माओवादीहरू एक ठाउँमा केन्द्रित हुने समय आयाे : प्रचण्ड

 फागुन २१, २०७९ आइतबार १४:१२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ ।

आइतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशनले काठमाण्डाैमा आयोजना गरेको 'जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व' विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री प्रचण्डले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको हो । उहाँले सबै माओवादीहरू एक ठाउँमा केन्द्रित हुने समय आएको बताउनुभयो । आफूले एकताका लागि सबैसँग कुरा गरिरहेको र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भने कुरा निकै अघि बढिसकेको उहाँकाे भनाइ थियाे ।

उहाँले भन्नुभयो, ‘समय आएको छ । फेरि हामी माओवादीहरू सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ । मैले त्यो अपिल गर्दै आएको छु । माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रूपमा अगाडि आयो । शान्ति प्रक्रियापछि यो विभिन्न भँगालाेतिर विभाजित जस्तो भयो । अब समय फेरि बग्दै जाँदा ती सबै भँगाला एक ठाउँमा मिसिएर एउटा विशाल सागरतिर जाने समय आयो । हामी सबैले सबैका अनुभवलाई आत्मसात् गर्न सकेको दिन हामी यति बलियो हुन्छौँ, यति शक्तिशालि हुन्छौँ कि हामीलाई कसैले पनि कमजोर साबित गर्न सक्ने छैन ।’

प्रधानमन्त्री प्रचण्ड दाहालले आफू जनयुद्धका कमान्डरकाे हैसियतमा राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा विभिन्न दबाब र घेराबन्दीविरुद्ध लडिरहेको बताउनुभयो । उहाँले मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव र धर्मेन्द्र बास्तोलाहरू पनि विभिन्न घेराबन्दीविरुद्ध लडिरहेको आफूले देखेको भन्दै अब सबै मिलेर एक भएर लड्नुपर्ने बताउनुभयो । आफूहरू एक हुनु नै शहीद र बेपत्ता योद्धाहरूप्रति इमानदार भएको ठहरिनु हुने उहाँको भनाइ छ । 

उहाँले आफू तेस्रो पटक प्रधानमन्त्री भएसँगै जनयुद्धका शहीदहरूको नाम राजपत्रमा प्रकाशित गर्नेलगायतका निर्णयहरू गराउन सफल भएको बताउनुभयो । 

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया