व्यवसायीलाई चाकुको माग धान्न भ्याइनभ्याइ

 पुष ३०, २०७९ शनिबार १२:३:३६ | रासस
unn.prixa.net

तस्बिर : रासस

भक्तपुर - माघे सङ्क्रान्ति नजिकै आइसक्यो। मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरी इनाय टोलका व्यापारीलाई भने यतिखेर चाकु बनाउन भ्याइनभ्याइ छ ।

मध्यपुरथिमिमा ५८ वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले सुरु गर्नुभएको चाकु बनाउने पेसा नाती पुस्तासम्म पनि प्रख्यात छ । माघे सङ्क्रान्ति नजिकिएसँगै उत्तमराज श्रेष्ठको परिवार एकमहिना अघिदेखि चाकु बनाउन व्यस्त छ ।

थिमिमा चाकु उत्पादन गर्ने पुरानो एकमात्र गणेश चाकु वासको नामबाट प्रख्यात श्रेष्ठले माघे सङ्क्रान्तिका लागि मात्रै नभइ वर्ष दिनभरि नै चाकु बनाउनुहुन्छ । यहाँको चाकु र पुष्टकारी स्वदेशमा मात्रै नभइ विदेशमा पनि प्रख्यात रहेको बताउनुहुन्छ व्यवसायी श्रेष्ठ । माघे सङ्क्रान्तिले भिड बढेको र जाडो बढेकाले चाकुको माग धान्न धौ धौ परेको उहाँको भनाइ छ । एक महिनादेखि उहाँको परिवारसहित दैनिक २५ जना चाकु र तीलको कालो तथा सेता लड्डु (तिलौरी) बनाउन व्यस्त हुनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, 'माघे सङ्क्रान्ति नजिकिएपछि चाकु लिन आउनेको भिड लाग्छ, यहाँ उत्पादन भएको चाकु र पुष्टकारी औषधिको रुपमा प्रयोग गर्न टाढाटाढाबाट लिन आउँछन्, यहाँको चाकुले खोकी निको पार्छ, गर्भवती, सुत्केरीका लागि टाढाटाढाबाट यहीँ चाकु लिन आउँछन्, महिलामा रगत बग्ने समस्या भयो भने चाकु लिन यहीँ आउँछन् ।'

सुत्केरीले यहाँको चाकु खाँदा चिसो नलाग्ने, बच्चाका लागि पर्याप्त दूध आउने, सुत्केरीलाईसमेत सहज हुने भएकाले जाडोमा मात्र नभइ गर्मीमा चाकु लिन यहाँ आउने गरेको उहाँ बताउनुहुन्छ । यहाँका सुदीप श्रेष्ठ जाडोमा र वैशाख जेठमा दैनिक सातदेखि १०, असोज कात्तिकमा १५ देखि २० किलो चाकु र पुष्टकारी बिक्री हुने गरेको सुनाउनुहुन्छ । जाडो बढेपछि दैनिक ५० किलोसम्म चाकु र पुष्टकारी बिक्री गर्ने गरेको र माघे सङ्क्रान्तिलाई उपत्यका र बाहिरबाट माग अत्यधिक आउने भएकाले दैनिक दुई सय किलोसम्म बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, 'चाकु लिनेको १० दिन अगाडिदेखिनै भिड छ, माघे सङ्क्रान्तिको दिन त चार सयदेखि पाँच सय किलोसम्म चाकु बिक्री हुन्छ । सङ्क्रान्तिपछि पनि बिक्री हुन्छ, हामी २५ जना चाकु बनाउन, प्याकिङ गर्न र  बिक्रीलाई खटिएका छौँ ।' भकभकी उम्लिएको दूधमा सख्खर, नरिवल, छोगडा, कुराउनी र विभिन्न मसलाको प्रयोग गरेर बनाइने चाकु लिन भक्तपुर, काठमाण्डाै, ललितपुर, साँखु, पनौती र उपत्यका बाहिरबाट समेत आउने गरेको सुनाउनुहुन्छ चाकु प्याकिङमा व्यस्त सुरेन्द्र श्रेष्ठ । एक पाउँ, आधा किलो र एक किलो प्याकिङमा पाइने यहाँको चाकु प्रख्यात भएकै कारण स्वदेश तथा विदेशमा उपहार दिन र सुत्केरीलाई खुवाउन टाढादेखि आउने गरेको किस्सा उहाँ सुनाउनुहुन्छ ।

यहाँको चाकु काठमाण्डाै उपत्यका र बाहिर बस्ने नेपालीले लैजान्छन् । यो खाँदा फरक स्वाद, मिठास र औषधिजन्य गुण रहेको दाबी गर्नुहुन्छ उत्तमराज । यहाँको चाकु भारत, अमेरिका, अष्ट्रेलिया, जापानलगायतका विभिन्न देशमा समेत पुग्छ । विदेश जाने बेलामा कोसेली पठाउने र विदेशमा बस्ने नेपालीले यहाँको चाकु नै माग गर्ने उहाँ सुनाउनुहुन्छ ।

केही वर्ष अगाडिसम्म प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री गरेकोमा कच्चा पदार्थको मूल्य बढ्दै गएपछि अहिले किलोको सात सय रुपैयाँमा बिक्री गरेको उहाँ बताउनुहुन्छ । बाजेले सुरु गरेको यो व्यवसायबाट राम्रो जीविकोपार्जन हुने भएपछि बाबुलाई साथ दिँदै आउनुभएका सुदीपले पनि यो पेसालाई निरन्तरता दिँदै आएको बताउनुहुन्छ ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया