हिउँदे वर्षा नहुँदा बाली उत्पादनमा असर, सरकारले सिफारिस गरेका बाली नै जाेखिममा

 माघ १७, २०७९ मंगलबार ८:७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यसवर्षको हिउँदमा अहिलेसम्म पनि पानी नपरेका कारण हिउँदे बालीको उत्पादनमा असर पर्ने भएको छ । गएको वर्ष मंसिर, पुस र माघमा आवश्यक वर्षा भएकाले उत्पादनमा खासै समस्या भएको थिएन । तर यस वर्ष केही ठाउँमा छिटपुट वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात बाहेक जमिन भिज्ने गरी पानी परेको छैन ।

मध्यमाघ सकिँदा पनि पानी नपरेपछि गहुँ, तोरी, हिउँदे मकै तथा फलफूलको उत्पादनमा असर पर्ने देखिएको नार्कको योजना महाशाखाका प्रमुख एवम् वरिष्ठ वैज्ञानिक टेकप्रसाद गोतामेले बताउनुभयो । उहाँका अनुसार सुक्खापन र खडेरी बढ्दै जाने हो भने कृषि उत्पादनमा दीर्घकालीन असर देखिनेछ । यो बेला सिँचाइ नभएका क्षेत्रमा गहुँ तथा तोरी र तरकारी/फलफूल राम्रो उत्पादन नहुने हुँदा यसले समग्र किसानको आयआर्जन नै घट्ने देखिएको छ ।

त्यस्तै आउँदा दिनमा सरकारले सिफारिस गरेका बालीका जातहरु नै उत्पादन अनुकूल नहुने जोखिम समेत बढेको छ । यसबाट किसानले खेती नै गर्न नसक्ने अवस्थातर्फ जाने चिन्ता बढेको वरिष्ठ वैज्ञानिक गोतामेको भनाइ छ । ‘माघ महिनाभित्र केही मात्रा भए पनि पानी परे त्यति धेरै नोक्सानी नहोला' उहाँले भन्नुभयो, 'तर यस्तै अवस्था रहे र हिउँदे वर्षा नभए जोखिम उच्च हुनेछ ।’ कृषि विज्ञका अनुसार गहुँको राम्रो उत्पादन लिनका लागि छरेदेखि काट्दासम्म कम्तीमा पनि तीन पटक सिँचाइ गर्नुपर्छ । तर आकाशे पानीको भरमा रहेका किसानहरू एक पटक पनि पानी नपरेपछि चिन्तित छन् ।

गहुँ तथा तरकारी बाली सुक्न थालेको छ । सुक्खा हुँदा हिउँदे फलफूल ओखर, स्याउ जस्ता नगदेबाली पनि प्रभावित भएका छन् । बालीमा रोगकिराको जोखिम पनि बढेको छ । बदलिँदो मौसमको कारण देशका विभिन्न ठाउँमा गहुँमा लाग्ने सिन्दुरे रोग देखापर्न थालेको छ । यसको व्यवस्थापनको लागि ढुसीनाशक विषादी प्रयोग गर्न कृषि विज्ञको आग्रह छ । अरहर तथा चना बालीको कोसामा लाग्ने गवारो कीरा देखिने हुँदा यसको पनि व्यवस्थापनमा ध्यान दिन विज्ञको सुझाव छ ।

गएको वर्ष कुल खेती गरिएको क्षेत्रफलमध्ये ४२ प्रतिशत जग्गामा मात्रै सिँचाइ सुविधा पुगेको छ । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गएकाे वर्ष देशभर २९ लाख १७ हजार ४०२ हेक्टर जमिनमा मात्रै खेती भएको थियो । त्यसमध्ये १२ लाख २६ हजार ५५६ हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

कुलो, नहर, पोखरी, बोरिङ, थोपा सिँचाइ जस्ता माध्यमबाट जमिनमा सिँचाइ हुने गरेको छ । देशभर ३६ लाख ८१ हजार ९६४ हेक्टर खेतीयोग्य जग्गा रहेको राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया