बाँदर खानेकुरा खोज्न राजमार्गमा

 माघ २९, २०७९ आइतबार १४:५४:१० | रासस
unn.prixa.net

फाइल फाेटाे

सर्लाही – पूर्व पश्चिम राजमार्गको पथलैयादेखि बर्दिवाससम्मको सडक छेउमा यतिबेला बाँदर छ्यापछ्याप्ती देखिन्छन् । जङ्गलमा पाइने खानेकुरा खाएर बाँच्दै आएका बाँदर पछिल्लो समय बस्ती र राजमार्ग छेउमा खानेकुराको खोजीमा देखिन्छन् ।

मौसमअनुसारका फलफूल र कन्दमूल खान नपाएपछि यात्रुले खान दिने आशमा बाँदर राजमार्गको छेउमा देखिएका हुन् । राजमार्गमा यात्रा गर्ने कतिपय मानिसले बिस्कुट, पाउरोटी चाउचाउ, फलफूल, मुरहीलगायत खानेकुरा दिने गरेकाले बाँदर कन्दमूल खोज्न छाडेर राजमार्गमा कुरेर बसेका देखिन्छन् ।

वनमा जामुन, कुसुम, हर्रो, बर्रो, भलायो, खन्यु, कुरिलो, निहुुरो, तरुल, फलफूलजस्ता कन्दमूल मासिँदै गएपछि राजमार्ग र बस्तीमा बाँदर आउन थालेको फुलजोर बाबा सामुदायिक वन समूहका अध्यक्ष पशुपति खड्काले बताउनुभयो । उहाँका अनुसार जङ्गलमा सहजरूपमा खानेकुरा पाउन छाडिएको र राजमार्गमा मानिसले खानेकुरा दिन थालेपछि बाँदरले जङ्गलमा खानेकुरा खोज्न छोडेर राजमार्ग कुर्न थालेका हुन् ।

‘बाँदरका लागि वनमा पर्याप्त खानेकुरा भए पनि बाँदर खोज्न जाँदैनन्’, डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत मन्जुर अहमदले बताउनुभयो । उहाँका अनुसार मानिसले राजमार्गमा बाँदरलाई खानेकुरा दिँदा बाँदरका साथै केही सवारी साधन पनि दुर्घटनामा पर्ने गरेका छन् । झन्डै ५० वर्ष पहिला निर्माण भएको पूर्व–पश्चिम राजमार्गमा अहिलेको सवारी साधनको चापका कारण साँघुरो भएको छ, त्यसमा पनि यात्रीले खानेकुरा दिँदा बाँदरले अचानक बाटो काट्ने, बाटोमा कुद्ने गर्दा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार आफ्ना सवारी साधन रोकेर राजमार्गभन्दा अली टाढा गएर खानेकुरा दिँदा त ठिकै हो तर सवारी साधन गुढिरहेको बेला झ्यालबाट दिइने खानेकुराका कारण बाँदरले बाटो काट्दा कुद्ने सवारी साधनका साथै बाँदर पनि दुर्घटनामा पर्ने गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया