निगमकाे दुबई–काठमाण्डौ उडानको चालक दलका सबै सदस्य महिला

 फागुन २४, २०७९ बुधबार १३:११:३५ | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाल वायु सेवा निगमकाे एउटा उडानमा इतिहासमै पहिलो पटक जहाजका चालक दलका सबै सदस्य महिला रहेका छन् । महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेको दुबई–काठमाण्डौ उडानको 'ए' ३२० जहाजका चालक दलका सबै सदस्य महिला रहेकाा निगमले जनाएकाे हाे । 

यसैबीच सरकारले अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमान चालककाे स्वागत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आज बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गर्नुभएको हाे । 

काठमाण्डौ–दुबई–काठमाण्डौ उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटन मन्त्री विमानस्थल पुगेर स्वागत गर्नुभएको हो । महिला विमान चालकलाई विमानस्थलमा स्वागतपछि पर्यटन मन्त्री किरातीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेको बताउनुभयो । 

महिलाहरूको अन्तर्राष्ट्रिय उडानले पर्यटनमात्र नभएर देशको समग्र क्षेत्रमा सकारात्मक सन्देश दिएको उहाँले उल्लेख गर्नुभयो । ‘पर्यटनमा मात्रै होइन, यो उडानले नेपालकै उड्डयनको इतिहासमा पहिलो चोटि महिलाहरूले उडाएको जहाज ऐतिहासिक छ र आज ११३ औँ विश्व महिला दिवस भएकाले मैले उहाँहरू (महिला विमान चालक दल) लाई स्वागत तथा बधाई दिएको र उहाँहरूको मनोबल उच्च बनाउन विमानस्थल गएको हुँ’, पर्यटन मन्त्री किरातीले भन्नुभयो ।

यो उडानमार्फत पनि महिलाहरूले देश, समाजका लागि केही गर्न सक्छन् भन्ने प्रमाणित भएको मन्त्री किरातीले बताउनुभयाे । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाण्डौदेखि दुबई भएर पुनः काठमाण्डौ) भरेका हुन् । पाइलटद्वय भावना पन्त र को–पाइलट सृजना राउतको टोलीले काठमाण्डाै–दुबई–काठमाण्डौ उडान भरेको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिनुभयो । 

उहाँका अनुसार महिला चालक दलले आज निगमको एअरबस 'ए' ३२० जहाज दुबईदेखि काठमाण्डौ उडान भरेका हुन् । दुई महिला पाइलटले निगमको एअरबस 'ए' ३२० जहाज गएकाे फागुन २० गते राति ११ बजे काठमाण्डौदेखि दुबईका लागि उडान भरेका थिए ।

आज अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा निगमले यो संयोग जुराएको हो । निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा गरी छ जना महिला पाइलट छन् ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया