हिउँ र पानी नपर्दा म्याग्दीका २५ ठाउँमा डढेलो

 फागुन १, २०७९ सोमबार १३:३३:४२ | रासस
unn.prixa.net

फाइल फाेटाे

म्याग्दी – समयमै हिउँदे वर्षा नहुँदा र लेकाली क्षेत्रमा हिउँ नपर्दा म्याग्दीका वनैभर डढेलो लागेको छ । म्याग्दी जिल्ला वन डिभिजन कार्यालयका अनुसार जिल्लाका विभिन्न २५ ठाउँमा डढेलो लागेको हो ।  

अन्नपूर्ण गाउँपालिकाका आठमध्ये छ वटा वडाका विभिन्न ठाउँमा अहिले डढेलो लागिरहेको जिल्ला वन अधिकृत चन्द्रमणि सापकोटाले बताउनुभयो । उहाँका अनुसार अहिले आगलागी भएको जिल्लाको धरैजसो भेग हिमपात हुने क्षेत्र हो तर हिमपात र वर्षा नहुँदा सुक्खा बढेर डढेलो लागिरहेको छ । 

अहिले डढेलो लागेका क्षेत्रमध्ये धेरैजसो मानव बस्तीभन्दा टाढाका डाँडाकाँडा हुन् । पश्चिमी म्याग्दीको धवलागिरि गाउँपालिकाको उच्च भेगमा पनि अहिले डढेलोले सताउन थालेको छ । धवलागिरि–४ मुदी भेगको उच्च क्षेत्रमा पनि डढेलो लागिरहेको छ । डढेलोले धेरै नै वन क्षेत्र नोक्सान गरिरहेको वन कार्यालयले जनाएको छ । 

जिल्लाको गुर्जा, मुदी, कुहिने मङ्गले, चिमखोला क्षेत्रमा डढेलो लागिरहेको बताइएको छ । ‘यो याममा अहिलेसम्म कम्तीमा २५ ठाउँमा डढेलो लागिरहेको छ, यो क्रम अझै बढिरहेको छ’, वन अधिकृत सापकोटाले भन्नुभयो, ‘दक्षिणी भेगको जङ्गल दिनहुँ डढेलोले सखाप भइरहेको छ ।’

ती ठाउँमा पोहोर–परार हिउँदमा हिउँ पर्ने गरेकाले चिसोका कारण हत्तपत्त डढेलो लाग्ने गरेको थिएन । वर्षा भइरहे  हत्तपत्त जङ्गलमा आगो लाग्दैनथ्यो तर अहिले भने दिनहुँजसो आगजनीको  खबर आउने गरेको उहाँले जानकारी दिनुभयोे ।

अघिल्ला वर्ष हिउँदताका बाक्लो हिमपात हुने हुँदा बस्तीसम्म हिँडडुल नै सकस हुने गरेकामा पनि यस पटक भने उच्च भेगमा समेत हिउँ नपर्दा सुक्खापन बढेर डढेलो लागेको वन अधिकृत सापकोटाको भनाइ छ । ‘असोजपछि वर्षा नभएको र हिउँ पनि नपर्दा अहिले सुक्खापन बढेको छ’, उहाँले बताउनुभयो, ‘हिउँ पर्ने ठाउँमा मुख्य यामका एक दिन पनि हिउँ परेन । पानी पनि परेको छैन, त्यसैले जमिन सुक्खा बनाएको छ । चिसो कतै देखिन्न ।’

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया