दिपायल विमानस्थलमा पाँच महिनादेखि हवाई उडान बन्द भएपछि नागरिक समस्यामा

 पुस ३०, २०७९ शनिबार ९:५३:३५ | विमल बिष्ट
unn.prixa.net

डोटी - दिपायल विमानस्थलकाे स्तरोन्नति भइ कालोपत्र भएको दुई वर्ष बितिसक्दा पनि हवाई उडानले निरन्तरता पाउन सकेकाे छैन । जहाज सञ्चालन बन्द भएपछि यहाँका नागरिकलाई समस्या भएकाे छ ।  जहाज सञ्चालन बन्द भएपछि बिरामीलाई अस्पताल पुर्याउन बढी समस्या भएको स्थानीयले बताएका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरण र सपना ग्याल्भा जेभी कन्स्ट्रक्सनबीच २०७३ सालमा चार सय ९० मिटर लम्बाइको धावनमार्ग निर्माण र कालो पत्रसहितको लागि ६ करोड ८० लाख रुपैयाँ ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०७६ साल असार मसान्तभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि एक वर्ष म्याद थप भइ २०७७ सालमा काम सम्पन्न भएको थियो ।

२०७७ साल असोज १७ गते समिट एअरलाइन्सले उडान परीक्षण गरेको थियो । उडान परीक्षण पश्चात् केही समय समिट एअरले निरन्तरता दिएको थियो । समिट एअरले निरन्तरता दिन नसकेपछि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी दिपायल नेपाल वायुसेवा निगमको जहाजमार्फत् उडान सुरु गराउनुभयो ।

सुरुमा हप्तामा दुई पटक उडान गर्ने निर्णय गरेको वायुसेवाले कहिले कोभिड, कहिले यात्रु छैन भन्दै आलटाल गर्दै आफू अनुकूल महिनामा कहिले दुई पटक  त कहिले एक पटक जहाज उडाउँदै थियो । तर करिब पाँच महिनायता उडान पूर्ण रुपमा बन्द भएको छ । 

कैलालीको धनगढीदेखि दिपायलको अन्तिम उडान २०७९ साल भाद्र ६ गते भएको थियो त्यस पश्चात् अहिलेसम्म उडान पूर्ण रूपमा बन्द भएको डोटी नागरिक उड्डयन कार्यालय दिपायलले जानकारी दिएको छ ।

'विमानस्थलको स्तरोन्नति भएको केही समयसम्म कहिलेकाहीँ जहाज आउँथ्यो अहिले त त्यो पनि पूर्ण रूपमा बन्द भएको छ' स्थानीयवासी भरत द्धारियाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दिपायल विमानस्थल सञ्चालन भएपछि बीचमा लामो समयसम्म बन्द हुँदा गौचरणमा परिणत भएको थियो त्यसपछि बीचमा स्तरोन्नति हुँदा अब नियमित सञ्चालन हुन्छ भन्ने लागेको थियो । फेरि यस्तै अवस्था हो भने पुनः गौचरणमा परिणत नहोला भन्न सकिँदैन ।’

नेपाल वायुेवा निगमले भने विमान अभावका कारण डोटी उडान भर्न नसकेको बताउँदै आएको छ ।

१८ सिट क्षमता भएको नेपाल वायुसेवाको विमानले हप्ताको दुई दिन धनगढीबाट डोटी, अछाम, बाजुरा र बझाङमा उडान भर्दै आएको थियो । दिपायल विमानस्थलमा लामो समयदेखि जहाज नआए पनि विमानस्थलको टर्मिनल भवन र टावर निमार्ण कार्य सुरु भएको डोटी नागरिक उड्डयन कार्यालयले जनाएको छ ।  

विमानस्थलको टर्मिनल भवन र टावर निर्माण गर्न ५ करोड ९ लाख बजेट विनियाेजन गरिएकाे थियाे । गएको असारदेखि निर्माण कार्य सुरु भइ २०८०साल मङ्सिरमा सम्पन्न गर्ने गरी टीडीआर कन्स्ट्रक्सन निर्माण कम्पनी धनगढीसँग सम्झौता भइ निर्माण कार्य सुरु भएको हो । यतिमात्र नभइ अहिले यो विमानस्थल कार्यालयसमेत प्रमुखविहीन भएको छ । विमानस्थलका प्रमुख विजय पटेल यही पुस ४ गते अछाम जिल्ला विमानस्थलमा सरुवा भएसँगै विमानस्थल कार्यालय प्रमुखविहीन भएको हो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया