५ किलोमिटर टाढाको बैंकबाट भत्ता लिएर फर्कँदा वृद्धाको ज्यान गयो

 माघ २६, २०७९ बिहिबार १०:४२:५३ | डीबी बिष्ट
unn.prixa.net

प्रतीकात्मक तस्बिर

बझाङ - सामाजिक सुरक्षा भत्ता लिन गएकी छविसपाथिभेरा गाउँपालिका वडा नम्बर १ की ७२ वर्षीया वृद्धा सीता गिरीकाे हिजाे बाटाेमै ज्यान गयाे । घरबाट ५ किलाेमिटर टाढा रहेकाे कुमारी बैंकबाट भत्ता लिएर घर फर्किँदै गर्दा एकल महिला गिरीकाे  बाटाेमै ज्यान गएकाे हाे । उहाँ दमकाे बिरामी हुनुहुन्थ्याे ।

याे त प्रतिनिधि घटना मात्रै हाे । सरकारले बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेपछि दुर्गम जिल्लाका नागरिकलाई निक्कै सास्ती हुने गरेकाे छ । विशेषत वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, बेसहारा, हिँडडुल गर्न नसक्नेहरुले लागि घरमा नै पुगेर भत्ता दिने व्यवस्था नहुँदा निक्कै दु:ख पाउने गरेका छन् । 

भत्ताका लागि लामो समय बैंकमा लाइन बस्नुपर्ने, कहिले इन्टरनेटले काम नगर्दा यत्तिकै फर्किन गर्ने बाध्यता रहेकाे उनीहरु बताउँछन् । गाउँपालिकाले घरघरमा पुगेर भत्ता वितरण गर्न सके वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, एकल महिला हिँडडुल गर्न नसक्नेहरुलाई सहज हुने उनीहरुकाे बुझाइ छ । 

स्थानीय शिवजला भण्डारी भन्नुहुन्छ, 'पालिकामा गएर पनि तत्काल काम हुँदैन । एक/दुई दिन कुर्नुपर्छ । स्थानीय सरकार आएपछि सहज होला भन्ने सोचेकी थिएँ  । तर झन् समस्या भएको छ । पहिला घरमै आएर भत्ता दिने गरेका थिए । अहिले बैंकमा नै पुगेर भत्ता ल्याउनु पर्छ । बाटो पनि निकै अप्ठ्याराे छ । उमेर ढल्केका हामीहरु हिँडडुल गर्न सक्दैनौँ । सकी नसकी  भत्ता बुझ्न जानुपर्छ । बैंकमा कतिबेला के हुने हो त्याे जानकारीसम्म पनि हुँदैन ।' घरमा नै वा आफन्तहरुको हातमा सहज तरिकाले भत्ता उपलब्ध गराइ दिने व्यवस्था भए सजिलाे हुने उहाँ बताउनुहुन्छ ।

छविसपाथिभेरा गाउँपालिकामा मात्रै नभएर बझाङका १२ वटै पालिकामा यही समस्या रहेकाे छ । छविसपाथिभेरा गाउँपालिका-१ का वडा अध्यक्ष करनजंग बहादुर सिंह भने हिँडडुल गर्न नसक्ने, अपाङ्गता भएका व्यक्ति तथा एकल महिला वृद्धवृद्धाहरुका लागि इच्छाइएको व्यक्तिले नै भत्ता बुझ्न सक्ने व्यवस्था गाउँपालिकाले गरेकाे दाबी गर्नुहुन्छ ।

तर ज्यान गुमाएकी गिरीकाे आफन्त काेही नभएकाे र भत्ता बुझ्नका लागि इच्छाइएकाे व्यक्तिकाे परिचयपत्र नभएकाले आफैँ जानुपर्ने अवस्थाका कारण यस्तो भएको उहाँले बताउनु भयाे । घरमा कोही पनि नभएका व्यक्तिहरुकाे हकमा पालिकाले फेरि अर्को निर्णय गरेर सहज तरिकाले भत्ता उपलब्ध गराउने व्यवस्था गर्ने उहाँले बताउनुभयाे । 

छविसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गगन बहादुर ऐडीले वृद्धा महिलाकाे ज्यान के कारणले गयाे भन्नेबारे जानकारी नभएकाे बताउनु भयाे । उहाँले सामाजिक सुरक्षा भत्ता सहज तरिकाले उपलब्ध गराउनका लागि छिट्टै छलफल गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया