पुरानो गठबन्धन ब्युँताउने तयारी : कांग्रेस र माओवादीले सहमतिको खाका तयार पार्दै

 फागुन ११, २०७९ बिहीबार ७:२७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन दर्ताको समय नजिकिँदै गर्दा प्रमुख दलहरूको सक्रियता बढेको छ ।

कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) बीच पुरानो गठबन्धन ब्युँताउने गरी छलफल भइरहेको छ । सहमतिका लागि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले छलफललाई तीव्र पारेका छन् ।

हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र देउवासहित भएको छलफल सकारात्मक भएको बैठकपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो । उहाँका अनुसार आज पनि छलफल गर्ने र सहमतिको खाका तयार पार्ने तयारी छ ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटअघि कांग्रेस सभापति देउवाले हिजो एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग राष्ट्रपतिको चुनाव तथा उम्मेदवारवारे छलफल गर्नुभएको थियो ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको माओवादीले कांग्रेसलाई सघाउने सङ्केत गरेको छ । गएको पुस १० गते भएको समझदारीअनुसार नै राष्ट्रपति पद आफूले पाउनुपर्ने अडान राख्दै आएको अहिलेको सत्ता साझेदार दल एमालेले लचक भएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेको छ । यसबारेमा हिजो प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राष्ट्रपति चुनावको विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निरन्तर छलफल भइरहेको बताउनुभएको छ । उम्मेदवार कसलाई बनाउने, राष्ट्रिय सहमति कायम गर्ने विषयमा छलफल कसरी अघि बढाउने भन्ने सन्दर्भमा हिजो छलफल भए पनि निष्कर्ष नआएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच एकीकृत समाजवादीले राष्ट्रपतिको विषयमा सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ । राष्ट्रपति चुनावका लागि हिजो निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरिसकेको छ भने पर्सि शनिवार मनोनयन दर्ता हुनेछ । आउँदो २५ गते राष्ट्रपति चयनका लागि मतदान हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आउँदो २८ गते सकिँदैछ । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया