भत्ता पाएपछि परनिर्भर राउटे : रक्सीका कारण जन्मदर घट्दो मृत्युदर बढ्दो

 पुस ३०, २०७९ शनिबार १३:२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत - आफ्नै राजा, आफ्नै सरकारको नीति नियमभित्र बाँच्ने, जङ्गलमै बस्ने लाेपाेन्मुख जाति हाे राउटे । यो समुदाय कर्णाली सुदूरपश्चिम र लुम्बिनी प्रदेश आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएको समुदाय हो । राउटे समुदायका नागरिकले गरेको दुःख देखेर उनीहरुको जीविकोपार्जनमा टेवा पुगोस् भन्दै सरकारले २०६४/०६५ सालमा भत्ता उपलब्ध गराएको थियो ।

जङ्गल फँडानी रोक्न र उनीहरुको जीविकोपार्जनमा सहयोग पुगोस् भन्नका लागि वितरण गरिएको भत्ता उनीहरुकै लागि 'अभिश्राप' भएको छ । पहिले जङ्गलमा घुमन्ते जीवन बिताउँदै काठबाट बनेका भाडाकुँडा नजिकको गाउँमा  बेचेर गुजारा चलाउँथे।

जङ्गल फँडानी रोक्न र उनीहरुको जीवनयापन सहज बनाउन सुरुमा पाँचसय भत्ता दिइएको राउटेका महामुखिया महिन बहादुर शाही बताउनुहुन्छ । ‘सहरको सरकारले राम्रो गरेको छ । नराम्रो गर्याउ छैन । हामुरको लागि मैनामैनामा भत्ता पठायाउँछ,’ भन्छन्, ‘कति गुण मान्याउँछ, कति राम्रो मान्याउँछ । हामीलाई धेरै धेरै काम पनि गर्नुपर्दैन भन्या छ ।’ आफूहरु जहाँ गए पनि त्यहीँ सहरको सरकार भत्ता लिएर आउँदा आफूहरुलाई खुसी लागेको उहाँ बताउनुहुन्छ । 

राउटे समुदायका नागरिकलाई सरकारले २०६४/०६५ सालदेखि एकजना बराबर मासिक ५ सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको थियो  । त्यसकै एक वर्षपछि पाँचसयबाट वृद्धि भएर एक हजार भएको थियो । २०७५/ ७६ मा वृद्धि भएर दुईहजार पुगेको थियो भने २०७६ सालदेखि ३ हजार र ७७ मा वृद्धि भएर चार हजार भत्ता पुगेको राउटे समुदायमा जोडी शिक्षकका रुपमा २०७५देखि सोसेकबाट खटिएका लालबहादुर खत्रीले बताउनुभयो । 

तत्कालीन समयमा भत्ताका रुपमा मासिक भत्ता बुझ्न थालेपछि उनीहरुले अर्थमन्त्रीलाई ‘पैसा मन्त्री’ का रुपमा बुझ्न थालेका थिए । त्यो बेलादेखि नै उनीहरुले बुझिसकेका थिए हामीले केही नगरे पनि हुन्छ अब हामीसँग पैसा छाप्ने अर्थमन्त्री भेटिसक्यौँ भनेर उनीहरुलाई लाग्थ्यो, ‘पैसा मन्त्रीले पैसा बनाउँछ र प्रधानमन्त्री बाँड्छ ।’

मासिक भत्ता पाउन थालेपछि जङ्गलबाट उनीहरु २०६६ सालमा पहिलो पटक बालुवाटार छिरेका थिए । तत्कालीन समयमा उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), तत्कालीन राष्ट्रपति रामवरण यादव, अर्थमन्त्री बाबुराम भट्टराई लगायतलाई भेटेर हातले बनाएको काठको सामग्री उपहार दिएका थिए । पहिले पहिले नयाँ मान्छेलाई आफ्नो बसोबास क्षेत्रभित्र छिर्नै नदिने राउटे समुदाय अचेल फेरिएका छन् । कुनै समय पैसा छुँदा पाप लाग्ने मान्यतामा बाँचेका उनीहरु अचेल हिँड्दा हिँड्दै पैसा माग्ने अवस्थामा पुगेका छन् । 

राउटे समुदायमा पहिले बाहिरी मान्छे नजाँदा जाँडरक्सी लगायत कुलतबारे थाहै नपाएको तर, पछिल्लो समय समाजको नजिक बस्दा र सहरका मान्छे जान थालेपछि राउटे समुदायमा रक्सीको लतले सिंगो समुदाय नै बिग्रँदै गएको महामुखिया शाही बताउँनुहुन्छ  । 'हाम्रो समुदायका मान्छेले यसरी खादैन थियौँ,’उहाँले भन्नुभयोे, ‘पहिले हामी जहाँ बस्यौँ त्यहीको समाजले र जनताले सिकायो ।खत्तम हुन्छ भनेनन् । सहर र गाउँले पहिले खान सिकायो ।’ ‘खान सिकियापछि त खाइयो । अहिले छोड्न मुस्किल भएको छ । पैसा नहुँदा छट्पटी हुन्छ पैसो आयो भने खान मन लागिहाल्छ । त्यसले गर्दा पनि हाम्राे समुदायमा ठूलाे असर गरेको छ ।’ 

जङ्गलबाट गाउँबस्तिको नजिक भएपछि पहिले भन्दा परिवर्तन भएको अर्का मुखिया सूर्यनारायण शाहीले बताउनुभयो  । समाजको नजिक सर्दा हामीले रक्सी खान मा सिकेनौँ,’उहाँले भन्नुभयोे, ‘पहिले जुत्ता लगाउँदैनथियाँ । अहिले लाउन सिक्याँ । सबै सहरले सिकायो त ।’

पहिले आफूहरु जङ्गलमा रहेर पनि आत्मनिर्भर रहेको तर, सरकारले मासिक भत्ता दिन थालेपछि आफूहरु परनिर्भर हुनुका साथै अल्छी भएको मुखिया शाहीले स्वीकार्नुहुन्छ । 'तपाई अल्छि हुनुभयो ? रक्सी पनि उत्तिकै पिउनुहुन्छ ? अब सरकारले तपाईँहरुलाई मासिक भत्ता नदिने निर्ण गरेपछि के गर्नुहुन्छ ?' भन्ने प्रश्नमा मुखिया सूर्यनारायण शाही भन्नुहुन्छ, ‘अब के गर्नु मासिक भत्ता हटाए उही पुरानै काठका भाडा बनाएर गाउँमा बेचेर परिवार पाल्छौँ ।’

रक्सी भनेको पहिले राउटेलाई थाहा नभएको र खाएपछि मरिन्छ भन्ने लागेकै बेला ‘सहरका मान्छे’ले खान सिकाएको शाहीले खुलाउनु भयाे । ‘कोही मान्छ पापी रैछ ।  यो लिच्ची (रक्सी) खाएपछि केही हुँदैन भनेर खान सिकायो । अहिले त हामीले बोइलर पनि खान थाल्यौँ,’ उनले भने, ‘सबै सिक्दैछौँ । एक दिन हाम्रा केटाकेटी पनि घरमा बस्न सिक्लान् त के रे  ?’ 

पहिले आफैँले जाड राखेर खाने परम्परा थियो त्यो पनि चाडपर्वमा मात्र खान्थे । अघिपछि जङ्गलमै काठका भाँडाकुँडा बनाउन व्यस्त रहनथ्याैँ । तर, पछिल्लो समय उनीहरु काठको भाँडा पनि बनाउन जागर लगाउँदैनन् ।

फुर्सदिला भएका कारण पनि राउटेमा रक्सिमोह बढेको जोडी शिक्षक खत्री बताउँनुहुन्छ  । पहिले कमै पिउने उनीहरुले मासिक एकहजार भत्ता आउन थालेदेखि रक्सी खान सुरु गरेका थिए । उहाँले भन्नुभयाे ‘अहिले नखाउ भने पनि मान्दैनन् । उल्टै रक्सी उत्पादन गर्ने कम्पनी बन्द गर त्यसपछि खान छोड्छौँ भन्छन् ।’

रक्सीकै कारण जन्मदर घट्दो, मृत्युदर बढ्दो 

२०७२ सालमा राउटे युवा कपिल शाही जलेर सख्त घाइते भए । उनको काठमाण्डौसम्म र्पुयाएर उपचार गरिएको थियो। तर, आगोले पोलिएको घाउ निको भएन । घाउको दु:खाइ कम गर्न उनले रक्सीको सहारा लिए । नियमित अत्यधिक रक्सी सेवनले उनलाई अन्य स्वास्थ्य समस्या देखियो  । अन्ततः कपिलले २०७७ असार ३१ गते ज्यान गुमाए । गएकाे मङ्गलवार मात्र अत्यधिक जाँडरक्सी खाएर आगो नजिकै सुतेका राउटे युवा नारायण शाही गम्भीर घाइते छन् । कर्णाली प्रदेश अस्पतालमा उपचार हुन नसकेपछि उपचारका लागि काठमाडौ लगिएका उनको शरीरको ३० प्रतिशत भाग जलेको छ । 

रक्सीको अत्यधिक रक्सी खाएका कारण ज्यान गुमाउने समुदायका अर्का युवा हुन, शिवराज शाही । बजारमा पाइने लिचीजस्ता रक्सीको लतमा फसेका शिवराजले २०७८ वैशाखमा ज्यान गुमाएका थिए ।  पछिल्लो पाँच वर्षमा राउटे समुदायका २९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १९ जना बालबालिका र १० जना वयस्क उमेरका छन् । त्यसमध्ये धेरैजसो वयस्क उमेरका राउटे नागरिक जाँड रक्सी असर देखिएर मृत्युवरण गर्नेहरू छन् । जाँडरक्सी खाएका कारण प्रायजसाे राउटेको स्वास्थ्य कमजोर हुन थालेको स्वास्थ्यकर्मी बताउँछन् ।

सरकारले भत्ताबापत दिने पैसाले राउटे समुदायमा मृत्युदर मात्र होइन जन्मदर पनि घटेको सोसेकद्वारा संचालित राउटे परियोजनाबाट बस्तीमा खटिएका जोडी शिक्षक लाल बहादुर खत्रीको भनाई छ । म प्रत्येक दिन राउटे दम्पतीसँग भेटेर रक्सीकै कारण तपाईँहरुको जनसङया घटेको र कुनै बच्चा नजन्मेको भनेर रक्सी नपिउन आग्रह गर्छु,’ उहाँले भन्नुभयोे, ‘केही समय मान्छन् पुन: सरकारले चार महिनाको भत्ता एकैपटक हातमा थुर्पादिन्छ । त्यसले गर्दा पनि धेरै पैसा देखेपछि रक्सी पिउन थाल्छन् ।’ 

राउटे समुदायमा पछिल्लो पाँच वर्षयता २६ जना शिशु जन्मिएका छन् । समुदायमा सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनाले उपलब्ध गराएको तथ्याङ्कमा अनुसार २०७५ साउनदेखि २०७८ मंसिरसम्म २६ जना शिशु जन्मिएका छन् । त्यसयता समुदायमा शिशु जन्मिएका छैनन् ।

पाँच वर्षको अवधिमा जन्मिएका २६ शिशुमध्ये १४ जनाले ज्यान गुमाइसकेका छन् ।  यसले राउटे समुदायमा बालमृत्युदर ५० प्रतिशतभन्दा बढी देखाउँछ । परियोजनाका जोडी शिक्षकको रूपमा राउटे बस्तीमा खटिएका लालबहादुर खत्रीले अभिभावकले जाँडरक्सी खाएर नवजात शिशुको हेरचाह नगर्दा शिशुहरूले जन्मिएको एक हप्ताभित्रै ज्यान गुमाउने गरेको बताउँनुभयो  ।

‘राउटेको बसाइ नै त्यस्तै छ, चिसो भुइँमा सुत्ने गर्छन्, पोषणयुक्त खानपिन छैन, त्यसमाथि अभिभावक रक्सीको लतमा फस्दा शिशुले अकालमै ज्यान गुमाइरहेका छन् । रक्सीले वयस्क नागरिकको स्वास्थ्य अवस्था पनि बिग्रिँदै गएको छ ।’ राउटेमा चेतनाको कमी हुँदा व्यापारीले राउटेको सोझोपनको फाइदा उठाइरहेका उहाँकोे बुझाइ छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया