खानेपानी मन्त्रालयले सार्वजनिक गर्‍यो टोल फ्री नम्बर

 फागुन ४, २०७९ बिहीबार १९:१४:१२ | रासस
unn.prixa.net

काठमाण्डौ – खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोल फ्री नम्बर सार्वजनिक गरेको छ । आज बिहीवार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्री नम्बर ११७१ सार्वजनिक गर्नुभएको हो ।

तीन दिन अगाडि परीक्षण गरेको यस टोल फ्री नम्बरमा आज मन्त्री खानले जनकपुरबाट आएको गुनासोको सुनुवाइ गर्दै गुनासो सुनुवाइ एकाइको उद्घाटन गर्नुभएको हो । ‘खानेपानी समस्या समाधान गर्न र उपभोक्ताको गुनासो सुन्न खानेपानी मन्त्रालयले गुनासो कल सेन्टरको स्थापना गरेको हो, हाम्रो टोल फ्री नम्बर ११७१ मा पाइपलाइन फुटेमा वा कतै पानीको लाइन बिग्रिएर खानेपानी नपाएमा उपभोक्ताले सिधै मन्त्रालयमा रहेको कल सेन्टरमा फोन गरेर गुनासो टिपाउन सक्नुहुन्छ’, उहाँले भन्नुभयो ।

मन्त्री खानले हप्तामा एक दिन आफू कल सेन्टरमा बस्ने भन्दै दैनिक चार जना कर्मचारीले उपभोक्ताको गुनासोको सुनुवाइ गर्ने जानकारी दिनुभयो । उहाँले दूरदराजका नागरिकलाई सरकार भएको प्रत्यक्ष अनुभूति दिलाउन मन्त्रालयले गुनासो सुनुवाइ एकाइ स्थापना गरिएको जानकारी दिनुभयो । 

मन्त्री खानले नागरिकको जनजीवनसँग जोडिएको यस खानेपानी मन्त्रालयको काम र कर्तव्यलाई आफ्नो इमानदारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल जलस्रोतको दोस्रो ठूलो देश भए पनि २५ प्रतिशत मानिसले मात्र शुद्ध खानेपानी प्रयोग गर्ने गरेको उहाँको भनाइ थियो ।

उपभोक्ताको गुनासोलगत्तै मन्त्रालयले प्रदेश सरकार, पालिका सरकार र खानेपानी मन्त्रालयअन्तर्गतका कार्यालयसँग समन्वय गरेर समस्या समाधान गर्ने मन्त्रालयका सचिव मणिराम गेलालले बताउनुभयो । गुनासो सुनुवाइ गर्न मन्त्रालयले अधिकृतको नेतृत्वमा चार कर्मचारी खटाएको छ । कार्यालयले समयमा आएको गुनासो तत्काल सम्बोधन गर्नेछन् भने अन्य समयमा रेकर्डमा रहने जनाइएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको टोल फ्री नम्बर ११७१ मा नेपाल टेलिकमका ग्राहकले मात्र गुनासो दर्ता गराउन मिल्ने मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले जानकारी दिनुभयो । एनसेल तथा स्मार्ट टेलिकमसँग समेत कुरा भएको भन्दै छिट्टै एनसेल तथा स्मार्ट टेलिकमका ग्राहकले समेत गुनासो गर्न सक्ने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया