प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश

 फागुन २६, २०७९ शुक्रबार १७:२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ ।

आज शुक्रवार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले रिट निवेदनलाई अग्राधिकार साथ अगाडि बढाउने निर्णय गर्दै कारण देखाऊ आदेश दिएको हो । आदेशमा रिटलाई अग्राधिकार दिँदै माओवादी अध्यक्ष प्रचण्डलाई १५ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको दिइएको छ । रिटमा निवेदकहरूले आफ्ना परिवारका सदस्य मारेको भन्ने अभिव्यक्ति दिएका माओवादी अध्यक्ष प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउन आदेश माग गरेका थिए ।

माओवादी अध्यक्ष प्रचण्डले २०७६ माघ १ गते काठमाण्डाैमा आयोजित एक कार्यक्रममा सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजारको मात्रै जिम्मेवारी आफूले लिने बताउनुभएको थियो । अध्यक्ष प्रचण्डको त्यस अभिव्यक्तिलाई लिएर गएको कात्तिक महिनामा अधिवक्ता ज्ञानेन्द्रराज आरण र रामेछापका कल्याण बुढाथोकीले रिट निवेदन दिनुभएको थियो । त्यस बेला दरपिठ गरिएका निवेदनहरूको दरपिठ बदर गर्न सर्वोच्च अदालतले फागुन १९ गते आदेश दिएपछि मङ्गलवार त्याे रिट निवेदन सर्वोच्च अदालतमा दर्ता गरिएको हो ।

माओवादी केन्द्रले यसअघि नै विज्ञप्ति निकालेर मुद्दा दर्ता गर्ने सर्वोच्चको आदेशलाई नेपालको संविधान र अग्रगामी उपलब्धिहरूविरुद्धको गतिविधि भन्दै आफ्नो असहमति सार्वजनिक गरेको छ । आज बिहानसमेत प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्र र माओवादी पृष्ठभूमिका दलका नेताहरूले बैठक बसेर शान्ति प्रक्रियाविरुद्धका मुद्दामा एक भएर प्रतिरोध गर्ने निर्णय गरेका छन् ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया