पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै पर्यटन व्यवसायी उत्साहित

 फागुन २९, २०७९ सोमबार १७:४०:२५ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई 'हब' बनाएर बुद्ध एअरले चार वटा आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु गरेपछि पोखराका पर्यटन व्यवसायीमा खुसी छाएको हो ।

बुद्ध एअरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २५ गते रातिदेखि काठमाण्डाै, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट रात्रिकालीन उडान सुरु गरेको छ । यी चारै गन्तव्यका जहाजको रात्रि विश्राम पोखरामा भएको छ । यी जहाज बिहानै काठमाण्डौ, भद्रपुर, भैरहवा र नेपालगञ्जका लागि उड्ने गरेका छन् ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै अन्य जिल्लासँगको सम्पर्क बढ्ने र आन्तरिक पर्यटन प्रवर्धन हुने नेपाल टुर एन्ड ट्राभल्स एजेन्ट नेपाल (नाट्टा) पोखराका अध्यक्ष हरिराम अधिकारीले बताउनुभयो । अब पर्यटकहरूले छिटो र आरामदायी यात्राका कारण हवाई यात्रालाई रोज्ने ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) पोखराका अध्यक्ष धर्मराज पन्थीले बताउनुभयो । पर्यटनसँगै हवाई यातायातले जोडेका दुई सहरका स्थानीय उत्पादन प्रवर्धन गर्न टेवा पुग्ने उहाँकाे भनाइ छ ।

पोखराबाट भद्रपुर सिधा उडान बुद्ध एअरले अहिले थप गरेको हो भने अन्य क्षेत्रमा दिउँसाेमा हुँदै आएका उडानलाई रात्रिकालीन उडान गरेको हो । 

पोखरा बास बस्ने गरी विभिन्न गन्तव्यबाट यात्रुहरू पोखरासम्म आउने भएपछि पर्यटकको सङ्ख्या बढ्ने पर्यटन व्यवसायीको अपेक्षा छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान भएको झन्डै दुई महिनापछि रात्रिकालीन हवाई उडाए भएको हो । बुद्ध एअरले बेलुकाकाे समयमा पोखरा आई केही दिनको बसाइ तथा घुमफिरबाट एकाबिहानै गन्तव्यमा फर्कन सहज हुने बताएको छ ।

आईएफआर उडान नहुँदा पोखराको उडान दिउँसो ४ बजेसम्म मात्र सीमित भएको थियो । अहिले काठमाण्डाैबाट दिउँसाे ४ बजेपछि तीन वटा उडान राखिएको छ । यसैगरी पोखराबाट काठमाण्डाैकाे उडान बेलुकीसम्म राखिएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसहित पर्यटन व्यवसायीहरू भद्रपुर पुगेर आसपासको क्षेत्रमा प्रचारप्रसार समेत गरेका छन् । पोखराबाट छिटै अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न व्यवसायीको माग छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया