हिमपात नहुँदा सेताम्मे हिमाल बने कालाे पहाड

 माघ १०, २०७९ मंगलबार १८:४१:३० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – मङ्सिरको अन्तिम हप्तादेखि माघको अन्त्यसम्म सेताम्मे देखिने ताप्लेजुङका हिमाल यस सिजनमा कालाे पहाड बनेका छन् । यस वर्ष माघको दोस्रो हप्तासम्म हिमाली क्षेत्रमा हिउँ नपर्दा सेताम्मे हुने हिमालहरु नाङ्गा डाँडा जस्तै भएका छन् ।

फक्ताङलुङ गाउँपालिका–१ सवादिनका ६० वर्षीय विद्या खड्काले जीवनमा यस्तो साह्रै हिउँ नपरेर हिमाली डाडाँहरु नाङ्गिएको पहिलो पटक अनुभव गरेको बताउनुभयो । हिमाल काला पहाड बन्न थालेकामा रविकला माविका अवकाशप्राप्त प्रधानाध्यापक खड्का चिन्तित हुँदै यही अवस्था रहे हिमालको स्वरुप नै बदलिनेमा चिन्ता व्यक्त गर्नुहुन्छ ।

गएको वर्ष तीनदेखि चार फिटसम्म हिउँ परेको ताप्लेजुङका हिमाली गाउँहरुमा यतिबेला माघको दोेस्रो हप्तासम्म पनि हिउँ परेको छैन । गएको वर्ष सदरमुकाम नजिकै रहेको सुकेटरसम्म आएको हिमपात हिमाली गाउँहरु घुन्सा, याङ्मा तथा ओलाङचुङगोलामा समेत परेको छैन ।

‘यतिबेला सिँगो ताप्लेजुङका हिमाली भेगहरु हिउँले ढपक्क ढाकिनुपर्ने हो, तर अवस्था त्यस्तो छैन, हिउँ पर्ने छाँटकाँट छैन, हिमालका डाँडाहरू उजाड र फुस्रा देखिन थालेका छन्,’ खड्काले बताउनु भयो ।

पछिल्ला वर्षमा हिमपात हुने समय नै परिवर्तन भएको छ । पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने गरेको छ । गएको वर्ष मंसिरको अन्तिम हप्ता नै पहिलो पटक हिमपात भएपछि ताप्लेजुङको सुकेटर, पाथीभरा क्षेत्रमा हिउँ खेल्न जानेको भिड लागेको थियो । 

हिमपात नभएकै कारण देशको प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थ यात्रीहरु आइरहेको पाथीभरा फेदी होटल व्यवसायी महासंघका अध्यक्ष ईन्द्रनारायण भट्टराईले बताउनुभयो । 

हिउँ नपरेका कारण पाथीभरा क्षेत्रमा आगलागीसमेत भएको छ । यो समय चारदेखि पाँच फिटसम्म हिउँ पर्ने गरेको थियो । तर, यस वर्ष हिमपात नभएका करण पाथीभरा क्षेत्रमा आगलागीको घटना बढेको पाथीभरा फेदीमा होटल चलाउने रत्न कार्कीले बताउनुभयो ।

 

अहिले समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल पहाडजस्ता देखिन थालेको र जङ्गली फूलमासमेत त्यसको प्रभाव देखिएको कञ्चनजंघा संरक्षण क्षेत्रका अध्यक्ष खगेन्द्र फेम्बुले बताउनुभयो । 

हिउँ परेर ढाक्दा सबै जमिन समेत रसिलो हुने र हिउँ परेपछि मौसम खुल्ने गर्थ्याे । तर, अहिले दिनहुँ हुस्सु मात्रै छ । हिमाल पनि हिउँ विहीन देखिन थालेका छन् । मौसम यसरी नै बिग्रँदै जाने हो भने हिउँदमा हिमपात नै नहुने तथा अन्नबालीमा समेत प्रभाव पर्ने स्थानीय फुङलिङ नगरपालिका–६ का ८४ वर्षीय श्यमलाल आचार्यले बताउनुभयो ।

अहिले लगाएको विभिन्न बालीसमेत किरा लागेर र सुक्खा भएर त्यसै मरेको स्थानीयवासी कृषकहरु बताउँछन् । जिल्लाको वरिपरि देखिने जललले डाँडा, मानाभार, पाथीभरा लगायतका हिउँ पर्ने डाँडाहरु काला पहाड झैँ देखिएका छन् ।

हिउँ नपरेकाले आलु, गहुँ, फापर साथै हिमाली क्षेत्रमा पाइने जडीबुटीलाई समेत असर परेको स्थानीय हिमाली क्षेत्रका बासिन्दाहरु बताउँछन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया