मध्यपहाडी लोकमार्ग : १२ वर्षमा पनि सकिएन मन्ता भिर काट्ने काम

 माघ २६, २०७९ बिहीबार १३:१४:४६ | रासस
unn.prixa.net

तस्बिर : रासस

जाजरकाेट - जाजरकोट खण्डभित्र पर्ने मन्ता भिर काट्न ढिला हुँदा मध्यपहाडी लोकमार्गअन्तर्गतको जाजरकोट खण्ड अधुरै  छ । प्रायजसाे ट्रयाक खोलिसकेको अवस्थामा मन्ता भिर काट्ने काम जारी छ । जाजरकोटको छेडागाड नगरपालिकाभित्र पर्ने मन्ता भिर काट्न थालेको १२ वर्ष बितेको छ । अझै पूरा हुनसकेको छैन । 

भिर काट्ने जिम्मा लिएका निर्माण व्यवसायी र आयोजनाले एकअर्कालाई आरोप लगाउँदै आएका छन् । सबै ठाउँमा कालोपत्रको कामसँगसँगै भइरहेको छ । तर कालोपत्र गरिएका प्रायजसाे ठाउँमा उप्किएको छ। मापदण्डअनुसार निर्माण सामग्री प्रयोग नगर्दा सडक बनाउँदै भत्किने क्रम जारी छ । 

मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड निर्माण सुरु भएको १२ वर्ष बितेको छ । झार्पा र कार्कीगाउँ बीचको मन्ता भिरमा सडक निर्माण सम्पन्न नहुँदा समस्या भएको छ । कुदुबाट सुयाडासम्मको ८२ किमी सडक खुलिसकेको छ । मन्ता भिरको पाँच सय मिटर चट्टान अझै फुटाउन सकिएको छैन । 

लोकमार्गको जाजरकोट भेरी नगरपालिका–१३ कुदुबाट स्याउली बजारसम्म कालोपत्र पूरा भए पनि फेरी उप्किन थालेको छ ।  निर्माण व्यवसायीले भत्किएको सडक मर्मतमा ध्यान नदिएको स्थानीय भविलाल शाहीको आरोप छ । जगतीपुरबाट स्याउली बजारसम्मको प्रायजसाे सडक भत्किएको छ । 

निर्माण व्यवसायी कम्पनी सिंह एण्ड ब्रदर्सका विश्वास उप्रेतीले १७ किलोमिटर सडक पूर्णरूपमा सम्पन्न भएको बताउनुभयो । स्याउलीबाट कार्कीगाउँसम्मको १७ किलोमिटर सडक कालोपत्र जारी छ । कार्कीगाउँबाट थलहसम्मको २० किलोमिटर सडकमा पनि काम भइरहेको छ । थलहबाट दैलेखको सिमानासम्म २९ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । 

भत्किएको सडक बनाउन पहल नभएको स्थानीय कमल शाहीले बताउनुभयो । निर्माण कम्पनीका प्रतिनिधि उप्रेतीले भने आयोजनाबाट रकम नपाएका कारण काम गर्न गाह्रो भएको बताउनुभयो । आयोजनाका प्रमुख युवराज पोखरेलले निर्माण कम्पनीले बदमासी गरेको आरोप लगाउनुभयो । 

दश वर्षदेखि पुल नबनाउनेलाई जरिबाना

ठेक्का लिएको १० वर्षसम्म पुल नबनाउने ठेकेदार कम्पनीलाई सरकारले साढे आठ करोड रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ । मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय दैलेखले मध्यपहाडी सडकअन्तर्गत जाजरकोट र रुकुमपश्चिम जोड्ने भेरी नदीमा पुल बनाउने जिम्मा लिएको वाईपी कन्स्ट्रक्सन प्रालिलाई जरिबाना तिराउने भएको हो ।

निर्देशनालयले सूचना जारी गर्दै निर्माण व्यवसायीलाई ठेक्का सम्झौताअनुसार काम नगरेको आठ करोड रुपैयाँ दाखिला गराउन निर्देशन दिएको छ । वाईपी कन्स्ट्रक्सनले रुकुम–जाजरकोट जोड्ने भेरी नदीमा पुल निर्माण अधुरै छाडेको थियो । निर्देशनालयले पटक–पटक ताकेता गर्दा पनि निर्माण गर्न अटेर गरेपछि गएकाे मङ्सिर २९ गतेको विभागीय निर्णयानुसार ठेक्का सम्झौता रद्द गरिएको हो । कम्पनीले २०६९ सालमा ठेक्का सम्झौता गरेको थियो । 

जाजरकोटको भेरी नगरपालिका र रुकुमको चौरजहारी नगरपालिका जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण १० वर्षदेखि अधुरै थियो । पुलका दुई पिलर मात्र निर्माण गरेर निर्माण कम्पनीले काम छाडेको थियो  । तीन वर्षमा काम सम्पन्न गर्ने गरी १८ करोड रुपैयाँ लागत अनुमानको  ठेक्का वाईपी कन्स्ट्रक्सनका राजु श्रेष्ठले १४ करोड रुपैयाँमा ठेक्का सम्झौता गर्नुभएको थियो ।

ठेक्का सम्झौताको १० वर्ष बित्दासमेत काम नगरेपछि सम्झौता गएकाे मङ्सिरमा तोडिएको हो । पुल नबन्दा सडक आयोजनाको स्तरोन्नति र कालोपत्रको कामसमेत प्रभावित भएको आयोजनाले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया