सेतीको खोँचमा माछा मारिरहेका आले भन्छन्– ‘बेलाबेलामा झस्कन्छु’

 माघ २, २०७९ सोमबार १६:३६:१३ | रासस
unn.prixa.net

विमान दुर्घटना भएकाे क्षेत्र

कास्की – आइतवार बिहान यति एअरलायन्सको जहाज खसेको पोखराको सेतीकै खोँच नजिक छ नागार्जुन टोल । त्यही टोलमा बस्नुहुन्छ कुमार आले । तनहुँको बन्दीपुरमा जन्मनुभएका उहाँ परिवारसहित १० वर्षदेखि यही टोलमा बस्दै आउनुभएको छ ।

स्थानीय ब्लक फ्याक्ट्रीमा काम गर्ने आले समय–समयमा माछा मार्न सेती नदीको किनारमा जाने गर्नुहुन्छ । संयोगवश आइतवार पनि बिहानै उहाँ सेतीको खोँच झर्नुभयो । दुर्भाग्य, त्यहीँ माछा मार्ने क्रममा आइतवार बिहान उहाँले जीवनमा कहिल्यै नदेखेको त्रासदी देख्नु र भोग्नुभयो । 

एकसुरमा जालमा माछा पार्ने प्रयन्त गरिरहनुभएका आलेले सेती सुसाएकोजस्तो सुन्नुभयो । ठूलो आवाजसँगै माछा मारिरहेकै ठाउँमा ढुङ्गा झर्न थाले । सुसाएको आवाज ठूलै हावाहुरी आएकोजस्तो सुनिएको आलेले सुनाउनुभयो । ‘ढुङ्गा झर्न थालेसँगै मेरो त होसहवास नै उड्यो, के भयो भनेर निकै अत्तालिएँ’, उहाँले भन्नुभयो, ‘खोँचबाट माथि कसरी आइपुगेँ आफैँलाई थाहा छैन, अहिले सम्झँदा कहाली लागेर आउँछ ।’

माथि आइसकेपछि मात्रै जहाज दुर्घटना भएको थाहा पाएको उहाँले सुनाउनुभयो । सेती खोँचमा आफूमात्रै नभइ अरू चार जनाले पनि माछा मारिरहेको आफूले पछिमात्रै थाहा पाएको बताउनुभयो ।

‘यति ठूलो दुर्घटना हुँदा नदीकै खोँचमै रहेको म भाग्यले बाँचेकोजस्तो लाग्छ, अहिले पनि सम्झँदा डर लाग्छ’, उहाँले सुनाउनुभयो, ‘परिवारका सदस्य पनि उत्तिकै डराएका छन् ।’ जहाज ठोक्किएपछि खोँचमा खसेका ढुङ्गा शरीरमा लाग्दा करङ्ग र शरीरका अन्य भागमा पनि चोट लागेको उहाँले सुनाउनुभयो । 

नदीको दुवैतर्फ रहेका घना बस्तीका बीचमा जहाज दुर्घटना हुँदा आसपासका बस्ती जोगाएको भन्दै स्थानीयले पाइलट कमल केसीलाई धन्यवाद दिएका छन् । स्थानीयवासी एवम् सिर्जना टोल विकास संस्थाका सचिव इन्द्रप्रसाद सापकोटाले भन्नुभयो, ‘दुर्घटनाको प्रकृति हेर्दा पाइलटले बस्ती जोगाउन निकै प्रयास गरेकोजस्तो देखिएको छ, दुर्घटनाको कारणबारे अनुसन्धानको रिपोर्ट आएपछि बाँकी जानकारी हुनेनै छ ।’ 

सरकारले दुर्घटना जाँचका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । सोमवार बिहान भेट्टाइएको विमानको 'ब्ल्याक बक्स' जाँच समितिलाई बुझाइसकिएको छ । ब्ल्याक बक्स जहाजको महत्त्वपूर्ण उपकरण मानिन्छ । यसमा विमान दुर्घटना हुनुभन्दा दुई घण्टा अघिसम्मका आवाज रेकर्ड हुन्छन् । ब्ल्याक बक्समा रेकर्ड भएका आवाजका आधारमा दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ । ब्ल्याक बक्समा इन्जिनको आवाजसँगै क्याबिन, ककपिटआदिको आवाज रेकर्ड हुने भएकाले दुर्घटनाको समयमा जहाज कस्तो अवस्थामा थियो भन्ने पत्ता लगाउन सजिलो हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया