नवनियुक्त मन्त्रीहरू को हुन् ?

 माघ ४, २०७९ बुधबार १५:१९:४ | मल्लिका थापा
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजाे मङ्गलवार मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे थियाे । प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सिफारिसमा मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे थियाे । यद्यपि वन तथा वातावण र युवा तथा खेलकुद मन्त्रीको अझै टुङ्गो लागेको छैन । यी दुई मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै जिम्मेवारीमा रहेका छन् ।

नवनियुक्त मन्त्रीहरूले हिजाे मङ्गलवार नै पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्दै पदभार गरेका छन् । मन्त्रीहरूले मन्त्रालयले नागरिकलाई दिने सेवा सहज बनाउने, नागरिकलाई दिने सेवा प्रभावकारी बनाउने लगायतकाे निर्णय गरेका छन् । नवनियुक्त मन्त्रीहरूकाे संक्षिप्त परिचय यस्ताे छ– 

एमाले

परराष्ट्र मन्त्री डा. विमला राई पौडेल

नेकपा एमालेले राष्ट्रिय सभाकी सांसद विमला राई पौड्याललाई परराष्ट्र मन्त्री बनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभामा मनोनीत राईले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मौका पाउनुभएको हो । नेदरल्यान्ड्सको इन्स्टिच्युट फर सोसल साइन्सबाट ‘विकास अध्ययन’ मा विद्यावारिधि गर्नुभएकी पौडेलले संयुक्त अधिराज्यको म्यानचेस्टर विश्वविद्यालयबाट विकास प्रशासनमा पोस्ट ग्र्याजुएट डिप्लोमा र अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातकोत्तर तह पूरा गर्नुभएको छ । उहाँ अहिले एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँलाई २०७२ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगमा नियुक्त गर्नुभएके थियो । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँँलाई आफ्नो विज्ञ सल्लाहकारको रूपमा नियुक्ति गर्नुभएको थियो । त्यही बेला राष्ट्रपतिबाट उहाँ पाँच वर्षअघि राष्ट्रिय सभा सदस्य मनोनीत हुनुभएको हो । राष्ट्रिय सभामा अब एक वर्षे कार्यकाल रहेको अवस्थामा अहिले सरकारको परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउन सफल हुनुभयो ।

रक्षा मन्त्री हरि उप्रेती 

एमालेका नेता हरि उप्रेती गएकाे मङ्सिर ४ गते भएकाे चुनावमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएकाे हाे । उहाँ २०७० को चुनावमा पनि यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । २०३७ सालमा अनेरास्ववियुबाट राजनीति सुरु गर्नुभएका उप्रेती २०४४ सालदेखि सक्रिय राजनीतिमा हुनुहुन्छ । 

स्वास्थ्य मन्त्री पदम गिरी 

पदम गिरी एमालेका युवा नेता हुनुहुन्छ । २०३३ सालको मङ्सिरमा पर्वतमा जन्मिनुभएका गिरीले एसएलसीसम्मको शिक्षा काफलचौर माविबाट हासिल गर्नुभयो । उहाँले पृथ्वीनारायण क्याम्पस पोखराबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । २०४६ सालमा अखिल पाँचौँको सदस्य हुँदै कम्युनिस्ट राजनीति सुरु गर्नुभएका गिरी २०५५ सालमा पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुका सचिव हुनुभएको थियो । २०५९ सालमा अनेरास्ववियुको १९ औँ सम्मेलनबाट केन्द्रीय सचिवालयमा निर्वाचित गिरी २०६३ सालमा पृथ्वीनारायण क्याम्पस स्ववियु सभापतिमा चयन हुनुभएको थियो । उहाँ २०७१ सालमा नेकपा एमाले जिल्ला कमिटी पर्वतको आठौँ अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ २०७४ सालको चुनावमा पर्वत क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको थियो । गएकाे मङ्सिर ४ गते भएकाे चुनावमा उहाँ पर्वतबाट विजयी हुनुभएकाे थियाे ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्री भगवती चौधरी 

नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीको जन्म २०२८ साल वैशाख २ गते औरवनी–३ सुनसरीमा भएको हो । चौधरीले मानविकी सङ्कायबाट समाजशास्त्र विषयमा स्नातकोत्तर र व्यवस्थापन सङ्कायबाट स्नातक गर्नुभएको छ । २०६७ सालमा वन तथा भू संरक्षण राज्यमन्त्री बन्नुभएकी उहाँ २०६४ सालको चुनावमा मन्त्रिपरिषदबाट मनोनीत हुँदै सभासद हुनुभएको थियो । तर २०७० सालको चुनावमा भने उहाँ तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग सुनसरी–३ बाट पराजित हुनुभयो । चौधरीले फेरि २०७४ सालको चुनावमा सुनसरी–३ बाट नेपाली कांग्रेसका विजयकुमार गच्छदारसँग हार बेहोर्नुपरेको थियो । उहाँले क्याम्पस पढ्दा थारु विकास समन्वय परिषद्को सदस्य र पछि उपाध्यक्ष भएर काम गर्नुभएको थियो । २०४६ सालको आन्दोलनमा सक्रिय भएर काम गर्नुभएकी उहाँ थारु विकास समन्वय परिषद्को सदस्यदेखि उपाध्यक्षसम्म बन्नुभयो । चौधरीले २०४८–०४९ सालमा रेडियो नेपालको जिल्ला संवाददाता भएर छ महिना काम गर्नुभयो । २०५१ सालमा ग्रामीण महिला उत्सुकता विकास मञ्च गठन गरी २०५२ सालदेखि विधिवत् रूपमा सञ्चालन गर्नुभएकी उहाँले २०५२–०५३ सालमा दुई वर्ष समाज कल्याण परिषदमा सहायक निर्देशक भएर काम गर्नुभयो । चौधरी २०५९ सालमा गैरसरकारी संस्था महासङ्घको केन्द्रीय सदस्य तथा २०६२ र ०६३ मा कोषाध्यक्ष हुनुभयो । गैरसरकारी संस्थामार्फत क्रियाशील चौधरी २०६३ सालमा नेकपा एमाले सुनसरीको जिल्ला कमिटी सदस्यमा मनोनित हुनुभएको थियो । गएकाे मङ्सिर ४ गते भएकाे चुनावमा उहाँ सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी हुनुभएकाे थियाे ।

कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साह 

ज्वालाकुमारी साहले २०५४ सालदेखि भूमिगत भएर नेकपा माओवादीबाट विद्यार्थी राजनीति यात्रा सुरु गर्नुभएको थियो । उहाँले पहिलो संविधान सभामा मनोनित सदस्यको रूपमा संसदीय यात्रा सुरु भएको हो । उहाँ २०७४ सालमा मधेस प्रदेश सभामा निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित हुनुभएको थियो । यसअघि साहले २०६७ सालमा भूमिसुधार राज्यमन्त्री, २०६८ सालमा पर्यटन राज्यमन्त्रीको रूपमा काम गरिसक्नुभएको छ । पछिल्लो पटक केपी ओली नेतृत्वको सरकारमा १३ दिनका लागि कृषि मन्त्री पनि बन्नुभएको थियो । गएकाे मङ्सिर ४ गते भएकाे चुनावमा उहाँ बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएकाे थियाे । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी 

दामोदर भण्डारी २०४६ सालको जनआन्दोलनबाट प्रभावित भइ राजनीतिमा आबद्ध हुनुभएको हो । २०४८ सालमा अनेरास्ववियु बैतडी जिल्ला कमिटीको अध्यक्ष हुँदै उहाँ २०५० सालमा नेकपा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बन्नुभएको थियो । २०५४ सालमा जिल्ला कमिटी उपसचिव हुँदै भण्डारी २०५६ देखि २०६४ सालसम्म नेकपा एमाले बैतडीको पार्टी प्रमुख (सचिव) हुँदै एमाले बैतडीको अध्यक्ष हुनुभयो । २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बन्नुभएका उहाँ अहिले नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष हुनुहुन्छ । भण्डारी संविधान सभा सदस्य चुनाव २०७० सालमा बैतडी संविधानसभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो । त्यस्तै उहाँ सङ्घीय संसद् प्रतिनिधि सभा सदस्य चुनाव २०७४ मा बैतडीबाट निर्वाचित हुनुभयो । २०६४ देखि २०७० सम्म पाटन बहुमुखी क्याम्पसको दुई कार्यकाल अध्यक्ष बन्नुभएका उहाँ मदन भण्डारी फाउन्डेशनमा केन्द्रीय सदस्य पनि हुनुहुन्छ । भण्डारी २०७३ सालमा अर्थ राज्यमन्त्री बन्नुभएको थियो । उहाँ राजनीतिक आन्दोलनका क्रममा पटक–पटक पक्राउ परेर प्रहरी हिरासतमा पनि रहनुभएको थियो ।

माओवादी

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा

रेखा शर्माले २०४२ सालमा अनेरास्ववियुको स्कुल इकाइ कमिटीबाट विद्यार्थी राजनीतिको सुरुवात गर्नुभयो । उहाँ २०५१ सालमा योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को केन्द्रीय सदस्य हुँदै २०५७ सालमा नेकपा (माओवादी) को केन्द्रीय सदस्य बन्नुभयो । शर्मा २०५३ देखि २०५८ सालसम्म अनेमसङ्घ क्रान्तिकारीको अध्यक्ष पनि हुनुभएको थियो । उहाँ २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केन्द्रीय सदस्य हुँदै २०७९ मा माओवादी स्थायी कमिटी सदस्य पनि हुनुभयो । संविधान सभा सदस्य निर्वाचन २०७० सालमा माओवादी केन्द्रका तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित हुनुभएकी शर्मा प्रतिनिधि सभा सदस्य चुनाव २०७४ मा पनि समानुपातिक प्रणालीबाट निर्वाचित हुनुभयो । उहाँ २०७२ कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासन मन्त्री पनि हुनुभएको थियो । उहाँ २०७० मा माओवादी केन्द्रको संविधान सभा संसदीय दलको सचेतक, २०७२ सालमा रूपान्तरित व्यवस्थापिकामा माओवादी केन्द्रको प्रमुख सचेतक हुनुभयो । उहाँ सशस्त्र द्वन्द्वको समयमा २०५८ चैतदेखि २०५९ चैतसम्म एक वर्ष सैनिक हिरासतमा रहनुभएको थियो । गएको मङ्सिरमा भएको चुनावमा उहाँ दाङ क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती 

सुदन किराँती २०४६ सालको जनआन्दोलनपछि विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँ २०५० सालमा स्कुल प्रारम्भिक कमिटी अध्यक्ष (अनेरास्वोवियु), २०५५ सालमा खम्बुवान राष्ट्रिय मोर्चा सदस्य हुँदै २०६२ सालदेखि किराँती राष्ट्रिय मोर्चाको केन्द्रीय अध्यक्ष हुनुभयो । उहाँ माओवादी केन्द्रको भोजपुर जिल्ला अध्यक्ष हुँदै २०७४ सालमा केन्द्रीय सदस्य बन्नुभयो । २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य हुनुभएका किराँती  अहिले माओवादी केन्द्रमा आबद्ध हुनुहुन्छ । २०६४ सालको संविधान सभा सदस्य चुनावमा नेकपा माओवादीको तर्फबाट भोजपुर २ बाट निर्वाचित हुनुभएका उहाँले संविधान निर्माणमा भूमिका निर्वाह गर्नुभएको थियो । यस्तै २०७४ सालमा सङ्घीय संसद् प्रतिनिधि सभा सदस्य चुनावमा भोजपुरबाट निर्वाचित उहाँ अहिले अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य हुनुहुन्छ । किराँतीले माओवादी आन्दोलनका क्रममा झन्डै नौ वर्ष भूमिगत र २०६१ देखि २०६३ सालसम्म २३ महिना बन्दी जीवन बिताउनुभएको थियो । गएकाे मङ्सिर ४ गते भएकाे चुनावमा उहाँ भाेजपुरबाट निर्वाचित हुनुभएकाे थियाे ।

पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली 

२०४६ सालदेखि कम्युनिस्ट आन्दोलनमा लाग्नुभएको सुशीला श्रीपाली पर्यटन राज्यमन्त्री बन्नुभएको छ । २०५४ सालसम्म भारतमै रहेर माओवादी आन्दोलनमा सहभागी हुनुभएको उहाँ २०५४ भदौदेखि नेपालमै रहेर माओवादी आन्दोलनमा लाग्नुभएको हो । उहाँ अहिले माओवादी केन्द्रीय सदस्य हुनुहुन्छ । २०६८ सालमा दलित आयोगको सदस्य हुनुभएको उहाँ अहिले समानुपातिक सांसद हुनुहुन्छ । 

राप्रपा 

उपप्रधान एवम् ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको जन्म २०२२ सालको भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको हो । उहाँले राजनीतिशास्त्र र इतिहासमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले २०३९ सालदेखि राजनीति सुरु गर्नुभएको हो । उहाँ राप्रपाको विद्यार्थी सङ्गठनको संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । २०४९ र २०५४ सालको चुनावमा उहाँ झापाको गोलधापमा वडाध्यक्ष विजयी हुनुभयो । यस्तै २०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा मनोनित हुनुभएको थियो । २०५६ सालको चुनावमा झापा क्षेत्र नम्बर ३ मा तेस्रो हुनुभएका उहाँ २०७० सालको चुनावमा दोस्रो हुनुभएको थियो । लिङ्देन २०७४ सालको चुनावमा भने झापा क्षेत्र नम्बर ३ बाट विजयी हुनुभयो । २०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य हुनुभएका लिङ्देन २०७० सालमा राप्रपा नेपालको महामन्त्री हुनुभयो । राप्रपाको महामन्त्री रहनुभएका लिङ्देन महाधिवेशनबाट चुनिएर अध्यक्ष हुनुभएको हो । गएकाे मङ्सिर ४ गते भएकाे चुनावमा उहाँ झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएकाे थियाे ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री धुव्रबहादुर प्रधान 

ध्रुवबहादुर प्रधान नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) हुनुहुन्छ । उहाँले नेपाल ओलम्पिक कमिटीको अध्यक्ष पदमा रहेर काम गरिसक्नुभएको छ । उहाँ २०७८ मङ्सिर १५ देखि १७ गतेसम्म काठमाण्डौमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा उपाध्यक्षमा विजयी हुनुभएको हो । गएकाे मङ्सिर ४ गते भएकाे चुनावमा उहाँ नवलपरासी क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएकाे थियाे ।

सहरी विकासमन्त्री विक्रम पाण्डे 

२०१० साल वैशाख १२ गते लमजुङको राइनसमा जन्मिनभएका विक्रम पाण्डे चन्द्रराज र जीवकुमारी पाण्डेका छोरा हुनुहुन्छ । उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका उपाध्यक्ष हुनुहुन्छ । २०४७ सालदेखि राजनीति सुरु गर्नुभएका पाण्डे चितवन जिल्लाको राप्रपाका संस्थापक उपाध्यक्ष हुँदै महामन्त्रीसम्म हुनुभएको हो । राप्रपाका तीन पटक केन्द्रीय सदस्य हुनुभएका उहाँ सह–महामन्त्री र २०७० सालमा महामन्त्री बन्नुभयो । पाण्डेले सुकुम्वासी समस्या समाधान आयोगको अध्यक्ष भएर पनि काम गर्नुभयो । २०५६ र २०६४ सालमा चितवन क्षेत्र नम्बर ५ बाट चुनावमा प्रतिस्पर्धा गर्नभएका उहाँ पराजित हुनुभएको थियो । २०७० सालको चुनावमा भने पाण्डे चितवन क्षेत्र नम्बर १० बाट विजयी हुनुभएको थियो । उहाँ २०७३ सालमा भूमि सुधार मन्त्री बन्नुभएको थियो । उहाँ २०७४ सालमा वन मन्त्री पनि हुनुभएको थियो । पाण्डे निर्माण व्यवसायी र सञ्चार उद्यमी पनि हुनुहुन्छ । उहाँ गएकाे मङ्सिर ४ गते भएकाे चुनावमा चितवन क्षेत्र नम्बर ३ बाट विजयी हुनुभएकाे थियाे ।

ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंह

दीपकबहादुर सिंहले २४ वर्षको उमेरमा नेपाल राष्ट्रिय युवा सङ्घका केन्द्रीय अध्यक्षबाट राजनीतिक यात्रा सुरु गर्नुभएको हो । यसै क्रममा विभिन्न सङ्घ–संस्थामा आबद्ध उहाँ सुरुदेखि नै राप्रपामा आबद्ध हुनुहुन्छ । उहाँ २०५४ सालमा हेटौँडा नगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका उहाँ डोरमणि पौडेलसँग १२ सय मतान्तरले पराजित हुनुभएको थियो । त्यस्तै २०५६ सालको संविधान सभाको चुनावमा समेत राप्रपाबाट उम्मेदवारी दिनुएका सिंह नेकपा एमालेका अनन्तप्रसाद पौडेलसँग झन्डै १३ सय मतान्तरले र २०७० सालको क्षेत्रीय चुनावमा पनि नेकपा एमालेका विरोध खतिवडासँग २२ सय मतान्तरका साथ पराजित हुनुभएको थियो । त्यस्तै २०६३ र २०७४ सालको प्रतिनिधि सभाको चुनावमा सिंह समानुपातिकतर्फका समेत उम्मेदवार बन्नुभएको थियो । यसभन्दा अघि पाँच वटा चुनावमा सहभागी भइसक्नुभएका सिंह गएको पालिका चुनावमा हेटौँडाको मेयर पदमा उम्मेदवार हुनुहुन्थ्यो । गएकाे मङ्सिर ४ गते भएकाे चुनावमा उहाँ मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी हुनुभएकाे थियाे ।

राष्ट्रिय स्वतन्त्र पार्टी

शिक्षा मन्त्री शिशिर खनाल

लामो समयदेखि सार्वजनिक शिक्षा सुधारका अभियन्ता शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्नुभएको छ  । राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञताका आधारमा मन्त्रालयको बाँडफाँट गर्ने निर्णयसँगै खनाल शिक्षा मन्त्री बन्ने अनुमान गरिएको थियो । भर्खरै सम्पन्न प्रतिनिधि सभाको चुनावमा काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचित उहाँले एमालेका सर्वेन्द्र खनाल र कांग्रेसका भीमसेनदास प्रधानलाई हराउँदै पहिलो पटक संसदमा प्रवेश गर्नुभएको हो । खनाल शैक्षिक अभियन्ता, उद्यमी र सार्वजनिक नीतिको विशेषज्ञका रूपमा परिचित हुनुहुन्छ । उहाँले सामुदायिक शिक्षा विकासका निम्ति विश्वका विभिन्न देशमा काम गरेर लामो अनुभव बटुल्नुभएको छ । सिद्धार्थ वनस्थलीबाट एसएलसी र त्रि–चन्द्र कलेजबाट आईएस्सी गर्नुभएका खनालले अमेरिकाबाट राजनीतिक अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले अमेरिकाबाट फर्किएपछि नेपालको शैक्षिक क्षेत्रमा सबैभन्दा प्रभावकारी काम गर्न सफल ‘टिच फर नेपाल’को स्थापना गर्नुभयो । सरकारी विद्यालयमा अध्ययन गर्ने ५० हजारभन्दा बढी विद्यार्थीमा गुणस्तरीय शिक्षाको पहुँच निर्माणमा पनि उहाँको योगदान रहेको छ । यसअघि खनालले तुलसीपुर उप–महानगरपालिकाको शिक्षा सल्लाहकार भएरसमेत काम गर्नुभएको छ । उहाँ गएकाे मङ्सिर ४ गते भएकाे चुनावमा काठमाण्डाै निर्वाचन क्षेत्र नम्बर ६ बाट विजयी हुनुभएकाे थियाे ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले पार्टी स्थापना गर्नेदेखि सङ्गठन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ । धादिङमा निम्न परिवारमा जन्मिनुभएका अर्यालले शिक्षा, पर्यटन, वैदेशिक अध्ययन, सहकारी र रेमिटेन्सको क्षेत्रमा लामो समय काम गरिसक्नुभएको छ । पछिल्लो समय पर्यटन उद्योग, रेमिटेन्स सेवा र समाज सेवामा सक्रिय अर्याल समानुपातिक सूचीबाट सङ्घीय सांसद बन्नुभएको हो । यसअघि राजनीतिमा नजोडिनुभएएका अर्याललाई पार्टीले श्रम मन्त्रीको जिम्मेवारी दिएको छ ।

स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की 

डाक्टर तोसिमा कार्की पेसाले एक जनरल सर्जन हुनुहुन्छ । ललितपुरकी कार्कीले पाटन स्वास्थ्य प्रतिष्ठान र किस्ट कलेजमा जनरल सर्जनको रूपमा काम गरिसक्नुभएको छ । उहाँ नेपाली डाक्टरहरूको समाज (डीओएसएन) को पूर्व महासचिव पनि हुनुहुन्छ । कार्की गएकाे मङ्सिर ४ गतेकाे चुनावमा ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया