सरकारले भन्याे– ‘मुस्ताङमा विश्वविद्यालय खाेल्ने निर्णय भएकाे छैन’

 फागुन २१, २०७९ आइतबार १९:५८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सरकारले मुस्ताङमा विश्वविद्यालय खोल्ने कुनै निर्णय नगरेको स्पष्टीकरण दिएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञप्ति निकालेर पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ भन्दै केही सञ्चारमाध्यममा आएको मुस्ताङमा विश्वविद्यालय खुल्ने कुरा सत्य नभएको बताउनुभएको हो । विज्ञप्तिमा विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको उल्लेख छ ।

हिजो शनिवार एमाले अध्यक्ष ओलीले चीनलाई लक्षित गरी मुस्ताङमा भारतकाे सहयाेगमा बौद्ध विश्वविद्यालय खोल्न लागिएको बताउनुभएको थियो । विज्ञप्तिमा मन्त्री शर्माले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि भारतीय दूतावासमा पत्र लेखेको जानकारी सार्वजनिक भएको र त्यसबारेमा छानबिन गरिने बताउनुभएको छ ।

विज्ञप्तीमा परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने गरी अभिव्यक्ति आएको भन्दै सरकारले दुःख व्यक्त गरेको छ । विज्ञप्तिमा सरकार देशको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय हित एवम् स्वतन्त्र र सन्तुलित कुटनीतिका पक्षमा दृढतापूर्वक उभिएको एवम् असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहेको उल्लेख छ । 

अन्तिम अपडेट: भदौ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया