नेपालमा सबैलाई स्वागत छ भन्ने सन्देश गएकाे छ : कीर्तिमानी आराेही बुढामगर

 जेठ १०, २०८० बुधबार १९:३९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – घुँडासम्म दुवै खुट्टा गुमाउनुभएका कीर्तिमानी आराेही हरि बुढामगरले हिमाल चढ्न सुरुमा अनुमति लिन जाँदा नदिएको सरकारले आज सम्मान गरिरहँदा धेरै खुसी लागेको बताउनुभएकाे छ ।

बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आफूसहितको आरोही टाेलीलाई सम्मान गर्न आयोजित कार्यक्रममा आराेही बुढामगरले आफ्नो आरोहणसँगै विश्वमा नै नेपालमा शारीरिक अशक्त भएकाहरूलाई पनि हिमाल आरोहणका लागि स्वागत छ भन्ने सन्देश गएको बताउनुभयो । शारीरिक अशक्त भएकाहरूलाई केही नयाँ गर्न आँट र इच्छाशक्ति चाहिन्छ भन्ने सन्देश गएको उहाँकाे भनाइ थियाे ।

उहाँले भन्नुभयो, ‘पहिला म यही अफिसमा हिमाल चढ्न अनुमतिका लागि आएको थिएँ, त्यतिखेर मलाई रिजेक्ट गरेको अफिसले अहिले बोलाएर सम्मान गर्दा खुसी लागेको छ । यो मेरोमात्र नभई अपाङ्गता भएका व्यक्तिहरूको सम्मान हो । नेपालमा सबैलाई स्वागत छ भन्ने कुरा यहाँबाट सन्देश गएको छ ।’

कार्यक्रममा संस्कृति राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले आरोही बुढामगरले अपाङ्गता शब्द मानिसको सोचमा मात्रै हुने प्रमाणित गर्नुभएको बताउनुभयाे । उहाँले सबै सबल भएको व्यक्तिले समेत जीवनमा असफल भइने हो कि भन्ने सोच्ने गरेको उल्लेख गर्दै आरोही बुढामगरले आँट गरे असम्भव केही नहुने प्रमाणित गरेकाे बताउनुभयाे ।

भूतपूर्व गोर्खा सैनिकसमेत रहेका मगरले यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको थियो । योसँगै उहाँ घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोहीसमेत बन्नुभएको छ । उहाँले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आरोहण गर्नुभएको हो ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया