डोटी जिल्ला प्रशासनले नागरिकताका लागि अतिरिक्त कागजात माग्दा सेवाग्राहीलाई सास्ती

 चैत ७, २०७९ मंगलबार १३:४८:१८ | विमल बिष्ट
unn.prixa.net

डाेटी - डोटीको बोगटान फुड्सिल गाउँपालिका–६ गगुडा कटैगाउँका भीमबहादुर भुल १० वर्षको हुँदा कामको खोजीमा भारत जानुभयो । करिब ११ वर्ष पहिले भारतमै हिन्दु परम्परा अनुसार उहाँले विवाह समेत गर्नुभयो ।

विभिन्न समयमा घर आउने जाने गरेको भए पनि भीमबहादुरलाई नागरिकताको खासै आवश्यकता परेन र बनाउनु पनि भएन । ३९ वर्षीय भीमबहादुरलाई अहिले नागरिकता आवश्यक परेपछि वंशजका आधारमा नागरिकताका लागि सम्पूर्ण कागजातसहित जिल्ला प्रशासन कार्यालय डोटी पुग्नुभयो तर उहाँले नागरिकता पाउन सक्नु भएन । 

प्रशासनले उहाँलाई सरजमिन मुचुल्का प्रहरीमार्फत् बुझेर मात्रै दिन सकिने भनेपछि उहाँ गाउँ फर्किनु भयो । चार जना छिमेकी दाजुभाइ लिएर सरजमिन मुचुल्का बनाएर चबराचौतारा प्रहरी चौकीमा पुग्नुभयो । जिल्ला प्रशासनबाट यसरी फर्किने भीमबहादुर एक्ला भने होइनन् । रितपूर्वक कागजात पुर्‍याइ प्रशासनमा पुग्नु भएकी डोटीकै पूर्वीचौकी गाउँपालिका–४ सानागाउँकी धना जोशीलाई पनि उसैगरी फर्काइयो । जिल्ला प्रशासनबाट दैनिक रुपमा यसरी सेवाग्राही फर्किरहन्छन् ।

जिल्ला प्रशासन कार्यालय डोटीले २०४८ सालभन्दा पहिलाको जन्ममिति भएका हरेक व्यक्तिलाई प्रहरी सरजमिन मुचुल्का अनिवार्य गरेपछि अहिले जिल्लामा सेवा ग्राहीलाई निकै समस्या भएको छ । नागरिकता ऐनमा उल्लेख भएको मापदण्ड पूरा हुँदा पनि अतिरिक्त कागजात खोजेर सेवाग्राहीलाई सास्ती दिने गरेको दलित गैर सरकारी संस्था महासङ्घका केन्द्रीय सचिव कृष्ण विकले आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘वडा अध्यक्ष वा जनप्रतिनिधिले नागरिकता दिन अनुसूचि फराम भरी प्रमाणित गरिसकेपछि फेरि प्रहरीमार्फत् बुझ्न लगाउने कार्य कानुनी र व्यावहारिक दुवै हिसाबले त्रुटिपुर्ण छ, यो सच्याउनु पर्छ।’ 

यसैगरी प्रक्रिया पुगेर पनि जिल्ला प्रशासनले सरजमिन मुचुल्का चाहिने भनेपछि घर फर्किँदै गरेका बमबहादुर भुलले भन्नुभयो, ‘सरकारले रोजगारी दिँदैन, गर्जो टार्न भारत गएँ यत्ति वर्षपछि स्वदेशको नागरिकता लिन आएँ नागरिकता दिन पनि कञ्जुस्याइँ गरेजस्तो लाग्यो ।’

जनप्रतिनिधिको सिफारिस र आवश्यक पर्ने सम्पूर्ण कागजात पुगे पनि जिल्ला प्रशासन कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालयलाई निवेदकले नेपाली नागरिकता लिएको छ/छैन, नेपाली नागरिकता नलिएको भए अहिलेसम्म नलिनुको कारण के हो ? सरजमिन मुचुल्का गरी पठाइदिनु भनेर पत्राचार गर्ने गरेको छ ।

प्रहरी कार्यालयले सरजमिनका लागि नजिकमा हरेको प्रहरी कार्यालयमार्फत् सरजमिन गर्ने गरेको छ । उता डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले दोहाेरो नागरिकता लिएको हुन सक्ने भएका कारण प्रहरी मुचुल्का अनिवार्य गरिको बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही व्यक्तिले दोहाेरो नागरिकता लिएको देखियो त्यसैले सरजमिन मुचुल्का बाध्यकारी हो, हाम्रो दुःख दिने मनसाय होइन ।’ 

जिल्ला प्रशासनले नागरिकता लिने प्रक्रिया झनझटिलो बनाउँदा डोटी जिल्लाको ग्रामीण क्षेत्रका व्यक्तिले २५ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने बाध्यता आएको छ ।

बोगटान फुड्सिल गाउँपालिका–३ कानाचौरका नैनसिह बोहराले भन्नुभयो, ‘मेरो गाउँबाट सदरमुकाम पुग्न प्रतिव्यक्ति दुई हजार रुपैयाँ भाडा छ, साक्षी र आफू चार पटक ओहाेरदोहाेर गर्दा १६ हजार रुपैयाँ गाडीभाडामा जान्छ खाना बस्न नौँ हजार मात्रै राख्ने हो भने पनि कम्तीमा २५ हजार रुपैयाँ चाहिन्छ, एक साधारण व्यक्तिले नागरिकता लिन सक्ने अवस्था रहेन।’ 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया