अझै खुलेनन् सर्लाहीका छोटी भन्सार कार्यालय

 पुष ३०, २०७९ शनिबार १९:४०:४५ | रासस
unn.prixa.net

सर्लाही - द्वन्द्वको कारण देखाउँदै बन्द गरिएका सर्लाहीका छोटी भन्सार कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आउन नसक्दा सिमानाकाबाट भन्सार छली तथा चोरी तस्करी बढेको छ ।

छिमेकी देश भारतसँग ५१ किलोमिटर खुला सिमानामा जोडिएको जिल्लामा सातवटा छोटी भन्सार कार्यालय छन् । एउटा मुख्य भन्सार कार्यालय रहेको छ । सबै छोटी भन्सार कार्यालय बन्द छन् । गोरखकाली नाकामा रहेको मुख्य भन्सार कार्यालय मात्र अहिले सञ्चालनमा छ ।

छोटी भन्सार कार्यालय बन्द हुँदा जिल्लाका साना व्यापारी मारमा परेका छन् । छिमेकी देश भारतसँग खुला सिमाना हुनु र नजिकै नेपाली बजार नहुँदा दैनिक उपभोग्य सामग्रीका लागि  भारतीय बजारमाथि भर पर्नुपर्ने हुँदा सीमा क्षेत्रका साना व्यापारी तथा स्थानीयवासी मारमा परेका स्थानीय जानकार उमाशङ्कर साहले बताउनुभयो । जिल्लाका साना व्यापारीले छोटी भन्सारको बाटो भएर सामान्य र सानो परिमाणमा सामान ल्याउनुपर्दा पनि भन्सार बुझाउन जिल्ला भन्सार कार्यालयमै पुग्नुपर्ने बाध्यता छ ।

जिल्लाका सात छोटी भन्सार कार्यालय सञ्चालन नहुँदासमेत सरोकारवाला निकाय मौन छ । भारतसँग खुला सिमाना जोडिएका सग्राममपुर, पर्सा, त्रिभुवननगर, भाँडसर, फेन्हरा, बारा उद्योरण र बलरा छोटी भन्सार कार्यालय र मलङ्गवामा जिल्ला भन्सार कार्यालय अहिले बन्द छन् ।

छोटी भन्सार कार्यालय बन्द हुँदा जिल्लामा तस्करी मौलाएको र राजस्व पनि कम उठ्न थालेको स्थानीय रधुनाथ यादवले बताउनुभयो । व्यापारीले सामानको राजस्व नतिर्ने गरेको पाइएको छ । पछिल्लो समय त्रिभुवननगर र बलरामा रहेका छोटी भन्सार कार्यालयमा कार्यालय सहयोगी राखेर छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याइएको छ । 

छोटी भन्सार कार्यालय बन्द हुँदा राजस्वमा ह्रास आएको जिल्ला भन्सार कार्यालयका प्रमुख दीपेन्द्रकुमार झाले बताउनुभयो । माथिल्लो तहबाट छोटी भन्सार कार्यालय सञ्चालनका लागि कुनै निर्देशन नआएको र आफूहरुले मात्रै निर्णय गरेर कार्यालय खुलाउनसक्ने अवस्था नरहेको उहाँको भनाइ छ । सीमा क्षेत्रमा हुने गरेका तस्करीका सामान सुरक्षाकर्मीले नियन्त्रणमा लिएर जिल्ला भन्सार कार्यालयमै बुझाउने गरेका कारण पनि छोटी भन्सार कार्यालयको खासै काम नरहेको कार्यालय प्रमुख झाले बताउनुभयो । 

छोेटी भन्सार कार्यालय बन्द हुँदा तस्करी बढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो । उहाँका अनुसार यसरी भित्रिएका सामान जिल्लाका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर भन्सार बुझाउँदा भन्सार कार्यालयले धेरै कम मूल्याङ्कन गर्ने गरेको पाइएको छ । भारसँगको खुला सिमानामा ११ ठाउँमा सशस्त्र प्रहरी बलका पोष्ट तथा २० ठाउँमा नेपाल प्रहरीका पोष्ट राखिएका छन् ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया