मेची राजमार्गले सुकुम्बासी बनाउने भयो भन्दै स्थानीयवासी आन्दोलित

 माघ १३, २०७९ शुक्रबार २०:३:५ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटरसम्म जोड्ने मेची राजमार्ग अन्तर्गत ताप्लेजुङको फुङलिङ बजार क्षेत्र भित्रको बाटो दायाँ बायाँ १५/१५ मिटर विस्तार हुने भएपछि बजारवासी आन्दोलित भएका छन् ।

राजमार्गले आफ्नो सबै घर भत्काउनु पर्ने अवस्था आउने भएको र आफूहरू घरबारविहीन हुने भन्दै बजारवासीले वैकल्पिक बाटो निर्माणको लागि पहल गरिदिन समेत नगरपालिकामार्फत अनुरोध गरेका छन् ।

बजारकाे बीचबाट मेची राजमार्गलाई फराकिलो बनाउने हो, भने स्थानीय बजारवासीको कुनै पनि घर नरहने भएकाले विरोध गर्नु परेको स्थानीय खेमराज केसीले बताउनुभयो । राजमार्ग बजार क्षेत्रभन्दा अन्यत्रबाट निर्माण गर्नुपर्ने माग आफूहरूको रहेको केसीको भनाइ छ ।

बजारकाे बीचबाट राजमार्ग विस्तार भयाे भने बजार क्षेत्रका २ सयभन्दा बढी घरहरु  सकिने भएकाले स्थानीयहरु आन्दोलनमा उत्रिएको बताउछन् । 

राजमार्ग विस्तार गर्दा बजार क्षेत्रका घरमा क्षति नपुर्‍याइ विस्तार गर्नुपर्ने, १५/१५ मिटर भनेका ठाउँमा ६/६ मिटर गरेर विस्तार गरे धेरै क्षति नहुने उद्योग वाणिज्य ताप्लेजङका अध्यक्ष समेत रहेको स्थानीय नारायण थापाले बताउनुभयो ।

उता, युवा उद्यमी तथा सोही राजमार्गको आडमा रहेको स्नोलियो पार्ट होटलका प्रोपाईटर खगेन्द्र फेम्बुले अहिले जस्तो छ सोही अवस्थामा सडक रहनु पर्ने र राजमार्गलाई अन्यत्रबाट घुमाएर लौजानु पर्ने तर्क गर्नु भएकाे छ । 

सडक डिभिजन कार्यालय इलामले सडकको दायाँ बायाँ १५/१५ मिटरका दरले बजार क्षेत्र खाली गर्न ३५ दिने सूचना जारी गरे सँगै बजार क्षेत्रका स्थायी तथा अस्थायी घर भएका स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । सडक विस्तार हुँदा अहिले रहेका बजार क्षेत्रका करिब २ सय घरपरिवार विस्थापित हुने बताइएको छ ।

इलाम डिभिजन सडक कार्यालयका प्रमुख विदुर पोखरेलले बजार क्षेत्रमा बाटो अत्यन्तै साँघुरो र राजमार्गकाे नियम अनुसारको बनाउन लागि सूचना निकालेको बताउनुभयो । योजना प्रमुख पोखरेलले बजार क्षेत्र मेची राजमार्गसमेत भएका कारण सडकको केन्द्र भागबाट १५/१५ मिटर दाँया बाँया खाली गर्ने पनि बताउनुभयो ।

कसरी भयो मेची राजमार्ग निर्माण ?

करिब ४० वर्ष अगाडि अर्थात् २०४० सालमा राजा वीरेन्द्र ताप्लेजुङमा सवारी भएका बेला झापाको चारआलीदेखि ताप्लेजुङसम्म मेची राजमार्ग बनाउने आदेश भयाे । आदेश बमाेजिम मेची राजमार्ग बनाउने भनी राजाको आदेशसँगै राजमार्गको काम सुरु भएको जानकारहरु बताउँछन् ।

मेची राजमार्ग सुरु गर्ने र तत्काल बनाउन हुकुम दिएपछि चार वर्षपछि अर्थात २०४४ सालमा फेरि ताप्लेजुङ सवार हुने योजना बन्यो । राजा सवार हुने हल्ला चलेपछि बाटोको ठेक्का पाएका ठेकेदारहरु आत्तिए ।

ठेक्का पाएर पनि काम गर्न नसकेपछि आत्तिएका ठेकेदार तथा सम्बन्धित मन्त्रीहरुले तत्कालै रातारात मेची राजमार्गकाे ट्रयाक खाेल्ने काम गरे । त्यसको केही दिनपछि भ्रमणमा आएका राजा वीरेन्द्रले राजमार्गको निरीक्षण गर्नु भएको जिल्लाका जानकारहरु बताउँछन् । त्यसपछि सुरु भएको मेची राजमार्ग कहिले कायम भयो थाहा नभएकोसमेत स्थानीयवासी बताउँछन् । 

स्थानीयले तिर्छन् मालपोत 

मेची राजमार्ग अन्तर्गत कालोपत्रे भएको धेरैजसाे ठाउँकाे स्थानीयले मालपोत  तिर्ने गरेका छन् । मेची राजमार्गको ताप्लेजुङ खण्ड काबेलीदेखि सुकेटरसम्मका हजारौँ कित्ताहरुका स्थानीयवासीले राजश्व तिर्ने गरेको बताउँछन् ।

अहिले मुआब्जा खाएर सडकको नाममा दिइएका २७ कित्ता बाहेक अन्य हजारौँ कित्ताहरु सरकारले मुआब्जा दिएर सडकमा लौजानु पर्ने भए पनि अहिलेसम्म स्थानीयवासीलाई सडक क्षेत्रको समेत राजश्व तिराइ रहेको स्थानीयवासीको गुनासो छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया