विदेशमा रहेका लाखाैँ नेपालीकाे मन जित्ने गरी काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

 माघ २, २०७९ सोमबार १९:३४:० | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका लाखौँ नेपालीको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार गैरआवासीय सङ्घका प्रतिनिधिसँगको छलफलमा उहाँले भन्नुभयो, ‘विदेशमा लाखौँ नेपाली छन्, मैले मेरो दोस्रो कार्यकालसम्म गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले उठाएका मागहरू सम्बोधनका लागि प्रयास गरेँ र अब मेरो तेस्रो कार्यकाल विदेशमा बस्ने बहुसङ्ख्यक नेपालीको मन जित्छु ।’

प्रधानमन्त्री प्रचण्डले अघि थप्नुभयाे, ‘नेपालका कतिपय परम्परागत ऐन कानुन छन् जसले म नेपालका लागि केही गर्छु भन्नेलाई पनि बाधा व्यवधान खडा गरेको छ, तपाईँलाई विश्वस्त पार्न चाहन्छु कि म त्यस्ता खालका पर्खाललाई भत्काउनेछु ।’

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा विद्यमान कतिपय कानुनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई नेपाल सरकारले क्रमशः सच्याउँदै आएको र अबका दिनमा पनि कानुनी उल्झनलाई पन्छाउने प्रयास आफ्नो तर्फबाट जारी रहने बताउनुभयो ।
 
विदेशमा रहेका नेपालीले नेपाल र नेपालीको पहिचान विश्वमाझ पुर्‍याउन ठूलो भूमिका निर्वाह गरेको भन्दै उहाँले गैरआवासीय नेपालीप्रति आभार व्यक्त गर्नुभयो । राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिकरूपमा विश्वभर नेपाललाई चिनाउन नेपालीहरू थप संवेदनशील र जिम्मेवार बन्दै गएकोप्रति उहाँले खुसी व्यक्त गर्नुभयो ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सङ्घका तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया