भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - केही वर्षअघिसम्म फागुपूर्णिमा (होली) पर्वको एक हप्ताअघिदेखि नै काठमाण्डाैमा लाेला हान्ने गरिन्थ्याे । काम विशेषले निस्कनै पर्नेहरु घर फर्कँदा निथ्रुक्क हुनुपर्थ्याे । फागुन शुक्ल अष्टमीको बिहान हनुमानढोका दरबार क्षेत्रमा चीर गाडेपछि युवतीलाई पानी भरेको लोलाले हिर्काउने परम्परा नै बनेको थियो । यो विकृति क्रमशः अन्त्य हुँदै गएकाे छ । केही वर्षअघिसम्म फागुपूर्णिमाका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । अबिरलगायत रङ दलिन्थ्यो ।
खानेपानीकै अभाव रहेको काठमाण्डाैमा फोहर पानीले बटुवालाई हान्ने विकृति बढ्दै गएको थियो । विसं २०७६ सालमा कोरोना महामारी बढेपछिदेखि नै विकृति अन्त्य हुन थालेको हो । कोरोनाअघि पनि यो विकृतिमा केही कमी भने आइसकेको थियो । अपवादका रुपमा भने अझै पनि केही मानिस उच्छृङ्खल गतिविधिमा संलग्न भएको देखिन्छ । त्यस्तालाई कानुनी कारबाहीको दायरामा ल्याइने नेपाल प्रहरीले जनाएको छ ।
यसपटक भने कसैले पनि अरुको इच्छाविपरीत फागुपूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन । मानिस आफू आफूमै रमाइरहेका छन् । घरपरिवार एवं छरछिमकीसँग फागु खेले । टीका लगाइदिए । खुसी साटासाट गरे । आपसी सौहार्दता बढाए । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा (होली) पर्व काठमाण्डाैलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्तरुपमा मनाइरहेको देखिन्छ ।
केही वर्षअघिसम्म फागुपूर्णिमा (होली) मा मानिसको इच्छाविपरीत रङ दल्ने पानीका लोला हान्ने गरिन्थ्यो । केही वर्षअघिदेखि त्यस्तो काम रोकिएको छ । यस वर्ष भने सडकमा फागु खेल्ने प्रायः बालबालिका देखिन्छन् । बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन् । गाडी रिजर्भ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगन्य छ । पुतलीसडक चोकमा फागु पर्व मनाइरहेका युवा रामचन्द्र श्रेष्ठ चिनजानका साथीभाइबीच मात्र पर्व मनाउने सडकमा गाडी र पैदल यात्रा गर्नेलाई केही नगर्ने बताउनुहुन्छ ।
विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिकरुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वकै दिन पनि सहजरुपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताए । कतै अपवादका रुपमा जबरजस्ती रङ लगाए पनि फोहर पानीले दुर्व्यवहार गरेको देखिएन ।
बिहानैदेखि वसन्तपुरमा विशेष चहलपहल
यस पर्वका अवसरमा आज काठमाण्डौको वसन्तपुरमा उपस्थित मानिसले विशेषरुपमा होली अर्थात् फागुपूर्णिमा पर्व मनाइरहेका छन् । वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई बेलुकी विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा रहेकाे गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु भएको थियो । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाइ ल्याइएको १० पाथी चामलको भात र एउटा राँगाको मासु खुवाइ सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भइ मारिइन् । निजलाई ब्रजवासीले जलाएर फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।
राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्त्व पनि छ ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सी, लागु पदार्थ खाएर गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा गाडीमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएको छ । प्रत्येक वर्ष पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमा र तराईका जिल्लामा फागुन कृष्ण प्रतिपदाका दिन फागु पर्व मनाउने गरिन्छ ।
२७ हजार सुरक्षाकर्मी परिचालन
फागुपूर्णिमाका अवसरमा देशभर सामान्य सुरक्षाका लागि बाहेक २७ हजार सुरक्षाकर्मी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।
होलीका अवसरमा अहिलेसम्म देशभर कुनै अप्रिय घटना भएको छैन । काठमाण्डाैलगायत मुख्य सहरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाण्डाैमा नियमित बाहेक पनि ६६ भन्दाबढी ठाउँमा जाँच गरिरहेको प्रहरीले जनाएको छ ।
यस वर्ष विगतमाभन्दा फागु पर्व सभ्य देखिएको प्रहरी प्रवक्ता पोखरेलले बताउनुभयो । अहिलेसम्म उच्छृङ्खल गतिविधि गर्ने कसैलाई पनि प्रहरीले यिनन्त्रणमा लिएको छैन । सहरका भित्री भागमा फागुपूर्णिमाका अवसरमा धेरै चहलपहल छैन । होलीको चहलपहलमा उत्रनेले पनि फागुपूर्णिमाका अवसरमा अरुलाई आक्रमण गरेका छैनन् । समग्रमा फागु पूर्णिमाका अवसरमा मानिस सभ्य बन्दै गएको देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।