पुलको नट बोल्ट भाँचिएपछि गाडी आलोपालो चलाइँदै

 फागुन २१, २०७९ आइतबार १७:५०:१५ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

भोजपुर – भोजपुर र धनकुटाको सिमाना लेगुवाघाटमा रहेको अरुण नदीको पुलमा लगाइएको नट बोल्ट भाँचिएको छ । नट बोल्ट भाँचिएपछि गाडीलाई आलोपालो प्रवेश गराउन थालिएको छ । 

पुलको नट बोल्ट भाँचिएपछि जोखिम बढेकाले गाडी आलोपालो गरी चलाइनुका साथै कम क्षमता भएका गाडीलाई मात्र प्रवेश गर्न दिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक शरत्कुमार थापा क्षेत्रीले बताउनुभयो । उहाँले पुलमा आवागमनका लागि प्रहरीले समन्वय गरिरहेको बताउनुभयो ।

पुलमा लगाइएका आठ वटा नट बोल्ट भाँचिएपछि १० टनभन्दा बढीका गाडी प्रवेशमा रोक लगाइएको छ । सडक डिभिजन कार्यालय तुम्लिङटारले एक सूचना जारी गर्दै पुलमा लगाइएका नट बोल्ट भाँचिएको पुष्टि गर्दै सबैलाई सचेत रहन आग्रह गरेको हो ।  

पुलको मध्यभागमा स्टिल ग्रिडर र भर्टिकल पोस्ट जोड्ने बेस प्लेटको नट बोल्ट भाँचिएको बताइएको छ । अहिले पुलमा सुरक्षाकर्मीको समन्वयमा एक पटकमा एउटा गाडीमात्रै प्रवेश गर्ने व्यवस्था मिलाइएको सडक डिभिजन तुम्लिङटारले जनाएको छ । १० वर्ष अगाडिबाट सञ्चालनमा आएको एक सय २० मिटर लम्बाइ र सात मिटर चौडाइको यो पुल जोखिममा परेपछि आवागमनमा समस्या भएको छ ।

दैनिक गाडी आउजाउ गर्ने पुल जोखिममा परेपछि यसतर्फ सरोकारवालाको ध्यान जानुपर्ने स्थानीयवासी शङ्कर आचार्यले बताउनुभयो । आचार्यले भन्नुभयो, ‘सडक डिभिजनले अहिले सूचना टाँस गर्ने काम मात्र गरेको छ, मर्मतका लागि तत्काल पहल थाल्नुपर्‍यो ।’ 

पुलमा देखिएको समस्या तत्काल समाधान गरेर सहज यातायातको व्यवस्था गरिनुपर्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष कर्णबहादुर मोक्तानले बताउनुभयो । ‘पुलमा देखिएको जोखिमका कारण गाडीमात्र होइन जिल्लामा नियमित प्रयोगमा आउने खाद्यन्नलगायत अत्यावश्यक सेवाको ढुवानीमा समेत समस्या हुन्छ, त्यसैले पुल मर्मत चाँडै थाल्नुपर्छ’, उहाँले भन्नुभयो । 

अहिले जोखिम सावधानका लागि पुलबाट अति आवश्यक सामग्री तथा गाडीमात्र आउजाउ भइरहेको सडक डिभिजन तुम्लिङटारले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया