राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि भोलिदेखि आचारसंहिता लागू हुने

 फागुन १६, २०७९ मंगलबार १२:५६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि भोलि १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको हो ।

फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति चयनका लागि चुनाव हुँदैछ । यो आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र पालिकाका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, त्यसका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई लागू हुनेछ । 

संवैधानिक व्यवस्थामा राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि सङ्घीय संसदमा अहिले कायम रहेका ३३२ र प्रदेश सभाका ५५० गरी कुल ८८२ मतदाता रहेको निर्वाचक मण्डल रहनेछ । स्वीकृत कार्यक्रम अनुसार राष्ट्रपतिका लागि फागुन १३ गते उम्मेदवारीको मनोनयन दर्ता भइसकेको छ ।

आज दिउँसो ४ बजेसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् । आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । आयोगले निर्वाचन आचारसंहिताको पालना गर्न पनि सबै पक्षलाई आग्रह गरेको छ ।


 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया