वैशाख महिनामा ८ सङ्घीय अस्पतालमा १५ सेवा थप तथा विस्तार गर्ने...
बैशाख ८, २०८२ सोमबार
काठमाण्डाै – काठमाण्डाैकाे त्रिपुरेश्वरमा रहेकाे नेपाल आँखा अस्पालले आफ्नो सेवालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने योजना बनाएको छ । अस्पतालले प्रविधिमैत्री भौतिक संरचनाका साथै दक्ष जनशक्तिको थप व्यवस्थापन गरी सेवालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने योजना बनाइएको हो ।
सेवा विस्तार गर्दै आर्थिक अवस्था कमजोर भएका नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा स्थानीयस्तरमै पुर्याउने योजनका साथ आवश्यक कार्ययोजना बनाइएको अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
नेपाल आँखा अस्पताल स्थापनाको स्वर्णमहोत्सवका अवसरमा आज यहाँ आयोजित ‘नेपाल आँखा अस्पताल हिजो, आज र भोलि’ विषयक अन्तरक्रियामा उहाँले अस्पतालको सेवा दुर्गम जिल्लासम्म पुर्याउन जरुरी रहेको बताउँदै सबै जिल्लामा कम्तीमा पनि मोतिबिन्दुको शल्यक्रिया गर्ने वातावरण बनाइनुपर्नेमा जोड दिनुभयो ।
“स्तरीय ल्याबसहित आँखा उपचारमा विशिष्टिकृत सेवा दिइरहेको हाम्रो सेवालाई देशैभरी पुर्याउन नसके पनि जनघनत्व बढी भएका जिल्लामा सेवा विस्तार गर्न अनिवार्य भइसकेको छ”, डा पोखरेलले भन्नुभयो, “सेवालाई ग्रामीण भेगसम्म विस्तार गरेर बालबालिकामा हुने आँखासम्बन्धी जन्मजात रोगको समयमा नै पहिचान गरेर निदान गर्नसके भावि सन्ततिलाई लाभ पुग्छ ।”
देशमा आँखाको उपचार सेवा व्यापक गर्न, दुर्गम र सुविधाविहीन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालनका लागि स्थानीय तहसँग सहकार्य गरी काम गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा अस्पतालका मेडिकल अधिकृत डा कमलबहादुर खड्काले अस्पताले पूर्वाधार, उपकरणयुक्त सेवा स्तरीकरणमा ध्यान दिएको बताउँदै व्यवस्थापकीय पक्षमा सुधार गरी सेवालाई छिटो र छरितो बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।
अस्पतालका रिफ्याक्टिभ सर्जरी डा किशोर प्रधानले गुणस्तरीय दृष्टि आमनागरिकको अधिकार भएकाले हरेक छ महिनामा दृष्टि परीक्षण गरी आँखाको हेरचाहमा ध्यान दिन सबैलाई अनुरोध गर्नुभयो । उहाँले रिफ्याक्टिभ सेवाबारे नागरिकलाई सचेत बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा व्यवस्थापन दमनबहादुर घलेले सानो संस्थादेखि उच्च सरकारी निकायमा व्यवस्थापकीय पक्ष महत्वपूर्ण रहेकाले व्यवस्थापकीय नेतृत्व व्यावसायिक भएमा मात्रै संस्थागत सुधार गरी प्रगति हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
अस्पताल सञ्चालक समितिका सचिव मेघराज गजुरेलले अस्पतालले भौतिक संरचनाका साथै दक्ष चिकित्सक र अत्यावश्यक उपकरणयुक्त सेवा दिइरहेको उल्लेख गर्नुभयो ।
विसं २०३० चैत २६ मा स्थापना भएको नेपाल आँखा अस्पतालले आइतबार स्थापनाको स्वर्णमहोत्सव मनाउँदैछ । अस्पतालले हालसम्म ३१ लाख ८२ हजार पाँच सय ७९ जनालाई सेवा उपलब्ध गराएको छ भने एक लाख २५ हजार तीन सय ७९ जनाको आँखाको शल्यक्रिया गरेको छ ।
हाल १४ नेत्र विशेषज्ञ रहेको अस्पतालमा कर्निया, मोतिबिन्दु, जलबिन्दु, रेटिना, अकुलोप्लाष्टी एवं बाल आँखा उपचारलगायत सेवा उपलब्ध छन् । हाल अस्पतालबाट दैनिक सात सय बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् । अस्पतालले विभिन्न समयमा विद्यार्थीका लागि निःशुल्क आँखा परीक्षणका साथै चस्मा वितरण गर्दै आएको जनाएको छ ।
अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत एमडी, अप्टोमेट्री र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत नेत्र सहायक तालिम दिँदै आएको सचिव गजुरेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।