नबोलाइएका पाहुनाले राजनीतिक वातावरण खलबलाएकाे पाइयाे : परराष्ट्रमन्त्री पाैड्याल

 फागुन १५, २०७९ सोमबार १४:७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषद्को ५२ औँ सभामा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै पूर्व कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई पठाउने सरकारको निर्णयको कानुनी वैधता माथि प्रश्न गर्नुभएकाे छ । 

सोमवार राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री पौडेलले मन्त्रिपरिषद्को निर्णय अनुसार आफूले नेतृत्व गर्दै ५ सदस्य टोली हिजाे आइतवार जेनेभा जाने तय भए पनि प्रधानमन्त्रीको निर्देशन अनुसार आफू जान नपाएको बताउनु भयो ।

मन्त्रिपरिषद्ले विज्ञको रुपमा पूर्व कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई आफूसँगै टोलीमा जाने निर्णय गराए पनि अन्तिममा काेइरालालाई नै नेपालको नेतृत्व दिइएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले कार्यकारीले नेतृत्व गर्ने टोलीमा विज्ञले नेतृत्व गरेको भन्दै त्यसको कानुनी वैधतामाथि प्रश्न उठाउनु भयो । काेइरालालाई सरकारको सल्लाहकारका रुपमा नियुक्ति गरेर सल्लाहकारको हैसियतमा पठाइएको सुनेको भन्दै सल्लाहकार नियुक्तिका लागि औपचारिक निर्णय नभएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – ‘जसलाई विज्ञ भनेर हामीले टोलीमा समाहित गरेका थियौँ । उहाँले नेपालको टोलीको नेतृत्व गर्ने भन्ने खालको कुरा आएको छ । सल्लाहकारमा नियुक्त गरेर अख्तियारी दिने हो कि भन्ने कुरा पनि हामीले सुनेका छौँ । तर यसको कानुनी हैसियत के हो ? कार्यकारीले नेतृत्व गर्ने सभामा सल्लाहकारले नेतृत्व गर्न मिल्छ कि मिल्दैन ? अथवा विज्ञले नेतृत्व गर्न मिल्छ कि मिल्दैन ? यस्ता केही कानुनी कुराहरु छन् । जसलाई प्रष्ट पार्नुपर्ने जरुरी हुन्छ '

उहाँले नेपालको सङ्क्रमणकालीन न्यायको सम्बन्धमा बेलाबेलामा प्रश्न उठ्ने गरेको भन्दै त्यसलाई पीडितमैत्री बनाएर टुङ्ग्याउनुपर्ने बताउनु भयो । उहाँले मानव अधिकारको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय विश्वसनीयता गुमाउनु नहुनेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘सङ्क्रमणकालीन न्यायलाई कसरी हामीले पीडितमैत्री बनाएर टुङ्ग्याउँछौ भन्ने र अर्को हाम्रो राष्ट्रिय मानव अधिकार आयोगलाई कसरी सुदृढ बनाउँछौ ? यसलाई कसरी हामीले 'ए' क्याटेगोरीमै राखिरहन सक्छौँ ? मेरो भ्रमणमा यो दुईवटा विषयलाई हामीले प्रगति गरिराखेका छौँ भनेर प्रस्तुत गर्ने मेरो योजना थियो ।  जे भए पनि अहिलेको राजनीतिक परिस्थितिले गर्दा मैले नेतृत्व गरेर जान नसके पनि यो अन्तर्राष्ट्रिय छविले विश्वसनीयता गुमायौँ भनेदेखि नेपाललाई क्षति हुनेवाला छ । यो नहोस् भनेर प्रार्थना गरिराखेको छु ।’

मन्त्री पौडेलले आफू परराष्ट्रमन्त्री भएको ४२ दिन भएको स्मरण गराउँदै सानो काम गरेर ठूलो प्रभाव पर्ने खालको धेरै काम गरेको बताउनु भयो । उहाँले नबोलाएका विदेशी अधिकारीहरु नेपाल भ्रमणमा आउँदा देशको राजनीतिक वातावरण समेत खल्बल्लिने गरेको भन्दै उनीहरुको भेटहरुमा अनिवार्य परराष्ट्र मन्त्रालयको उपस्थिति हुनुपर्ने कुरा मन्त्रिपरिषदबाट निर्णय गराएको बताउनु भयो ।

यद्यपि राजनीतिक दलका नेताहरुले कार्यान्वयनमा इमानदारिता देखाउन नसकेका बताउनु भयो । त्यस्तै विकास आयोजनाहरुमा विदेशी राष्ट्रहरुबाट आउने सहयोगमा पनि परराष्ट्र मन्त्रालयलाई जानकारी गराउनुपर्ने विषयमा पनि निर्णय गराइएको बताउनु भयो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • बाबुराम गुरुङ

    Feb. 27, 2023, 2:58 p.m.

    ठिकछ बिदेश जानू पाइन भनेर गुनासो नगर्नुस् पछि मौका मिल्लानी।

  •  0 Reply

तपाईको प्रतिक्रिया