रास्वपालाई सरकारमा फर्काउने तयारी, रिक्त मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने

 माघ २३, २०७९ सोमबार ७:३३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई फेरि सरकारमा फर्काउन सत्तारुढ अरु दलहरुले तयारी गरेका छन् ।

सत्तारुढ मुख्य दलहरु एमाले, माओवादी र राप्रपाका नेताहरुले रास्वपालाई फेरि सरकारमै फर्काउने गरी अनौपचारिक छलफल भइरहेको बताएका छन् । हिजो संसद् बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सत्तारुढ गठबन्धन जोगाउन प्रयास भइरहेको बताउनुभएको थियो । गृह मन्त्रालयको विवादले सरकार गठनको ४२ दिनमा हिजो रास्वपा सरकारबाट बाहिरिएको हो ।

सरकारबाट बाहिरिए पनि उसले सरकारलाई दिएको समर्थन कायमै राखेको छ । रास्वपा बाहिरिएपछि रिक्त रहेको मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नगर्ने र आफैँले जिम्मेवारी सम्हाल्ने प्रधानमन्त्रीको योजना छ । गएको पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका पुष्पकमल दाहाल प्रचण्डले भोलिपल्ट ११ गते उपप्रधान र गृहमन्त्रीको जिम्मेवारी दिएर रास्वपालाई सरकारमा गराउनुभएको थियो । त्यतिबेला रास्वपाका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

माघ ३ गते मन्त्रिपरिषद् विस्तार हुँदा रास्वपाबाट दुई मन्त्री र एक राज्य मन्त्री थपिएका थिए । पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेका लामिछानेको पद नागरिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलाले खारेज भएको थियो ।

अमेरिकी नागरिकता त्यागेर नेपालको नागरिकता पुनः लिने प्रक्रिया पूरा नगरेको सर्वोच्चको ठहरपछि लामिछाने प्रक्रिया पुर्याएर फेरि नेपाली नागरिकता लिएर पार्टी सभापतिमा फर्कनुभयो । त्यसपछि रास्वपाले सरकार गठनअघि साझेदार दलहरूबीच भएको सहमतिअनुसार आफ्नै पार्टीले गृह मन्त्रालय पाउनुपर्ने अडान राख्यो ।

फेरि गृह मन्त्रालयमा फर्कने योजनाका साथ लामिछानेले प्रधानमन्त्री प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका अध्यक्षसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर भेटवार्ता गर्नुभएको थियो । तर, प्रधानमन्त्रीले सर्वोच्चको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय दिन नसकिने बताएपछि रास्वपा सरकारबाट बाहिरिएको हो । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया