सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै, मत नदिने नागरिक उन्मुक्तिकाे अडान कायमै

 माघ २५, २०७९ बुधबार ७:५५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिँदै हुनुहुन्छ ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार गएको पुष २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका रावलले आज विश्वासको मत लिन लाग्नुभएको हो ।

संवैधानिक व्यवस्था अनुसार उहाँले नियुक्त भएको ३० दिन अर्थात् भोलिसम्ममा विश्वासको मत लिइसक्नुपर्छ ।

आज मुख्यमन्त्रीले विश्वासको मत लिन बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान कायमै राखेका कारण मुख्यमन्त्री रावललाई समस्या रहेको छ ।

रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यार्थी झिकाउने आदेश गरेसँगै नागरिक उन्मुक्ति पार्टीले आफूलाई विश्वासको मत दिने मुख्यमन्त्री रावलको विश्वास रहेको भएपनि नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान कायमै राखेको छ ।

५३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्छ । नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा मुख्यमन्त्री रावल अल्पमतमा पर्ने निश्चित छ ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् ।

एमाले नेता रावल माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

एमाले, माओवादी केन्द्रसहितका दल मिलेर बनेको सत्ता गठबन्धनका प्रधानमन्त्रीसहित अन्य मुख्यमन्त्रीले विश्वासको मत पाए पनि रावल भने संकटमै हुनुहुन्छ ।  
 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया