प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्व...
मंसिर ९, २०८१ आइतबार
कास्की – पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् ।
निजी क्षेत्रको बुद्ध एअरले आउँदो मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाई कनेक्टिभिटिमार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एअर प्रतिबद्ध छ’, स्टेशन म्यानेजर गौतम बरालले भन्नुभयो । उहाँले अब केही दिनपछि पोखरा–भद्रपुर उडान सुरु हुने जानकारी पनि दिनुभयो ।
म्यानेजर बरालका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एअरका चार वटा विमान रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान चार ठाउँमा उडान भर्नेछन् । काठमाण्डौ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् भने अब पोखराबाट बिहान सवा ६ बजे विमान भद्रपुरका लागि उड्नेछ । भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ बजेर ५५ मिनेटमा उडान हुने जनाइएको छ । हवाई उडान दुरी एक घण्टा १० मिनेटको हुनेछ ।
पोखरा–भद्रपुर सिधा उडान नहुँदा यहाँ आउने यात्रुले सास्ती खेप्नु परेकाले यात्रुको सहजताका लागि सिधा उडान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । यसले पश्चिम क्षेत्रलाई पूर्वी गन्तव्यसँग जोडर आन्तरिक पर्यटनका साथै भारतीय पर्यटकलाई पोखरासम्म ल्याउन सघाउ पुग्ने म्यानेजर बरालको भनाइ थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै अन्य जिल्लासँगको कनेक्टिभिटी बढ्ने र आन्तरिक पर्यटन प्रवर्धन हुने विश्वास व्यक्त गर्नुभयो । ‘पोखरा पर्यटकीय सहर हो, पूर्वबाट पोखरा आउन चाहने पर्यटकलाई बुद्ध एअरको सिधा उडानले सहज गराउनका साथै भारतीय पर्यटकलाई पोखरा भित्र्याउन भूमिका निर्वाह गर्छ’, उहाँले भन्नुभयो ।
अध्यक्ष श्रेष्ठले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भए पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेको प्रति गुनासो गर्दै छिटोभन्दा छिटो उडानका लागि पहल गर्न सरकार र सरोकारवालासमक्ष आग्रह गर्नुभयो ।
पोखरा पर्यटन बोर्डका प्रमुख काशीराज भण्डारीले पर्यटकहरूले छिटो र आरामदायी यात्रामा रुचि राख्ने हुँदा एअर कनेक्टिभिटी पर्यटकको चहलपहल पनि बढ्दै जाने बताउनुभयो । पोखरा–भद्रपुर सिधा उडानले पर्यटन प्रवर्धन हुने उहाँको भनाइ थियो । सिधा उडानले पर्यटनसँगै यहाँको स्थानीय उत्पादन बिक्री वितरणमा पनि सहज हुने प्रमुख भण्डारीले बताउनुभयो ।
योसँगै बुद्ध एअरले मार्च ९ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान पनि सुरु गर्दैछ । पोखरा वास बस्नेगरी विभिन्न गन्तव्यबाट यात्रु पोखरासम्म आउने भएपछि पर्यटकको सङ्ख्या बढ्ने यहाँका पर्यटन व्यवसायीको अपेक्षा छ । अहिले पोखरा–भद्रपुर सडक यात्रा गर्दा झन्डै १८ घण्टा बिताउनाका साथै २४ सय–२७ सय रुपैयाँसम्म भाडा तिर्नुपर्छ तर हवाई उडानबाट भने ७० मिनेटमै यात्रा गर्न सकिने र हवाई भाडा नौ हजार छ सय ८५ रुपैयाँ पर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।