संविधानको संरक्षण र राष्ट्रियताको संवर्द्धनमा सचेत छु : रामचन्द्र पौडेल

 फागुन १३, २०७९ शनिबार १२:२४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण र राष्ट्रियताको संवर्द्धन गर्ने अभिभाराका लागि आफू सचेत रहेको बताउनुभएको छ।

शनिवार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै उहाँले संविधानको संरक्षण, राष्ट्रियताको संवर्द्धन र नागरिकको उन्नतिको रेखदेख गर्ने अभिभारा आफूलाई आउन लागेको बताउनु भएकाे हाे।

उहाँले आफ्नो जिम्मेवारीप्रति सचेत रहेको पनि बताउनु भयो। उहाँले सबै मिलेर राष्ट्र र संविधानको रक्षा गर्नुपर्ने र वर्तमान राजनीतिक प्रणालीको महत्त्व सबैले बुझ्नुपर्ने बताउनु भयो । वर्तमान राजनीतिक प्रणालीमाथि खेलवाड गर्ने प्रयासहरु भइरहेको भन्दै उहाँले त्यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको संविधानको भावना र मर्म अँगाल्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्दै राष्ट्रपतिको संविधानको रक्षकको हैसियतको जिम्मेवारी पूरा गर्ने प्रयासमा अहिले मैले प्रथम चरणमा एउटा प्रेरणा पाएको छु । अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली नागरिकमा जुन अभूतपूर्व अधिकार, अद्वितीय अधिकार सबै नागरिकलाई प्रदान गरेको छ । त्यसको रक्षा गर्ने चुनौती आएको छ ।'

उहाँले आफूप्रति नेपालको राजनीतिक जगतले अपार स्नेह, सहानुभूति र सद्भाव राखेको अनुभूति आफूले गरेको बताउनु भयो ।

'नेपालको संविधानको संरक्षण, नेपालको राष्ट्रियताको संवर्द्धन, नेपाली नागरिकको उन्नतिको रेखदेख गर्ने जुन अभिभारा, जिम्मेवारी मलाई आउन लागिरहेको छ । म सबै नेपाली दाजुभाइ, दिदीबहिनीलाई आग्रह गर्न चाहन्छु, हामी सबै मिलेर यो राष्ट्रको जगेर्ना गरौँ । ७० वर्षसम्म लडेर प्राप्त गरेको व्यवस्थाको टुङ्गो लगाउन सफल भएका छौँ । यसको महत्त्व ज्यादै ठूलो छ । यसमाथि खेलवाड गर्ने प्रयासहरु नितान्त स्वार्थी प्रयास हुन् । त्यसबाट सबै नेपाली सजग रहनुपर्छ’ उहाँले भन्नुभयाे। 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया