नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि

 चैत २१, २०७९ मंगलबार ७:१८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले जानकारी दिनुभयो ।

चैत महिनामा कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा १० जनामा नयाँ भेरियन्ट पुष्टि भएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवांसिक परिवर्तनको पहिचान गर्ने उद्देश्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा देशभरबाट रेन्डम स्याम्पलिङ विधिबाट चैत महिनामा संकलित २४ वटा  पीसीआर र एन्टीजेन पोजेटिभकाे नमूनामा  परीक्षण गरिएकाे थियाे । त्यस क्रममा ओमिक्रोनको बिए १.१ दुई जनामा, बिए.२ दुई जनामा, बिए २.७६ एक जनामा, बिए.५ दुई जनामा, बिए ५.२ दुई जनामा, एक्बीबी १.१६ १० जनामा, एक्बीबी १.५ तीन जनामा, एक्बीबी २.६ एकजनामा र एक्बीएफ एक जनामा पुष्टि भएको छ ।

मन्त्रालयले विज्ञप्ति निकालेर भारतमा पनि नयाँ भेरियन्ट फैलिरहेको हुँदा सीमा क्षेत्रमा कोरोना परीक्षण, मास्क अनिवार्य जस्ता व्यवस्था गरेको बताएको छ । साथै मन्त्रालयले नेपालमा मौसमी रुघाखोकीका साथै कोभिड–१९ को संक्रमण पनि बढ्दै गएकोले रोकथाम एवं नियन्त्रणका लागि सबै तहबाट प्रभावकारी भूमिका बढाउन संवेदनशील हुन आग्रह गरेको छ ।

साथै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पालना गर्न गराउन र सम्भावित जोखिमबाट बच्न बचाउन अनुरोध पनि गरेको छ । नेपालमा अहिले कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई सय २७ पुगेको छ ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया