सीमा प्रशासन कार्यालय कागजमा छ, सञ्चालनमा छैन

 जेठ २५, २०७५ शुक्रबार ८:१८:१२ | शंकर धामी
unn.prixa.net

दार्चुला – त्रिदेशीय सीमाक्षेत्र रहेको दार्चुला जिल्लाको व्यासमा ४० वर्षअघि सीमा प्रशासन शाखा स्थापना गरिएको थियो ।

सीमा क्षेत्रमा राज्यको उपस्थित र क्रियाशीलता बढाउन जिल्ला प्रशासन कार्यालय मातहत छुट्टै शाखा राखिएको थियो । पञ्चायतकालमा स्थापना गरिएको शाखाको नाम पछिल्लो समय सीमा प्रशासन कार्यालय राखियो । तर यो कार्यालय कुन ठाउँ र भवनमा सञ्चालन भइरहेको छ भनेर खोज्दा कतै भेटिँदैन । 

शाखा अधिकृतसहित ५ जना कर्मचारीको दरबन्दी छ, सीमा प्रशासन कार्यालयको नाममा । गृह मन्त्रालयले छुट्टै वार्षिक बजेट पनि उपलब्ध गराउँदै आएको छ । तर कागजमा देखिने सीमा प्रशासन कार्यालयको अस्तित्व सदरमुकाम खलंगा र व्यास दुवै ठाउँमा भेटिँदैन ।

खलंगामा चार कोठे भवन घरभाडा लिइएको छ, सीमा प्रशासन कार्यालयको नाममा । त्यसैगरी व्यासको छाङरुमा मासिक २ हजार ५० रुपैयाँ भाडा तिर्नेगरी घरभाडामा लिइएको छ । तर यी दुवै ठाउँमा न कार्यालय सञ्चालन भइरहेको छ, न त कार्यालयको साइनबोर्ड नै छ । 

पछिल्ला केही वर्षदेखि सीमा प्रशासन कार्यालयको अस्तित्व नै नरहेको कर्मचारी बताउँछन् । सीमा प्रशासन कार्यालयमा एक वर्षदेखि शाखा अधिकृतको दरबन्दी रिक्त छ । एक जना नायव सुब्बा, एक जना सह–लेखापाल र दुईजना कार्यालय सहयोगी भने कार्यरत रहेको नायब सुब्बा सतिष साहले बताउनुभयो । 

सीमा प्रशासनका कर्मचारीहरुले गएको चार वर्षदेखि जिल्ला प्रशासन कार्यालयमा हाजिर लगाउने र त्यहीँ काम गर्ने गरेका छन् । नायव सुब्बा सतिष साह आफू दार्चुला आएदेखि जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटमा काम गरिरहेको बताउनुहुन्छ । सह–लेखापाल प्रेमबहादुर खड्काले प्रशासनका साथै मालपोत कार्यालयमा समेत लेखाको जिम्मेवारी सम्हालिरहनुभएको छ । दुईजना करार सेवाका कार्यालय सहयोगीले दैनिक रुपमा जिल्ला प्रशासन कार्यालयको कामकाज गरिरहेका छन् । 

सीमा प्रशासन कार्यालय भने सञ्चालनमा छैन । आफूहरु आउनु अघिदेखि यस्तै अवस्था रहेको अहिलेका कर्मचारी बताउँछन् । २०७२ देखि व्यासको छाङरुमा रहेको कार्यालयमा कुनै पनि कर्मचारी पुग्न सकेका छैनन् । ‘भएका कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालयमै काम गरिरहेका छन्’ नायव सुब्बा सतिष साहले भन्नुभयो । 

सीमा प्रशासन कार्यालयको रेखदेख, समन्वय र परिचालनको महत्वपूर्ण जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको हुने सेवानिवृत्त शाखा अधिकृत फकिरसिंह धामीले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीले सीमा क्षेत्रको अवस्थाबारे मासिक रिपोर्टिङ पनि लिने व्यवस्था रहेको उहाँले बताउनुभयो । तर संवेदनशील र महत्वपूर्ण सीमा प्रशासन कार्यालयको अस्तित्व नै मेटाइएको छ । भएका कर्मचारी अन्तै काममा खटाइएका छन् र नियमित रुपमा सीमा प्रशासन कार्यालयको नाममा आइरहेको बजेट खर्च भइरहेको छ ।

२०७२ सालसम्म एकजना कार्यालय सहयोगी पुगेर व्यासको छाङरुमा चतत्रदेखि असोज महिनासम्म कार्यालय खोल्ने गर्दथे । छाङरुको कार्यालयबाट कुनै प्रकारको दैनिक सेवा प्रवाह नभए पनि राज्यको उपस्थिति भने भइरहेको थियो । २०७२ सम्म आफूले छाङरुको कार्यालय सञ्चालन गरेको र त्यसपछि कार्यालय सञ्चालन हुन नसकेको सीमाका तत्कालीन कार्यालय सहयोगी जयानन्द भट्टले बताउनुभयो । भट्टको पछिल्लो समय सीमाबाट सरुवा भइसकेको छ । 

खलंगा र छाङरु दुई ठाउँमा सीमा प्रशासन कार्यालय सञ्चालन हुने गरेकोमा अधिकांश कर्मचारीको उपस्थिति खलंगामा हुने गर्दथ्यो । आवश्यकता अनुसार विगतमा शाखा अधिकृत, नायव सुब्बास्तरका कर्मचारीले व्यास क्षेत्रको भ्रमण गर्ने गरेको कार्यालय सहयोगी जयानन्द भट्ट बताउनुहुन्छ । तर पछिल्ला ७ वर्षदेखि अधिकृत वा सुब्बास्तरका कुनै पनि कर्मचारी व्यासक्षेत्र पुगेका छैनन् । 

सीमा प्रशासन कार्यालयको प्रमुखको जिम्मेवारीमा २०७४ पुक्ष्सदेखि नासु सतिष साह हुनुहुन्छ । यद्यपि उहाँ १८ महिनादेखि सीमा कार्यालयमै कार्यरत रहनुभएको छ । २०७४ पुषअघि तत्कालीन प्रमुख जिल्ला अधिकारीहरु वासुप्रसाद कोइराला र जनार्दन गौतम आफैले सीमा प्रशासन कार्यालय प्रमुखको भूमिका निर्वाह गरेको अभिलेख छ । 

कोइराला र गौतमको सरुवा भएपछि भने सीमा प्रशासन कार्यालयकै नासु साहलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ । कर्मचारीहरुको खटनपटन र परिचालनको जिम्मेवारी सीडीओको हुने गर्दछ । अहिले कार्यालय प्रमुखमा साहलाई जिम्मेवारी दिइए पनि सीमा प्रशासन कार्यालय सञ्चालनमा छैन । साहले जिल्ला प्रशासन कार्यालयअन्तर्गतको नागरिकता फाँटको जिम्मेवारी सम्हालिरहनुभएको छ ।

झण्डै एक महिनाअघि मात्रै दार्चुलाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी आएका खुमकान्त आचार्य यसबारे आफूले अध्ययन गरिरहेको बताउनुहुन्छ । आवश्यकता अनुसार कर्मचारी व्यवस्थापन गर्ने उहाँले बताउनुभयो । सीमा प्रशासन कार्यालय सञ्चालन कहिलेसम्म हुन्छ भन्ने विषयमा भने उहाँले समयसीमा दिन सक्नुभएन । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

शंकर धामी

दार्चुलाका पत्रकार शंकर धामी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया