ ।

अस्थायी छाउगोठमा बस्छन् महिला

गएकाे वर्ष पुष महिनादेखि सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशका १९ जिल्लामा छाउगोठ भत्काउने अभियान थाल्यो । याे अभियानबाट करिब ९ हजार २ सय १० वटा छाउगोठहरू गृह मन्त्रालयलको आदेशमा भत्काइयो । छाउगोठहरु भत्काइए पनि पुन: छाउगोठमै बस्न थालेका छन् ।

रजस्वला हुँदा छाउगोठमा बस्नेलाई कारबाही गरिने भनेर कानुनमा प्रस्ट उल्लेख भए पनि कार्यान्वयन भने हुनसकेको छैन । पहिलेका छाउगोठ पनि धमाधम ठडिन थालेका छन् । महिनावारी भएका बेला बस्न भनेर बनाइएका छाउगोठमा बस्ने क्रममा महिला एवम् किशोरीले बर्सेनि ज्यान गुमाउन थालेपछि त्यस्तो अभियान सुरु गरिएको थियो ।

पालिकाका जनप्रतिनिधिको अगुवाइ र प्रहरीको बलमा छाउगोठ भत्काएर छाउगोठमुक्त घोषणा गरिए पनि महिलाहरू भने महिनावारी हुँदा फेरि गाईभैँसीको गोठ र बाख्राखोरमा बस्न थालेका छन् ।

'सरकारले छाउगोठ भत्काए पनि घरभित्र बस्न मनले मान्दैन डर लाग्छ' दैलेख आठबिस नगरपालिकाकी एक महिलाले भन्नुभयो’, घरभित्रै बस्ने मन भए पनि देवता रिसाउने भन्दै परिवारका सदस्यले बस्नै दिनुहुँदैन, त्यसैले महिनावारी हुँदा पाँचदिन बाध्य भएर छाउगोठमै नबसी हुँदैन ।’

छाउगोठ भत्काउँदा झनै जोखिममा  

सरकारले छाउगोठ भत्काएपछि झन् ठूलो समस्या उत्पन्न भएको आवाज संस्था पन्चपुरी नगरपालिकामा कार्यरत वीरेन्द्रनगर नगरपालिका-३ की दुरपता सुनार बताउनुहुन्छ। 'छाउगोठ भत्काएपछि खुला रुपमा त्रिपालमा बस्ने गरेका छन्,’उहाँले भन्नुभयाे, ‘छाउपडी अन्त्य गर्न आम नागरिकको मानसिकतामा परिवर्तन ल्याउनुपर्छ  ।’

पहिलेको भन्दा छाउपडी र छाउगोठमा बस्ने अहिले कम हुँदै गएको आठबिस नगरपालिकाका पूर्व उपमेयर दीपा बोहोराले बताउनुभयो  । ‘पहिले सरकारले विनापूर्वाधार मानसिक रुपमा तनाव दिएर छाउगाेठ भत्काउने काम भयो ।  त्यसले गर्दा उल्टो प्रभाव पर्यो,’ उहाँले भन्नुभयाे,‘जसले गर्दा महिलाहरु महिनावारी हुँदा झाडी र खुल्ला ठाउँमै बस्न थाले ।’

'छाउगोठ भत्काउने नै भए पहिले मनको डर भत्काउनुपर्छ, मनको डर नभत्काउन्जेलसम्म छाउगोठ र छाउपडी अन्त्य हुन मुस्किल छ,’उहाँले भन्नुभयो,‘सामाजिक मूल्यमान्यताका कारण पनि एक साथीले अर्को साथीलाई डर देखाइदिनाले गलत म्यासेज गएको छ ।’

दण्डनीय कानुनले रोक्न नसकेको छाउपडी प्रथा

सुदूरपश्चिम क्षेत्रका कतिपय ठाउँमा रजस्वलाको समयमा बस्ने छाउगोठ गृहमन्त्रालयको आदेशमा भत्काइयो । छाउगोठ भत्काए पनि छाउ बार्न र छाउगोठमा र छाउपडी कायमै छ । सन् २०१८ को अगष्टमा नेपालले छाउपडीलाई गैरकानुनी घोषणा गरेको थियो । त्यसपछि छाउगोठ भत्काउने अभियान पनि थालियो । न त छाउगोठ भत्किए न त छाउपडी र मनको डर । 

राष्ट्रिय मानवअधिकार आयोगको तथ्याङ्क अनुसार २०६२ सालयता छाउ गोठमा कम्तीमा १५ जनाले ज्यान गुमाइसकेका छन् । मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३)ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ । यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था कानुनले गरेको छ । कानुनमा उल्लेख गरिए पनि कानुनी रुपमा पालना हुन नसक्दा कागजमै सीमित छ । 

महिनावारी हुने कुरालाई सामान्य रूपमा लिएर छाउप्रथालाई महिला आफैँले छोड्न सकिरहेका छैनन् । छाउगोठको अन्त्य गर्न विभिन्न समयमा विकट गाउँमा रहेको छाउगोठ भत्काउने अभियान सञ्चालन गरिए तर, सहरमै रहेको यस्ता छाउकोठा भत्किन सकेका छैनन् । 

प्रत्येक पटक महिनावारी हुँदा ५ दिनसम्म घरमा छुट्टै बस्नुपर्ने बाध्यता थियो भने अहिले गाउँघरमा दुई दिन थपेर सातदिनसम्म छाउगोठमा बस्नुपर्ने बाध्यता छ । जसका प्रमुख कारण यौनहिंसा र सर्पदंश अर्थात् सर्पले टोक्ने समस्या रहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया