प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्व...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा झन्डै चार लाख श्रमिक समेटिएका छन् । अहिलेसम्म योजनामा सूचीकृत हुने श्रमिकको सङ्ख्या तीन लाख ९१ हजार एक सय ५६ पुगेको सामाजिक सुरक्षा कोषले जनाएको छ । १७ हजार छ सय ४६ रोजगारदाता पनि कोषमा समावेश भएका छन् ।
कोषमा सबैभन्दा बढी बाग्मती प्रदेशबाट दुई लाख ९९ हजार आठ सय ३५, प्रदेश नम्बर १ बाट ३८ हजार आठ सय ४९, मधेसबाट २१ हजार ५६, गण्डकीबाट १४ हजार आठ सय ९३, लुम्बिनीबाट १३ हजार नौ सय ६७, सुदूरपश्चिमबाट एक हजार पाँच सय तीन र कर्णालीबाट एक हजार एक सय ८५ श्रमिक सूचीकृत भएका छन् ।
कोषले अहिलेसम्म २९ अर्ब १२ करोड रुपैयाँ योगदान रकम सङ्कलन गरेको छ । सरकारले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको थियो । कोषले २०७६ साउनदेखि योगदान रकम सङ्कलन गर्न थालेको थियो ।
योगदान रकम सङ्कलन गरेको तीन महिनापछि कोषले योगदानकर्तालाई विभिन्न सुरक्षा योजनाअन्तर्गत सुविधा दिन थालेको थियो । कोषले योगदानकर्तालाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ ।
कोषले अहिलेसम्म तीन खर्ब ३१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषमा आबद्ध भएकामध्ये ६० हजार छ सय १६ जनाले लाभ लिएका छन् । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत ३७ करोड ३१ लाख ८६ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत ४४ करोड २१ लाख १५ हजार, आश्रित परिवार सुरक्षा योजनाबापत ५८ करोड ५३ लाख ५८ हजार र वृद्धावस्था सुरक्षा योजनाबापत दुई अर्ब ७९ करोड ४४ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
घातक रोगको उपचार गर्न योगदानकर्तालाई १० लाख
कोषले १० घातक रोगको उपचार गर्न योगदानकर्तालाई सेवा अवधिभर १० लाख रुपैयाँसम्मको उपचार खर्च उपलब्ध गराउन थालेको छ । घातक रोगको औषधि उपचार सुरक्षा योजनाअन्तर्गत कोषमा कम्तीमा दुई वर्ष योगदान गर्ने व्यक्तिले यस्तो सुविधा पाउनेछन् ।
कोरोनरी आर्टरी बाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्काघात, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया र हेमोफेलिया वा थालासेमिया रोगका लागि सेवा अवधिभरमा १० लाख रुपैयाँसम्मको उपचार खर्च कोषले बेहाेर्ने प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो ।
यो सुविधा कोषमा योगदान गर्न छाडेको दुई वर्षसम्म र योगदानकर्ताले निवृत्तिभरण प्रारम्भ भएको सात वर्षसम्म उपयोग गर्न सकिने कोषले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।