तिलाेत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

 चैत १, २०७९ बुधबार १९:५०:३ | रासस
unn.prixa.net

रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले समुदायमा आधारित हरियाली प्रवर्धन एवम् नियमित सरसफाइ अभियान १०० औँ शृङ्खलामा पुगेको अवसरमा वातावरणसँग सम्बन्धित पाँच वटा कार्यक्रम घोषणा गरेको छ । सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगरपालिकाका मेयर रामकृष्ण खाणले वातावरणसँग सम्बन्धित ती कार्यक्रम घोषणा गर्नुभएको हो ।

मेयर खाणले वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान, नगरमा हर्न निषेध, पशु दर्ता प्रणाली सञ्चालन, फोहरमैलाको वर्गीकरण र गुटखाजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो । घोषणालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्दै जाँदा वातावरणमैत्री नगरपालिका निर्माणमा थप टेवा पुग्ने उहाँको विश्वास छ । 

कार्यक्रममा पूर्व उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सरसफाइ अभियानमा आसपासका अन्य पालिकालाई समेत जोड्न तिलोत्तमालाई आग्रह गर्नुभयो । सरसफाइ, विकास निर्माण र अन्य सामाजिक विषयमा तिलोत्तमाले आफ्नो विशिष्ट पहिचान बनाएको बताउँदै नेता पौडेलले विकासको पक्षमा सबै जनप्रतिनिधि एकै ठाउँमा रहेको स्पष्ट पार्नुभयो । 

प्रतिनिधि सभा सदस्य एवम् तिलोत्तमा नगरपालिकाका प्रथम मेयर वासुदेव घिमिरेले नेपालले दिगो विकास लक्ष्यका लागि जनाएको प्रतिबद्धता पूरा गराउन पनि सरसफाइ अभियान हरेक पालिकाले चलाउनुपर्नेमा जोड दिनुभयो । आफ्नो कार्यकालमा सुरु भएको सरसफाइ अभियानलाई निरन्तरता दिएकोमा नगरपालिकाको नेतृत्वप्रति आभार व्यक्त गर्दै उहाँले तिलोत्तमालाई अब तरकारीमा आत्मनिर्भर बनाउँदै प्राङ्गारिक खेतीमा जोड दिन सुझाव दिनुभयो । 

बाग्मती सरसफाइ महाभियानका संयोजक एवम् पूर्व मुख्यसचिव लीलामणि पौडेलले फोहरमैला व्यवस्थापनमा कोही पनि बाधक बन्न नहुने बताउँदै संस्कार बदल्न सकेमात्र फोहरमैलाको दिगो व्यवस्थापन हुने बताउनुभयो । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईँ, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयलगायतले साझा समस्या समाधानका लागि अन्तरपालिका समन्वय हुनुपर्ने बताउनुभयो । 

मूल समारोहमा जनप्रतिनिधि, राजनीतिक दल, टोल विकास संस्था, शिक्षक, कर्मचारी, खानेपानी संस्था, सिँचाइ प्रणाली, वन, टोल विकास संस्था, व्यावसायिक सङ्घ संस्थाका प्रतिनिधिलगायतका नगरवासीको सहभागिता रहेको थियो । त्यस अवसरमा हरियाली प्रवर्धन तथा नगर सरसफाइ अभियान प्रारम्भ गरी संस्थागत गराउन महत्त्वपूर्ण काम गरेकोमा नगरपालिकाका पूर्वमेयर वासुदेव घिमिरे र विभिन्न सङ्घ संस्थालाई सम्मान गरिएको थियो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया